पहिलो चौमासिकमा राजस्व सङ्कलन बढ्यो
मंसिर ६, २०८१ बिहिबार
नेदरल्याण्डको ‘द डच रेफ्रिइङ’ परियोजना–२ ले गोल लाइन टेक्नोलोजी विकास गर्यो ।
यसैको विकसित रुप ‘भीएआर’ अर्थात भिडियो एसिस्टेन्ट रेफ्री हो । विश्वकपमा पहिलो पटक प्रयोग गरिएको यो प्रविधिको बारेमा खेलाडी, फुटबल प्रेमी र विश्लेषकको मत विभाजित हुँदै आएको छ ।
रसिया विश्वकप समूह बी अन्तर्गत स्पेन र पोर्चुगलबीचको खेलमा भिडियोको सहायतामा खेलको निर्णय गरिएको थियो, जुन विश्व फुटबलको इतिहासमा पहिलो घटना थियो । सोचीमा भएको खेलमा स्पेनिस स्ट्राइकर डिएगो कोस्टाको कुहिनाले पोर्चुगलका डिफेन्डर पेपेको अनुहारमा लाग्यो ।
२४औं मिनेटमा भएको त्यो घटनाका कारण पेपे मैदानमा लडे र त्यही मौकामा डिएगो कोस्टाले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
स्पेनले त्यो गोलमा ठूलै खुसियाली मनायो । त्यस खेलका रेफ्री जियानलुका रोच्चीले भिडियो एसिस्टेन्ट रेफ्रीसँग सम्पर्क गरे । उनले केही गलत भयो की भनेर सोधे । सोचीमा भएको खेल एक हजार ६ सय किलोमिटर टाढा मस्कोबाट नियालिरहेको भारले जवाफ दियो, ‘सबै ठिक छ ।’ र स्पेन खेलमा फर्कियो ।
‘त्यो स्पष्ट फाउल थियो’, पोर्चुगलका प्रशिक्षक फर्नाण्डो सान्तोसले खेल सकिएपछि प्रतिक्रिया दिए । डिएगो कोस्टाले समेत फाउल भएको स्वीकार गरे । उनले भने, ‘फाउल दिन सक्ने स्थिति थियो, तर त्यो रेफ्रीको विश्लेषण हो ।’ भारका बारेमा उनी नकारात्मक छन् । ‘भीएआर ठिक लागेन । गोलको खुसियाली मनाउँ की नमनाउँ, म अझै द्वविधामा थिएँ ।’
भार नेदरल्याण्डको फुटबल संघको महत्वाकांक्षी परियोजना थियो, जसको उद्धेश्य रेफ्रीको कामलाई सहज र विवादरहित बनाउनु हो । ‘इन्टरनेटको माध्यमबाट रंगशालामा उपस्थित हुने सबैले वास्तवमा के भएको थियो भन्ने सहजै थाहा पाउन सक्छन्, तर रेफ्रीले त्यो नदेख्न सक्छ ।’ नेदरल्याण्ड फुटबल संघका सचिव लुकास ब्रुडले भने, ‘सम्भावित गल्तीबाट रेफ्रीलाई बचाउनु हाम्रो दायित्व हो ।’
दुई वर्षको परीक्षणपश्चात नेदरल्याण्ड फुटबल संघको पहिलो परियोजनाका रुपमा सन् २०१२ मा गोल लाइन टेक्नोलोजी सफल भएको थियो । गोल लाइन टेक्नोलोजीले बलले गोल लाइन पूरा पार गरेको थियो की थिएन भन्ने रेफ्रीको अलमललाई पूर्ण विराम लगाइदियो ।
र, बेलायती कम्पनी हक–आईले विकास गरेको त्यही परियोजनाको विस्तारित रुप भार हो । ‘प्रविधिको प्रयोगमा फुटबल निकै पछि रहँदै आएको छ ।’ ब्रुडले भने, ‘हामीले खुल्ला गरेको यो दायराले फुटबललाई विवादरहित बनाउने कार्य गरिरहेको छ ।’
सन् २०१४ मा नेदरल्याण्ड फुटबल संघले अन्तर्राष्ट्रिय फुटबल संघ बोर्डसँग समन्वय गर्दै अनौपचारिक रुपमा नै खेलमा भिडियो एसिस्टेन्ट राख्न सुरु ग¥यो । तर त्यसबेलाका अध्यक्ष सेप ब्लाटर यो प्रविधिको विपक्षमा थिए ।
मानवीय गल्तीलाई फुटबलको अंग मान्ने ब्लाटर अध्यक्ष रहँदासम्म औपचारिकता पाउनु सम्भव थिएन । सन् २०१५ अक्टोबरमा नवनिर्वाचित अध्यक्ष जियान्नी इन्फान्टिनोले भारको प्रस्तावबारे नेदरल्याण्ड फुटबल संघका पदाधिकारीसँग छलफल गरे ।
ठूला खेलमा त्यसअघि भएका विवादहरुले समस्या खडा गरेको घटनाले फिफाका पदाधिकारी पनि यो प्रविधिप्रति आकर्षित भइरहेका थिए । थिएरी हेनरीको ह्यान्ड गोल, जसका कारण फ्रान्सले सन् २०१० को विश्वकप खेल्न पाएको थियो । जर्मनीविरुद्ध फ्राङ्क लाम्पार्डको गोल पनि यस्तै घटना थियो ।
‘ती घटनाहरु एसिस्टेन्ट रेफ्रीको सहायताले सहजै सच्याउन सक्थ्यौं ।’ ब्रुडले भने, ‘अहिले मानिसहरुले रेफ्रीलाई मिल्ने सहयोगका कारण खेल विवादरहित बन्छ ।’
सन् २०१६ मा फुटबल संघ बोर्डको बैठकले दुई वर्ष परीक्षण गर्ने निर्णय गरेपछि भारले औपचारिकता पाएको थियो । पहिलो परीक्षण दुईवटा मैत्रीपूर्ण खेलमा भयो ।
इटली र स्पेन तथा इटली र जर्मनीबीचको खेलमा परीक्षण भयो, तर त्यो खेलमा कुनै त्यस्तो घटना भएन ।
भीएआरको उद्धेश्य ठूला घटनाहरुलाई विश्लेषण गर्ने हो । तर साना घटनाहरुमा पनि यसको प्रयोग हुन थाल्यो । भीएआरको प्रयोग खेलको स्थिति परिवर्तन हुन सक्ने अवस्था, गोलअघि, पेनाल्टी, रातो कार्ड, गलत खेलाडीलाई पहेँलो कार्ड जस्ता गल्तीहरुमा गरिनेछ ।
गएको सिजन जर्मन बुण्डेस लिगा, इटालियन सिरी ए, पोर्चुगिज प्रिमेरा लिगा र इंग्ल्याण्डमा लिग कप र एफए कपमा पनि भीएआरको प्रयोग गरिएको थियो । परीक्षणका क्रममा भारको विपक्षमा हेडलाइन बनेका थिए ।
अष्ट्रेलियाको ए–लिगको फाइनलमा मेलबर्न भिक्टर र न्यूक्यासल जेट्स भिडेका थिए । तर अफसाइड गोल भएको त्यो खेलमा भारले निर्णय दिन सकेन ।
पोर्चुगलमा पनि अफसाइडको रिभ्यू गर्ने क्रममा झण्डाले लाइन छोपेको थियो । जर्मन कपको फाइनलमा पनि यस्तै भयो । ९३औं मिनेटमा पाउनु पर्ने पेनाल्टी टिमले पाएको थिएन ।
यस्ता घटना यो विश्वकपमा पनि नभएका होइनन् । पेनाल्टी दिनु पर्ने अवस्थामा नदिएको र नदिनु पर्ने अवस्थामा दिएको घटनाहरु पनि हामीले देखिसकेका छौँ ।
रेफ्रीको निर्णयलाई सम्मान गर्ने सिद्धान्त भीएआरको हो । खेल समर्थक र खेलाडीहरु खेलमा भावनात्मक रुपमा जोडिएको हुँदा रेफ्रीको निर्णयमा कहिलेकाहीँ आलोचना हुने गरेका छन् ।
खेलकुद विज्ञानमा काम गरिरहेका वैज्ञानिकहरुले पनि भीएआरको विश्वसनियता ९३ प्रतिशतबाट बढेर ९९ प्रतिशतमा पुगेको प्रतिवेदन निकालेका थिए ।
चार विधामा गरिएको अध्ययनले ५७ प्रतिशत भीएआरको रिभ्यू पेनाल्टी र गोलमा भएको उल्लेख गरेको छ । यस्तै एक खेलमा पाँच पटकभन्दा कम प्रयोग गरिएको र भारका कारण प्रति खेल ९० सेकेण्डभन्दा कम समय खर्च भएको उल्लेख गरेको छ ।
जारी विश्वकपमा भीएआर पूर्ण रुपमा प्रयोग भयो । यो प्रणालीमा पाँच अफिसियल– मुख्य रेफ्री, दुई जना सहायक रेफ्री, फोर्थ अफिसियल र भिडियो एसिस्टेन्ट रेफ्री रहन्छन् ।
सबै अफिसियल हेडसेटमार्फत निरन्तर रुपमा सम्पर्कमा रहन्छन् । यस्तो अवस्थामा भिएअारले रेफ्रीलाई अफसाइडको बारेमा पनि अवगत गराउने काम गर्दछ ।
१० वटा भीएआर मोनिटर अघि बस्ने भार अफिसियलले पनि रेफ्रीकै जस्तो जर्सी लगाउँछन् । मैदानमा मुख्य रेफ्रीका लागि एउटा छुट्टै मोनिटरको व्यवस्था गरिएको छ । जुन मोनिटरमा जुम–इन जुमआउट र फरक कोणबाट निरीक्षण गर्ने सुविधा पनि छ ।
भीएआरको आलोचना जारी रहे पनि यसले खेलमा हुने रेफ्रीको गल्तीमा सुधार ल्याएको छ ।
भीएआरले ढिलै भए पनि सही निर्णय दिइरहेको छ । ‘मानिसहरु विवादास्पद कुरामा बढी ध्यान दिइरहेका हुन्छन् । जबसम्म उनीहरु कुनै टिमले भारको निर्णयबाट पाएको न्यायको बारेमा सोच्दैनन्, तबसम्म भारको बारेमा नकारात्मक टिप्पणी भइरहन्छ’, ब्रुडले भने । ‘भारले विश्वसनीय तरिकाले काम गरिरहेको छ । जबसम्म मानिसहरुले यसमा विश्वास गर्दैनन्, क्रियाप्रतिक्रियाहरु आइ नै रहन्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।