उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित

 साउन १४, २०७६ मंगलबार ११:२२:८ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयबासीन्दा आन्दोलित बनेका छन् । नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामबाट निस्कने धुलोले स्वास्थ्यसहित जनजीवनमा नै समस्या पारेको भन्दै स्थानीयबासीन्दा आन्दोलित बनेका हुन् ।

चौधरी ग्रुपको चौधरी ग्रुपअफ इण्डष्ट्रियल उद्यान दुम्कौलीभित्र सञ्चालनमा रहेको भुसे बोइलरबाट अध्यधिक मात्रामा खरानी निस्कने गरेको र यसले जनजीवन नै प्रभावित भएको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् । स्थानीयवासीले उद्योगबाट निस्कने धुलो, धुँवाको उचित व्यवस्थापन गर्न उद्योगले पहल नगरेको भन्दै सोमबार उद्योग अगाडि एक घण्टा धर्नासमेत दिएका थिए ।

उद्योगले धुलो, धुँवा व्यवस्थापनका लागि कुनै पहल नगर्दासम्म दैनिकरूपमा एक घण्टा उद्योग अगाडि धर्ना दिने स्थानीयवासी सुकमाया विश्वकर्माले बताउनुभयो । उद्योगमा इन्धन उत्पादनका लागि बालिने भुसबाट खरानी उडेर घर, आँगन, करेसाबारी, खाना पकाउने भान्सासम्म पुग्ने गरेको विश्वकर्माले बताउनुभयो ।

‘कपडा सुकायो खरानीले पुरिन्छ, भान्सामा पकाएको खानासमेत सफा हुन पाउँदैन’, स्थानीय सुकमायाले भन्नुभयो, ‘यसको नियन्त्रणका लागि उद्योगले कुनै पहल नगर्दा धेरै समस्या भएको छ ।’  उद्योगबाट निस्कने खरानी  धुलोले असर पुर्‍याएको भन्दै आफूहरुले उद्योग प्रशासनलाई पटक–पटक यसको व्यवस्थापनका लागि आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएपछि आन्दोलित हुनुपरेको मिलन टोल सुधार समितिका अध्यक्ष चिनीबहादुर सुनारले बताउनुभयो ।

उद्योग प्रशासनसँग छलफल गर्दा अध्यधिक खरानी धुलो उड्ने समस्या समाधानका लागि पहल गर्ने मौखिक आश्वासन दिने गरेको भए पनि नियन्त्रणमा भने कुनै काम नभएको अध्यक्ष सुनारले बताउनुभयो । उद्योगबाट धुलोसँगै दुर्गन्धसमेत फैलिएको प्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले उद्योग प्रशासनले यसको व्यवस्थापनका लागि पहल नगरे थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

उद्योगले भने स्थानीयवासीले भनेजस्तो मापदण्डविपरीत धुलो निस्किने  नगरेको बताएको छ । उद्योगका जनसम्पर्क अधिकृत  रामचन्द्र धितालले स्थानीयवासीले भनेअनुसार उद्योगबाट धुलो निस्किने नगरेको बताउनुभयो ।  उद्योगले अहिले आधुनिक प्रविधिबाट ऊर्जा उत्पादन गर्ने गरेको तर सो प्रविधिको चार/पाँच महिनामा मर्मत गर्नुपर्ने र मर्मतको समयमा केही दिन भुसे बोइलर सञ्चालन गरिने गरेको उहाँले बताउनुभयो ।

मर्मतको समय केही दिन यसको सञ्चालन गरिए पनि यसबाट समेत सामान्य धुलो उड्ने गरेको तर मापदण्डविपरीत नै धुलो निस्कने नगरेको जनसम्पर्क अधिकृत धितालले बताउनुभयो । उहाँले यो अवधिमा  स्थानीयवासीलाई यसको पूर्वसूचना दिएर मर्मत गरिने गरेको बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया