कविता पढाउनु र लेख्नुमा भिन्नता हुँदाेरहेछ: कवि डंगाेल

 वैशाख ७, २०७६ शनिबार १५:५८:४५ | रासस
unn.prixa.net

काठमाण्डाै - ‘त्रिभुवन विश्वविद्यालयमा कविता पढाउँछु, आफैँ पनि कविता लेख्छु तर सिद्धान्तको कसीमा लेखिने विधा होइन रहेछ कविता,‘कवि एवं उपप्राध्यापक आरएम डङ्गोलको अनुभवले भन्छ, ‘आजकल कविता आख्यान विधाको तुलनामा ओझेल पर्न थालेको छ, कविहरुले लोकजीवन लयलाई सरल र कलात्मकरुपमा प्रस्तुत नगर्ने हो भने कवितामाथि थप चुनौती थपिनेछ ।‘’

‘राशिफल हेरिरहेको मान्छे’ र ‘दशजगावारी’ कविता संग्रहका स्रष्टा राजुमान डङ्गोलले विसं २०४२ तिर छिमेकी नुवाकोटको विदुर नगरपलिका–२ शेराबाट काठमाण्डाै छिरेर राष्ट्रियरुपमा स्थापित भए पनि कविताबारे अझै ठोकेर भन्न नसक्नुले कविताको व्यापकता दर्शाउँछ ।

प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा हरेक शनिबार बिहान ‘निरन्तर शनिबार’ कार्यक्रममा आज मुख्य कविका रुपमा उपस्थित कवि डङ्गोलले कविता लेखनका अनुभव सुनाउँदै केही थान कवितावाचन गर्नुभएको थियो ।  ‘रेडियो नेपालमा दाहाल यज्ञनिधिको ‘साहित्य संसार’ कार्यक्रम सुनेर कविता वाचनकलामा आकर्षित भएँ ।‘

‘साहित्य सन्ध्या’ संस्थाका कार्यक्रममा नियमित सहभागी हुँदै ‘गरिमा’ पत्रिकामा ‘अन्तरध्वनि’ कविता छापिएपछि म यस विधामा होमिएको हुँ,’ प्रगतिशील लेखक सङ्घका पूर्व महासचिव कवि डङ्गोलले तीन दशकअघिको विगत सम्झँदै भन्नुभयो, ‘कविताबारे पढाउनु र कविता लेख्नुमा धेरै भिन्नता हुँदोरहेछ ।‘

नयाँ र पुराना गरी सात कविता सुनाएका डङ्गोलले सम्बन्धित कविताका रचना गर्भबारे पनि संक्षिप्त अनुभव सुनाउँदा सहभागीले साहित्यिक स्वाद मानेका थिए । त्यसबखत कवि डङ्गोलले, ‘अन्तरध्वनि’, ‘पाँचथर’, ‘कवितामा काठमाण्डौ, ‘अनाम यात्रीहरुको नाममा’, ‘गुनासो २’, ‘शृङ्खला कविता’ र ‘अन्तर’ वाचन गर्नुभएको थियो । समालोचनामा पनि कलम चलाउने कवि डङ्गोलका संयुक्तसहित तीन कविता सङ्ग्रह छन् ।

सहभागी पदम दाहाल, केवल कार्की, दुर्गा जोशी, सुविन खनाल, सोझो गाउँले, सुदर्शन शर्मा र पूर्णिमा प्रतिबिम्बले आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो । पछिल्लो समय ‘सात कवि’ अभियानमा जोडिएका डङ्गोल विसं. २०५७ मा नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सवमा तृतीय हुनुभएको थियो भने हालसम्म उहाँले काठमाडौँ, नुवाकोट, चितवन र मोरङमा गरी आधा दर्जनस्थलमा एकल कविता वाचन गरिसक्नुभएको छ ।

विभिन्न साहित्यिक संस्था र साहित्यिक पत्रकारितामा समेत आवद्ध डङ्गोल प्रलेसको पदीय जिम्मेवारीबाट हालै बिदा भएपछि फुर्सदिलो महसुस गरी नयाँ कविता सङ्ग्रहको तयारीमा हुनुहुन्छ । 

‘सात कवि’ अभियानलाई डङ्गोलसहित गोविन्द नेपाल, छविरमण सिलवाल, टङ्क उप्रेती, ठाकुर बेल्बासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीले सामाजिक सञ्जालमार्फत् सञ्चालन गरिरहनुभएको छ । अभियानका एक सदस्य लोहनीले कवि डङ्गोललाई ‘विचारमा दर्शन र दर्शनमा विचार मुछेर कवितालाई कलात्मकरुपमा ढाल्न खप्पिस’ भनी चित्रण गर्नुभएको छ ।

नेपाली साहित्यमा बढी लेखिने तर कम बिक्री हुने विधामा कविता पर्नुले डङ्गोललाई मात्र होइन दर्शक दीर्घमा रहेका समीक्षक विनोद मञ्जनलाई पनि बिझेको रहेछ । कविता बुझेर विषयवस्तुमा पकड राख्नसक्ने र आकर्षक तरिकाले व्यक्त गर्नसक्ने भएपछि मात्रै कवितामा हात हाल्न सुझाउँदै मञ्जनले कवितामा कल्पना, बिम्ब, प्रतिक र सांैन्दर्यजस्ता तत्व अनिवार्य हुनुपर्ने बताउनुभयो ।

 उहाँले साहित्यमै विद्यावारिधी गरेका कतिपयले विद्धवानले बिम्ब र प्रतिक एउटै हो भनिदिँदा वा त्यसको स्पष्ट परिभाषा नदिँदा स्रष्टामा अन्योल हुने उल्लेख गर्दै कवितामा ध्वनात्मक अर्थसमेत खोजिनुपर्ने औंल्याउनुभयो ।

दर्जनौँ निबन्धका स्रष्टा मञ्जनले माथिका चार तत्वभित्रै कवितामा विचार र कलाको गाम्भीर्य मिश्रण हुने जनाउँदै भन्नुभयो, ‘कवित्व नभएका रचनालाई कविता भनिदिने समालोचक र अग्रजका कारण कविता विधामा सशक्त प्रतिभा वृद्धि हुन सकेको छैन ।’

 

-प्रकाश सिलवाल

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया