जनप्रतिनिधिले एक विद्यार्थी अनिवार्य भर्ना गर्नुपर्ने

 वैशाख ४, २०७६ बुधबार १०:५१:३४ | विमल बिष्ट
unn.prixa.net

डोटी – विद्यार्थी भर्ना अभियानमा जनप्रतिनिधिले एक विद्यार्थीलाई अनिवार्यरूपमा भर्ना गर्नुपर्ने भएको छ । यहाँका नगरपालिका तथा गाउँपालिकाका हरेक जनप्रतिनिधिले कम्तीमा पनि एक÷एक जना विद्यार्थी अनिर्वाय भर्ना गर्नैपर्ने निर्णय गरेको हो ।

भर्ना अभियान सुरु भएसँगै यहाँका निजी विद्यालयभन्दा सरकारी विद्यालयमा विद्यार्थी भर्ना हुने चाप बढेको छ । यहाँका सरकारी विद्यालयले निजीभन्दा राम्रो पढाइ दिन थालेपछि अहिले जिल्लाभरिमै सरकारी विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको चाप बढेको जोरायल गाउँपालिका–५ गड्सेरास्थित नवोदय माविका प्रधानाध्यापक फणेन्द्रबहादुर खडायतले बताउनुभयो । 

कुनै बेला विद्यार्थी खासै भर्ना हुन नआउने यहाँका सरकारी विद्यालयमा गएको वर्षदेखि उल्लेख्य विद्यार्थी भर्ना हुन थालेको शिक्षक बताउँछन् । जिल्लाका निजीभन्दा राम्रो पढाइ हुने नाम चलेका तलारा मावि तलारा, केदारेश्वर मावि कपल्लेकी, घण्टेश्वर मावि जोरायल, नवोदय मावि गड्सेरा, पद्मपब्लिक मुक्तिनारायण मावि सिलगढी, छत्रेश्वर मावि, रानागाउँ मावि रानागाउँ, रघुनाथ मावि निरौली, साजेन्द्रश्वर मावि फुलौट, दिल्पश्वर मावि दीपायल, हरिहर मावि पञ्चनाली, सिद्धेश्वर मावि बानीडुग्रिसैन, रामपुर मावि बुडर लगायतका दजनौँ विद्यालयमा अहिले विद्यार्थीको भर्ना चाप बढेको केदारेश्वर मावि कपल्लेकीका शिक्षक रामबहादुर ऐरले दाबी गर्नुभयो । 

विद्यालय जाने उमेरका बालबालिका शिक्षाको पहुँचबाट बाहिर नपरून् सबै बालबालिका विद्यालय पढ्न आउन भन्दै तीव्र रूपमा विद्यार्थी भर्ना अभियान सुरु गरिएको जोरायल गाउँपालिकाका शिक्षा विकास अधिकृत तेजु खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षाको पहुँचबाट कोही बालबालिका नछुटून् भनेर हामीले भर्ना अभियान तीव्र बनाएका छौँ ।” जिल्लामा विद्यार्थी भर्ना अभियानसँगै विद्यालय जान नसक्ने बालबालिका टुहुरा बालबालिकाको लगत सङ्कलन गर्दै अभिभावकत्व लिने योजनासहित आफूहरूले दुवै काम सँगसँगै सुरु गरेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले भर्ना अभियानसँगै अभिभाकत्वसमेत लिने योजना बनाएका छौँ, हाम्रो योजना भनेकै बालबालिका विद्यालय पुगून् भन्ने हो ।” जिल्लाभरिमा वैशाख १५ गतेसम्म पहिलो चरणअन्तर्गत विद्यालयमा कार्यक्रम गरी भर्ना अभियान सञ्चालन गरिने छ भने वैशाख १६ देखि ३० गते गतेसम्म दोस्रो चरणअन्तर्गत घरदैलो गरेर बाँकी विद्यार्थी भर्ना गर्ने अभियान सञ्चालन गरिने भएको छ ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया