श्रेयस अय्यरकाे रेकर्ड ताेडियाे, लखनउले ऋषभ पन्तलाई २७ कराेड ...
मंसिर ९, २०८१ आइतबार
हेमबहादुर थापा मगर
दुई हजार पचास साल जेठ ४ गते । चितवनको चर्को घाम । बिहानको करिब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग गएका थियौँ ।
नदीमा माछा मारेर नै हामीहरुको जीवन धान्नुपथ्र्याे । त्यसबेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो । छप्की जालमा माछा पर्दै थियो । म अरु साथीभन्दा अघि थिएँ । जाल हान्दै जति अघिअघि जान्थेँ त्यति नै धेरै काभ्रे माछा पर्दैथियो । मेरा आँखा दुई चट्टानका बीचमा एउटा मुढाजस्तो देखिने वस्तुमा पर्यो । मलाई लाश हो कि भन्ने लाग्यो ।
साथीहरुलाई शव देखेको खबर गरेँ । शवको नजिकै पुगेँ । घोप्टो अवस्थामा शव अड्किएर बसेको पाएँ । पानीको माथिको सतहभन्दा आधा फिटमा शव डुबेको थियो । अनि साथीहरु र म भएर बाँसको भारोको सहयोगमा नदी किनारमा निकाल्यौँ ।
शवलाई ओल्टाइपोल्टाइ हेर्यौँ । आँखाको नानीमा बाहेक अन्य ठाउँमा चोट थिएन । शव हेर्दा लाग्थ्यो, उठेर बोल्छ जस्तो । एकदमै फ्रेस । शरीरमा खैरो रङको लामो बाउले सर्ट थियो, पाइण्ट भने थिएन । दुवै खुट्टामा मोजा थिए ।
शव पाए पनि मदन भण्डारीको जीप दुर्घटनामा मृत्यु भएको छ भन्ने थाहा थिएन । त्यही बेला चितवन राष्ट्रिय निकुञ्जको गस्तीमा खटिएका चार जना नेपाली सेना आइपुगे । उनीहरुले शव हेरे । सेनाहरुलाई मदन भण्डारीको मृत्युबारे थाहा रहेछ ।
हेरेपछि सेनाहरुले कालो छ, कुनै भारतीय हुन सक्छ भने । शवलाई बगाउन लागे । हामीले बगाउन दिएनौँ । जेठ ४ गते शवलाई नदी किनारमै छाडेर घर फर्कियाैँ ।घरमा बाजेलाई शव भेट्टाएको बताएँ । बाजेले सायद मदन भण्डारीको शव होला भन्नुभयो । उहाँले पुलिसलाई खबर गर्न भन्नुभयो तर पुलिसलाई खबर गर्ने आँट गरिनँ ।
जेठ ५ गते कुलो खन्दै थिएँ । दासढुङ्गाबाट एउटा टोली पौडी खेल्न जान्ने मान्छे खोज्दै गाँजीपुर आइपुगेछ । टोलीसँग मेरो बुबाको भेट भएछ । बुबाले हाम्रा छोराहरुले शव भेट्टाएको टोलीलाई जानकारी दिनुभएछ । लगत्तै टोलीसँग हामी काठेडुङ्गा लिएर शव भएको ठाउँ पुग्यौँ । नभन्दै त्यो शव नेता मदन भण्डारीको रहेछ ।
डुङ्गामा शव हालेर वारि आयौँ जुन ठाउँमा अहिले मदन भण्डारी स्मृति पार्क बनिरहेको छ । फर्केर आउँदा मान्छे चौरमा अटाएका थिएनन् । ठूलो मेला लागेको जस्तो भिड । अनि पत्रकारहरुले मलाई सोधी खोजी गर्न लागे । जिल्ला प्रशासनबाट आएका कर्मचारीहरुले पनि सोध्न लागे । धेरै दिनसम्म मलाई र मेरा अरु तीन जना साथीलाई घटनाबारे मान्छेहरुले सोधिरहे ।
ठूलो मान्छेको शव भेटेकोमा आफूलाई भाग्यमानी र अभागी दुवै ठान्छु । अहिले पनि ती घटनाक्रमहरु मेरो आँखा अगाडि घुमिरहन्छ । अठार वर्षको हँदा शव भेटेको थिएँ । अहिले ४३–४४ वर्ष पुगेँ । त्यति ठूलो नेताको शव भेटाउँदा मलाई पक्कै सरकारले नेपाली सेनामा जागिर दिन्छ कि भन्ने लाग्यो । त्यस समयमा सिपाहीको शव भेटाउने मान्छेले नेपाली सेनामा जागिर खान पाउँथे । कुरा पनि चलाएँ तर भएन ।
अनि म वैदेशिक रोजगारीका लागि साउदी अरब लागेँ । बाह्र वर्ष साउदी बसेर नेपाल फर्किएँ । अहिले विदेशबाट फर्किएको ११ वर्ष भयो । एउटा ट्रयाक्टर किनेको छु । आर्थिक अवस्था कमजोर नै छ । मसँगै शव भेटाएका किसान ठकुरी नेपालमै छ । श्यामबहादुर थापा मगर साउदी र टेकबहादुर आलेचाहिँ मलेसियामा छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग पार्ककै विकासको योजनासहित डेलिगेशनमा काठमाण्डौ जाँदा भेट भयो । मलाई अरुले शव भेट्टाउने मान्छे यही हो भनेर चिनाइदिए । म विदेश भएको समयमा मेरो प्रशंसापत्र बुवालाई प्रदान गरिएको रहेछ । अहिले त्यो प्रशंसापत्र जतन गरेर राखेको छु ।
मेरो इच्छा भनेको सरकारले गाँजीपुरलाई नमुना बस्तीका रुपमा विकास गरोस् भन्ने छ । अनि अहिले नेकपाकै सरकार छ, स्वर्गीय मदन भण्डारीकी धर्मपत्नी देशको राष्ट्रपति हुनुहुन्छ । मलाई नभए पनि मेरा छोराछोरीलाई अवसर दिए हुन्थो भन्ने लाग्छ ।
-रासस समाचारदाता सुरेन कुँवरसँग थापाको कुराकानीमा आधारित
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।