भारतले अस्ट्रेलियालाई दियाे ५ सय ३४ रनकाे लक्ष्य, टेस्ट क्रिकेट...
मंसिर ९, २०८१ आइतबार
दार्चुला – काखीमा दुधे बालक । अगाडि सात–आठ वर्षका एक बालिका र पछाडि महिलाहरू । अगाडि गाईवस्तुदेखि भेंडाबाख्राको ताँती छ । यो दार्चुलाको हिमाली क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाको सुनभन्दा महङ्गो यार्सागुम्बा खोज्ने सङघर्षपूर्ण यात्रा हो ।
अपि हिमाल गाउँपालिका–३ का २० वर्षीया तारा बोहरा दुधे बालकसहित यार्सा सङ्कलन गर्न लेकतिर जाँदै थिइन् । पिठ्युमा खाद्यान्न, लत्ताकपडा तथा छातीमा दुधेबालक छ । दुधेबालक सँगै लिएर जाने उनी एक्ली पात्र भने हैनन् । सुनभन्दा महङ्गो मूल्यमा बिक्री हुने यार्सामा जीवनकै बाजी थाप्नेहरूको ताँती अहिले पहाड उक्लिदैछन् । यस क्षेत्रका अधिकाँश महिलाहरू यसरी नै दुधेबालक च्यापेर हरेक वर्ष यार्सा सङ्कलनमा जाने गर्छन् ।
यो क्षेत्रका ६ देखि ६० वर्ष उमेर समूहका झण्डै चार हजार जनसङ्ख्या यार्सा खोज्न पाटन जाने गर्छन् । त्यहाँ एक महिना सङ्घर्षपूर्ण जीवन बिताउँछन् । यहाँका नागरिकको आय र खाद्यान्न जोहोको प्रमुख स्रोत नै यही एक महिनाको खटन हो । हेर्दा रहरैले गएको जस्तो देखिन्छ । त्यहाँको पीडा र कठिनाइ ती दुधे बालक लिएर जाने महिला र बालबालिकाले मात्रै भोगेका हुन्छन् ।
गाउँ पाश्र्वचित्रमा देखाइएको तथ्याङ्क अनुसार अपि हिमाल गाउँपालिकाका एक हजार २०८ घरधुरीमध्ये १३३ घरधुरीको तीन महिनासम्म खान पुग्दैन । करीव ३ देखि ६ महिनासम्म खान पुग्ने परिवारको सङ्ख्या ६३९ परिवार छ । यस्तै, ६ देखि ९ महिनासम्म खान पुग्ने परिवार ४०५ छ र वर्षभरि खान पुग्ने परिवारको सङ्ख्या ३१ छ ।
बहुमूल्य यार्साको बजार र उपयोगिताको चर्चा जति लोभलाग्दो छ, त्यति नै कठिन छ यसको सङ्कलन पनि । घाँसे मैदानमा फाट्टफुट्ट देखिने यार्सा खोज्नु भनेको फोहरको थुप्रोमा सियो खोज्नुजत्तिकै कष्टकर हुन्छ । विकट र अत्यधिक चिसो ठाउँमा पाइने भएकाले यसको खोजीमा जानेले ज्यानको बाजी लगाउनुपर्छ । कतिपयको लेक लागेर, बिरामी भएर, हिउँमा चिप्लिएर, पहिरोमा पुरिएर वा नदीमा खसेर ज्यान जाने गरेको छ ।
सङ्कलकहरूले पाटनमा एक इञ्च ठाउँ पनि खाली नराखी भुइँमा घस्रँदै यार्सा खोज्छन् । “दिनभरि खोज्दा कहिलेकाहीँ त एउटा पनि हात पर्दैन,” सङ्कलक गौमती कार्कीले भन्नुभयो ।
यार्सासँग सम्बन्धित घटनामा गएको वर्ष मात्र चार जनाले ज्यान गुमाए । हरेक वर्ष यार्सा खोज्ने क्रममा केटाकेटीहरूले हिउँमा चिप्लिएर वा भिरबाट लडेर ज्यान गुमाउने गरेका छन् ।
अपि हिमालको घुसा, खण्डेश्वरी, व्यासको छांगरु, तिंकर र राप्लाका अधिकांश स्थानीय बासिन्दा यसबेला लेकतिर उक्लिएका छन् । विगतका वर्षजस्तै यस वर्ष पनि यार्सा सङ्कलन क्षेत्रमा एकदेखि डेढ–दुई महिनाका लागि सामानको ढुवानी गर्नेको लर्को दिनदिनै देखिन्छ । घुसा र खण्डेश्वरीमा अहिले मान्छे भेट्टाउनै नसक्ने अवस्था आइसकेको छ ।
“यार्सा सङ्कलन तथा ओसारपसार निर्देशिका २०७३ अनुसार जेठ दोस्रो सातादेखि लेक खुल्यो, अहिले गाउँ रित्तिँदैछन्,” स्थानीयवासी कल्याणसिंह बोहराले भन्नुभयो ।
गाउँमा कुनै घरमा बूढाबूढी बाहेक अरु मान्छे भेटिँदैन । अधिकांश स्थानीय बासिन्दा गाई, गोरु, भेडाबाख्रा र लालाबालासहित लेकतिर हिँडेका छन् । क्षत्ति, घाजिर र पाथा गाउँतिर ढोकामा ताला लगाएर स्थानीय बासिन्दा पाटन गएका छन् ।
सङ्कलन अवधिभरका लागि खाद्यान्न, लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य सामग्री लिएर सङ्कलकहरू लेक पुगेका छन् । रोजगारी र अध्ययनका लागि गाउँ भन्दा बाहिर रहेका युवा, महिला सबैजसो यार्सा टिप्ने योजनासहित लेकतिर पसेका छन् । पढ्न जाने र गाउँबाट शहरमा बसोबास गर्नेहरू पनि गाउँ फर्किएका छन् ।
“जिल्ला बाहिरका समेत यार्सा सङ्कलन गर्न पाटनतिर लागेका छन्,” बोहराले भन्नुभयो – “यार्साको आकर्षणले बास बस्नेहरू दैनिक बढ्दैछन् ।” यार्सा पाइने अपि हिमालको लोलु, अपि फेद, रोखापु, सातगंगा फुल्टीवन, चाइमटेला, घाजिर, धरमघर, घट्टेखोला, काटै, सुर्मा लगायतका वनहरूमा यतिबेला सङ्कलकहरूको भीड लागेको छ ।
यस्तै, व्यासको अपि नाम्पा फेद, दुधिवन, स्याङ्पा, गल्गासे, होमदङ्ती, घट्टेखोला, मुल्तीतिछडे, सितालनौन्था लगायतका पाटनहरूमा सङ्कलकहरू पुगेका छन् । “यार्सा याम शुरु भएपछि वर्षैपिच्छे सङ्कलकहरूको भीड हुन्छ,” अपि हिमाल–१ का स्थानीयवासी झुनसिह जागरीले भन्नुभयो – “होटलहरू पनि राम्रै चलेका छन् । दिउँसो खान र राति बास बस्न सङ्कलकहरू होटलमै पुग्छन् । एउटै वनमा ४–५ हजारभन्दा बढी सङ्कलकहरू पस्ने गरेका छन् । यहाँबाट पनि लेक जानेको लामो लस्कर हेरिनसक्नु हुन्छ ।”
जेठ पहिलो सातादेखि असार महिनासम्म यार्सा सङ्कलन क्षेत्रमा भीड हुने गर्छ । “गाउँमा अशक्त, वृद्धवृद्धा, सुत्केरी, महिला, हिँड्डुल गर्न नसक्ने बालबालिका मात्रै छन्,” अपि हिमाल गाउँपालिका–४ का दमनसिह बोहराले भन्नुभयो । यार्सा खोज्ने समयमा यदि कसैको गाउँमा मृत्यु भइहाल्यो भने पनि मलामी जाने मान्छे हुँदैनन् । अपि हिमालको घुसा खण्डेश्वरीबाट दुई दिनमा सङ्कलन क्षेत्र पुगिन्छ ।
यस क्षेत्रका स्थानीय बासिन्दाको झण्डै चार करोड ४० लाख रुपैयाँ बराबरको खर्च खाद्यान्नमा मात्र हुने गरेको एक अध्ययनले देखाएको छ । सडक सञ्जाल नजोडिएको क्षेत्रमा कमै मात्र फसल लाग्छ भने ढुवानी भाडा महङ्गो छ । यहाँका स्थानीय बासिन्दाको मुख्य पेशा भनेकै कृषि र पशुपालन हो ।
अपि हिमाल गाउँपालिका भरिका २१ वटा र व्यास गाउँपलिका वडा नं २ र ३ का ८ वटा विद्यालय जेठ १५ गतेदेखि बन्द छन् । शिक्षा, युवा तथा खेलकूद शाखाले झण्डै एक महिना हिउँदे विदामा मिलान हुने गरी यार्सा यामको विदा दिएको हो ।
अधिकांश विद्यार्थीहरू लेकतिर पसिसकेका छन् । विद्यार्थीको आयस्रोत पनि यार्सा नै भएको कारण विद्यालय बन्द गर्नुपरेको शिक्षक दमनसिह बोहराले जानकारी दिए । बुधबार विद्यालयमा एकजना विद्यार्थी पनि पुगेनन् । व्यासका अन्य वडाका विद्यालयमा भने विदा दिइएको छैन ।
“यार्सा टिप्ने समयमा एक महिनासम्म विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ,” महादेव मावि घुसाका प्रधानाध्यापक शेरसिह धामीले भन्नुभयो– “शिक्षक विद्यार्थी सबै जानुपर्ने बाध्यता हो । यस क्षेत्रका बासिन्दाको वर्षभरिको कमाइ हुने यही महिना हो ।” यार्सा समुद्र सतहदेखि तीन हजार ८०० देखि चार हजार ८०० मिटरसम्मको उचाइमा पाइन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।