काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
डोटी - ६ वर्षअघि दादुराको खोपका कारण मृत्यु भएका चार बालबालिकाका परिवारले जनही १० लाख रुपैयाँका दरले क्षतिपूर्ति दिन सर्वोच्च अदालतले अादेश दिएकाे छ।
२०६९ साल भाद्र ३ गते डोटी पूर्वीचौकी गाउँपालिका ५ (साविकको काडामाडौंं गाविस) ६ जना बालबालिकालाई दादुराको खोप लगाइएकोमा खोपकै कारण चार जनाको मृत्यु भएको थियो ।
दुई जना गम्भीर बिरामी परेका थिए । खोप लगाएको भोलिपल्टै मृत्यु भएका चार बालबालिकाका आफन्तहरुले खोपकै कारण मृत्यु भएको भन्दै क्षतिपूर्तिको माग गर्दै आएका थिए ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले रिट निवेदकको दावी उपयुक्त भएको ठहर गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति दिन विपक्षीका नाममा आदेश गरेको हो ।
आदेशमा भनिएको छ ‘राज्यका अधिकारीहरुको असावधानी र गैरजिम्मेवार कार्यका कारण निर्दोष बालबालिकाको मृत्यु भएको देखिएकोले तीन महिनाभित्र मृतक बालबालिकाहरुको अभिभावकलाई जनही दश लाख रुपैयाँ क्षतिपूर्ति जिल्ला प्रशासन कार्यालय डोटी मार्फत दिलाई सो प्रदुषित भायलको प्रयोगबाट बिरामी भएका अन्य बालबालिकाहरुको हकमा निःशुल्क उपचार तथा उनीहरुले व्यहोर्नु परेको हैरानीको लागि उचित क्षतिपूर्ति समेतका लागि विपक्षीहरुको नाममा परमादेशको आदेश जारी हुने ठहर्छ ।’
न्यायालयले आगामी दिनहरुमा खोपका भायलहरु प्रयोग गर्दा पूर्व परीक्षण गरेर मात्रै गर्न र खोप तथा औषधिको वितरणपूर्व प्रयोगकर्तालाई सो सम्बन्धी पर्याप्त जानकारी दिनसमेत आदेश गरिएको छ ।
दादुराको खोप लगाएको भोलिपल्ट अर्थात २०६९ साल भाद्र ४ गते खोपको भायलका कारण डोटी पूर्वीचौकी गाउँपालिका ५ का १२ महिनाका मिलन नेपाली, आठ महिनाकी सुजाता नेपाली, १९ महिनाकी गौरी चिराल र पूर्वीचौकी (६ गाँजरी घर भइ काडामाडौं मामाघर आएकी नौ महिनाकी अञ्जु विक रहेका थिए ।
सरकारले लगाएको खोपकै कारण बालबालिकाको ज्यान गएको भन्दै अधिवक्ताद्वय दलवहादुर धामी र जितेन्द्रवहादुर मडैले सर्वोच्च अदालतमा उत्प्रेषणयुक्त परामादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ भनी रिट निनिवेदन दिएका थिए ।
रिटमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल, जिल्ला स्वास्थ्य कार्यालय डोटी लगायतलाई विपक्षी बनाइएको थियो ।
रिटमा तत्कालीन अवस्थामा प्रयोग भइरहेको दादुरा खोपको भायल तत्काल रोकी परीक्षण गरेर मात्रै प्रयोग गरिनु पर्ने, नेपालको कानून र अन्तराष्ट्रिय सन्धि महासन्धिको व्यवस्था बमोजिम जनताले गुणस्तरीय स्वास्थ्य उपचार पाउनु पर्ने, मृतकका परिवारले क्षतिपूर्ति पाउनु पर्ने र बिरामीहरुको उपचार सरकारले गर्नु पर्ने माग गरिएको थियो ।
रिटमा स्वास्थ्य क्षेत्रबाट पटक÷पटक यस्ता लापरवाही हुने गरेकाले अध्ययन गरी दोषीमाथि कारबाही गर्नु पर्ने समेत माग गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।