काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
डोटी – दिपायलमा जडान गरिएका सोलार अर्थात् सौर्यबत्तीहरु ठेकेदारले उखेल्न थालेका छन् । आफूहरुसँग गरिएको सम्झौताअनुसार रकम नदिएको भन्दै दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्तीहरु ठेकेदारले धमाधम उखेल्न सुरु गरेका हुन् ।
सरकारी अनुदानमा ठेकेदार कम्पनी मनिङ्ग सनले पिपल्ला बजारमा जडान भएका ३० वटा सौर्यबत्ती मध्ये ७ वटा बत्ती हटाउन लागेको ठेकेदार वेदप्रकाश कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दिपायल सिलगढी नगरपालिकाले हामीले जडान गरेका ७ बत्तीको दिनुपर्ने ७ लाख रुपैयाँ लामो समय बित्दा पनि नदिएपछि हटाउन थालेका हौँ ।’
तत्कालीन दिपायल सिलगढी नगरपालिकाका कार्यालय प्रमुख तुलसीप्रसाद आचार्यले यो कम्पनीसँग सोलार राख्नेबारे सम्झौता गर्नुभएको थियो ।
त्यतिबेला रकम भुक्तानी नभएको र उहाँ सरुवा भएर अन्यत्र गइसकेपछि पुरानो रकम भुक्तानी गर्न नसकिने अवस्थाले रकम नदिएको दिपायल सिलगढी नगरपालिकाका अहिलेका नगरप्रमुख मञ्जु मलासीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘समयमै काम सम्पन्न नगरी बिल भरपाइ नदिएकाले त्यो बेला भुक्तानी दिएन, अहिले हामीसँग रकम छैन कहाँबाट दिने ?’
डोटी उद्योग वाणिज्य संघसँग २०७३ फागुन १७ गते नगरपालिकाले ३० लाखमा ३० पोलको सम्झौता गरी सौर्यबत्ती जडानका लागि कार्यादेश दिएको थियो । त्यसपछि उद्योग वाणिज्य संघले त्यो काम २०७३ फागुन ६ गते मर्निङ्ग सन नेपाल कम्पनीलाई जडानका लागि ठेक्का दिएको थियो ।
कम्पनीले काम गरेबापत दुई पटकको किस्ता गरी २३ लाख रुपैयाँ भुक्तानी पाइसकेपछि बाँकी रकम उद्योग वाणिज्य संघलाई नै नगरपालिकाले नदिँदा ठेकेदारलाई दिन नसकिएको उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो ।
ठेकेदारले जडान गरेका बत्ती हटाउन लागेपछि बजार अन्धकार हुने भन्दै दिपायलका स्थानीय दुखी भएका छन् ।
स्थानीय रामबहादुर विष्टले भन्नुभयो, ‘बत्तीले बजार उज्यालो भइरहेको थियो, अब उखेलेपछि अन्धकार हुने भयो ।’ यसबारे डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले ठेकेदारलाई तत्काल बजारमा भएका सौर्यबत्ती नउखेल्न आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘नागरिकलाई समस्या पर्ने भएकाले बत्ती नउखेल्न आग्रह गरेको छु, ठेकेदारले पाउनुपर्ने रकम भुक्तानीका लागि सम्बन्धित निकायमा पहल गर्नेछौँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।