काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
डोटी – कानुनी ज्ञानको अभाव र प्रक्रिया नबुझदा डोटीका स्थानीय तहमा न्याय सम्पादनमा समस्या भएको छ ।
स्थानीय तहमा न्याय सम्पादनको क्षेत्रमा काम गर्ने अधिकांश महिला जनप्रतिनिधि कानूनी ज्ञानको अभावमा अलमलमा पर्ने गरेका छन् । ‘युएन वुमेन, सर्च फर कमन ग्राउण्ड र फाँया नेपाल’ ले आयोजना गरेको महिला जनप्रतिनिधिहरुको नेतृत्व प्रवर्द्धनका लागि दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र बडीकेदार गाउँपालिकामा सञ्चालन भएको ‘हाम्रो नेतृत्व’ कार्यक्रमको बैठकमा उपस्थित डोटीका अधिकांश महिला जनप्रतिनिधिले आफूहरुलाई खासै कानूनी ज्ञान नभएको र प्रक्रिया पनि नबुझेको बताएका हुन् ।
कार्यक्रममा डोटीको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले कानुनी ज्ञान नहुँदा अहिले जनप्रतिनिधि महिलाहरु नै हिंसामा पर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अधिकांश महिला जनप्रतिनिधिसँग कानुनी ज्ञान र चेतनाको कमीका कारण कहाँ के गर्ने ?, कस्तो निर्णय लिने ?, भन्ने बारेमा अलमल हुने गरेको छ ।’
त्यस्तै डोटीको शिखर नगरपालिकाका नगर उपप्रमुख धौलीदेवी रावलले आफू न्यायिक समितिको संयोजक भए पनि आफूलाई न्यायिक समितिको कार्य प्रक्रियाबारे अहिले पनि कुनै ज्ञान नभएको बताउनुभयो ।
‘म न्यायिक समितिको संयोजक हुँ, उजुरी आउँछन्, एउटै उजुरी किनारा लगाउन धेरै समय लाग्छ’, उहाँले भन्नुभयो, ‘कानुनी ज्ञान नहुँदा आफै अलमलमा पर्छु ।’ कानुनी ज्ञानको अभाव र कार्य प्रक्रिया राम्रोसँग नबुझ्दा काम गर्न निकै समस्या भएको उहाँको भनाई छ ।
वर्तमान राजनीतिक व्यवस्था र कानुनी प्रक्रियाबारे जनप्रतिनिधिहरुका साथसाथै स्थानीय समाजसेवी बुद्धिजीवीहरुलाई पनि तालिम दिनु पर्ने डोटीका महिला जनप्रतिनिधिहरुको माग रहेको छ ।
दिपायल सिलगढी नगरकार्यपालिका सदस्य हिरा मलासीले जनप्रतिनिधिमा निर्वाचित भएको डेढ वर्ष भई सक्दा समेत आफूले गर्नु पर्ने कामका बारेमा अहिलेसम्म खासै जानकारी नपाएको बताउनुभयो ।
‘नागरिकले चुनेर पठाएको डेढ वर्ष भैसक्यो, मैले गर्नु पर्ने काम केही अहिलेसम्म बुझ्न सकेकी छनै’, उहाँले भन्नुभयो, ‘सबैभन्दा पहिला महिला जनप्रतिनिधिहरुको काम, कर्तव्य र जिम्मेवारीका विषयमा ज्ञान दिनु जरुरी भएको छ ।’
जिल्ला समन्वय समिति डोटीका उपप्रमुख सशी सोवले राजनीतिक दलहरुले टिकट दिँदा सक्रिय राजनीतिमा लागेका महिलाहरुभन्दा बाहिरबाट छोपेर उम्मेदवार बनाएका कारण पनि यस्तो समस्या आएको बताउनुभयो ।
‘सक्रिय राजनीति गरेका महिलाहरुले केही प्रक्रिया बुझेका थिए’, उहाँले भन्नुभयो, ‘दलहरुले चुनाव जित्नु पर्ने सोचका साथ भूगोल, जात, समुदाय हेरेर उम्मेद्वार बनाएपछि समस्या आएको हो ।’
डोटीलगायतका पहाडी क्षेत्रमा कानुनी ज्ञानसहित अन्य विषयमा जानकारी नभएका महिला जनप्रतिनिधिलगायत अन्य महिलाहरुले भोगिरहनु परेको अप्ठेरा विषयहरुको अध्ययन गर्ने, उनीहरुको आवश्यकता पहिचान गरी विभिन्न तालिमहरु सञ्चालन गर्ने र महिला जनप्रतिनिधिहरुको साझा मञ्च निर्माण गरिने फाँया नेपालका कार्यक्रम निर्देशक धर्मराज पाठकले जानकारी दिनुभयो ।
डोटी जिल्लाको लैङ्गिक पाश्वचित्र निर्माण गरिने र महिला जनप्रतिनिधिहरुलाई प्रोत्साहन हुने खालका समाचार सामग्रीहरु सम्प्रेषणका लागि मिडियालाई समेत परिचालन गरिने ‘हाम्रो नेतृत्व’ कार्यक्रमका संयोजक सच्चिदानन्द जोशीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।