कुलदीप यादवको उत्कृष्ट बलिङमा भारतको शानदार जित

 असार २०, २०७५ बुधबार ६:४९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पिनर कुलदीप यादवले करिअरकै उत्कृष्ट बलिङ गरेपछि इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय टोलीले पहिलो टी–२० क्रिकेटमा ८ विकेटको शानदार जित हासिल गरेको छ ।
 
म्याच्टेस्टर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्ड कुलदीपको धारिलो बलिंगसामू निरीह बन्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १५९ रनमात्र बनाउन सक्यो ।
 
इंग्लिस इनिङ कमजोर बनाउने क्रममा कुलदीपले ४ ओभरमा २४ रन खर्चेर ५ विकेट लिए । एक साताअघिमात्र आयरल्याण्डविरुद्ध दुई म्याचमा ७ विकेट लिएका यादवको यो करिअरकै उत्कृष्ट प्रदर्शन हो ।
 
इंग्लिस टोलीका लागि ओपनर जस बटलरले ६९ रन, ज्यासन रोयले ३० र डेभिड विलीले २९ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् । इंग्ल्याण्डका ३ खेलाडीले खाता खोल्नै सकेनन् ।
 
यादवका अलावा भारतका उमेश यादवले २ तथा हार्दिक पाण्ड्याले १ विकेट लिए ।
 
१६० रनको विजय लक्ष्य भारतले १८.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । उसका लागि केएल राहुलले ५४ बलमा १०१ रनको शतकीय पारी खेले । करिअरको दोस्रो शतक प्रहार गर्ने क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरेका थिए । भारतका लागि ओपनर रोहित शर्माले ३२ तथा शिखर धवन ४ रनमा आउट भए । कप्तान विराट कोहलीले पनि अविजित २२ रन बनाए ।
 
तीन टी–२०, तीन एकदिवसीय र चार टेष्ट म्याचको श्रृंखलाका लागि भारतीय क्रिकेट टोली अहिले इंग्ल्याण्ड भ्रमणमा छ । दुईबीचको दोस्रो म्याच शुक्रबार हुनेछ ।
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया