कुलमानको चेतावनीपछि खुरुखुरु काम: कुलेखानी तेस्रोको परीक्षण सुरु

 जेठ २६, २०७६ आइतबार १९:३५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कुलेखानी जलविद्युत आयोजनाको उपकरण परीक्षण सुरु भएको छ ।

१४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको  पहिलो युनिटमा आइतबारदेखि पानी पठाएर उपकरण परीक्षण अर्थात नो लोड परीक्षण सुरु भएको छ । १४ मेगावाटमध्ये ७ मेगावाटको पहिलो युनिटको विद्युतगृहमा आइतबारदेखि पानी पठाएर उपकरण परीक्षण सुरु भएको आयोजनाले जनाएको छ । परीक्षण उत्पादन भने अर्को हप्तादेखि गरिने आयोजनाको दावी छ । 

यस्तो परीक्षणमा सुरुङबाट आएको पानीलाई पेनस्टक पाइप हुँदै विद्युत गृहमा रहेको टर्बाइनमा झारिन्छ र त्यसबाट जेनेरेटर, कन्ट्रोल प्यानेल लगायतका उपकरणहरु डिजाइन अनुसार चले-नचलेको हेरिन्छ । विद्युत् भने उत्पादन हुँदैन ।

गएको वैशाख २९ गते आयोजनास्थलमै पुगेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुलेखानी तेस्रोको काममा थप ढिलाइ भएमा ठेकेदारलाई कालोसूचीमा राख्ने चेतावनी दिनुभएको थियो । घिसिङले आयोजनास्थलबाटै भारतमा रहेका हुलास इन्जिनियरिङ एण्ड कन्ट्रक्सनका शरद गोल्छालाई फोन गरेर निर्माणमा लापरबाही गरेमा कालोसूचीमा राख्ने चेतावनी दिएपछि कामले गति लिएको थियो ।

आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित बहाव र खानीखोलाको थप पानी प्रयोग गर्नेछ । कुलेखानी तेस्रो, कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा निर्माण भइरहेको हो ।

आयोजनाको सुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ थियो भने निर्माण अवधि बढेसँगै आयोजनाको लागत ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने संशाेधित अनुमान छ ।
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया