बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
फिफा विश्वकप २०१८ मा आज बेल्जियमले अफ्रिकी प्रतिस्पर्धी ट्युनिसियासँग खेल्दैछ ।
समूह जी को आफ्नो पहिलो खेलमा विश्वकपको नवप्रवेशी टोली पानामालाई ३–० ले हराएको बेल्जियम लगातार दोस्रो जितका साथ अर्को चरणमा पुग्न उत्साहित हुनेछ । यता इंग्ल्याण्डसँग पहिलो खेलमा २–१ ले हारेको ट्युनिसिया जारी विश्वकपमा पहिलो जितको खोजीमा हुनेछ । दुईबीचको खेल रुसको मस्कोस्थित स्पार्टाक रंगशालामा नेपाली समयअनुसार आज साँझ पौने ६ बजेदेखि सुरु हुनेछ ।
फिफा वरीयताक्रममा तेस्रो स्थानमा रहेको ‘डार्क हर्स’ को रुपमा रहेको बेल्जियम तथा २१ औँ स्थानमा रहेको ट्युनिसियाबीचको खेल रोमाञ्चक हुनेछ ।
पहिलो खेलमा पानामाविरुद्ध सहज जितका बाबजुद बेल्जियन टोली आलोचनामुक्त भने रहेन । खासगरी विश्वकपकै कमजोर प्रतिस्पर्धी मानिएको पानामासँग उसले पहिलो हाफ बराबरी खेलेको थियो । तर, चेल्सी तथा बेल्जियमका प्लेमेकर इडेन हाजार्डले पानामाविरुद्धको खेलमा टोलीको प्रदर्शनको बचाउ गरेका छन् ।
हाजार्डको अनुभव के छ भने बेल्जियम थोरै महत्वाकांक्षी पनि भएको हो । यद्यपि शनिबार ट्युनिसियाविरुद्ध उसले शानदार प्रदर्शन गर्ने अपेक्षा छ ।
पत्रकारहरुसँग हाजार्डले भने, ‘मानिसहरु धेरै अपेक्षा गर्छन्, तर हामीले जारी विश्वकपको अहिलेसम्मको खेल हेर्दा देखेका छौँ कि रुस र साउदीको पहिलो खेल छाडेर सबै खेल एक या दुई गोलअन्तरमा हारजित भएको छ । ‘हामीले ३–० ले जित्यौँ त त्यो खराब होइन नि !’
हाजार्ड भन्छन्, ‘सबैजना बेल्जियमबाट धेरै अपेक्षा राख्छन्, हामीले जहिले पनि आफ्नो शतप्रतिशत दिन्छौँ । हामी ८० प्रतिशत बल पोजिसन बनाउन चाहन्छौँ र ५० शट हान्दा ४० गोल गर्न चाहन्छौं ।’
‘तर, यस्तो कहिल्यै हुँदैन । कहिलेकाहीँ तपाईँ कठिन म्याच खेल्नुहुन्छ र १–० ले खेल जित्नुहुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा तपाईँले खेल जित्नुभएको छ । हामीसँग यति धेरै प्रतिभा छन् कि मानिसहरुले धेरै अपेक्षा गर्नु आश्चर्य होइन ।’
हाजार्ड प्रतियोगिताकै उत्कृष्ट खेलाडीमध्येका एक हुन् र उनका अनुसार आफ्नो क्षमता प्रदर्शन गर्ने यो सबैभन्दा उच्च मञ्च हो ।
उनले भने, ‘मलाई लाग्छ कि यो विश्वकप मेरै हुनुपर्छ । म अहिले २७ वर्षको भएँ, आफ्नो दोस्रो विश्वकप खेल्दैछु र व्यक्तिगत रुपमा यस सिजन मैले राम्रो बिताएको छु । प्रतियोगितामा राम्रो प्रदर्शन गर्नका लागि सबै तत्व एकै पटक मिलेको हुनुपर्छ ।’
बेल्जियमका डिफेण्डर थोमस भर्मालिन चोटमुक्त हुँदै प्रशिक्षणमा फर्किएका छन् र २८ जुनमा हुने इंग्ल्याण्डविरुद्धको खेलसम्ममा फिट हुने अपेक्षा गरिएको छ । गएको मे मा बार्सिलोनाबाट खेल्दा चोटग्रस्त हुनाका बाबजुद प्रशिक्षक रोबर्टो मार्टिनेजले उनलाई टिममा राखेका थिए ।
इंग्ल्याण्डका कप्तान ह्यारी केनको शानदार प्रदर्शनका कारण विश्वकपको आफ्नो पहिलो खेलमा ट्युनिसिया २–१ ले पराजित भएको थियो । बेल्जियमविरुद्धको खेलमा ट्युनिसियाली टोलीमा एक परिवर्तन निश्चित छ । उसका नियमित गोलरक्षक मोउज हसन काँधको चोटका कारण घर फर्किएका छन् । उनको शल्यक्रिया गर्नुपर्ने भएको छ ।
म्याच फ्याक्ट्स
– बेल्जियम र ट्युनिसियाको यो चौथो भेट हो, यसअघि दुवै टोलीले एक–एक खेल जितेका छन् भने एक खेल बराबरीमा सकिएको छ ।
– बेल्जियम पछिल्लो १० वटा विश्वकप म्याचमा ९० मिनेटभित्र पराजित भएको छैन । ५ जित र ५ बराबरी खेलेको छ ।
– बेल्जियमले विश्वकपमा गरेका पछिल्लो ११ वटा गोल दोस्रो हाफमा मात्र सम्भव भएका थिए ।
– सन् १९७८ मा आफ्नो पहिलो विश्वकप सहभागितामै मेक्सिकोविरुद्ध ऐतिहासिक ३–१ को जित निकालेको ट्युनिसियाले त्यसयता १२ खेलमा जित हासिल गर्न सकेको छैन । ८ खेल हारेको छ भने ४ खेल बराबरी खेलेको छ ।
– ट्युनिसियाले यस विश्वकपमा एउटै मात्र प्रहार गरेको छ र गोल गर्न सफल भएको छ । इंग्ल्याण्डविरुद्धको खेलमा त्यो सम्भव भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।