खोला किनारको २० मिटर मापदण्डको फैसलामा सर्वोच्चले पुनरावलोकन...
मंसिर ७, २०८१ शुक्रबार
माेरङ - विराटनगरमा हरेक वर्ष झैँ कृष्ण जन्माष्टमीको भोलिपल्ट भव्य रूपमा राधाकृष्ण रथयात्रा निकालिएको छ । ५२ वर्षदेखि लगातार निकालिँदै आएको रथयात्रालाई दक्षिण एसियाकै ठूलो मानिन्छ।
रथयात्रा आयोजक समितिका संयोजक बाबुराजा ओझाले रथयात्रामा लाखौँको सहभागिता रहेको बताउनुभयाे । विभिन्न धार्मिक तथा जातीय झाँकीसहित राधाकृष्ण मन्दिर तिनपैनीबाट दिउँसो ३ बजेपछि निस्किएको रथयात्रा साँझ तीनपैनीमा रहेकाे राधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन भयाे।
रथयात्रा राधाकृष्ण मन्दिरबाट सुरु भएर मन्दिर परिसरसम्म ७ किलोमिटर दूरी ४ घण्टा ३० मिनेटमा तय भएको आयोजक समितिका संयोजक बाबुराज ओझाले जानकारी दिनुभयाे ।
भक्तजनका लागि रथयात्राको दर्शन र पूजा गर्न ४० ठाउँमा विश्राम दिने व्यवस्था मिलाइएको थियो । रथयात्रामा हेलिकप्टरबाट पुष्पवर्षा गरिएको थियाे ।
रथको अगाडि ३ किलोमिटरसम्म विभिन्न जातजाति, सम्प्रदाय, धर्म संस्कृति झल्कने झाँकी, भजन मण्डली र प्रदेश १ प्रहरीको सांगीतिक ब्यान्ड रहेको थियो । रथयात्रा मार्गमा विभिन्न लोक नृत्यसमेत प्रस्तुत भए ।
प्रदेश १ का प्रमुख डा गोविन्द तुम्बाहाङ, मु्ख्यमन्त्री शेरधन राई, संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले रथयात्राको शुभारम्भ गर्नुभएकाे थियाे । विभिन्न जात, भाषा, धर्म र सम्प्रदायको साझा फूलबारीका रुपमा प्रदेश १ लाई चिनाउनको विराटनगरको रथयात्राको छुट्टै महत्व रहेको छ ।
५२ वर्षअघि खटमा राखेर राधाकृष्णको प्रतिमा नगर परिक्रमा गराएर सुरु गरिएको र पछि ठूलो जनसहभागिताका साथ रथयात्राको परम्परा बसेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए। रथयात्रामा सहभागी हुन सीमावर्ती भारतीय क्षेत्रका सहरबाट समेत भक्तजनको घुइँचो लागेको थियो। सुनसरी र मोरङका विभिन्न भागबाट भक्तजन तथा झाँकी समूहको उपस्थिति थियो ।
तीनपैनीबाट सुरु हुने रथयात्रा प्रदेश १ को राजधानी विराटनगरको मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, शनिमन्दिर, बरगाछी चोक हुँदै फेरि तीनपैनीमा रहेकाे राधाकृष्ण मन्दिरमा पुगेर समापन हुने गर्दछ । रथ तान्दा दुःख नाशिएर सुख मिल्ने जनविश्वास छ।
यस्तो छ रथ
सुनौलो रंगको प्यागोडा शैलीको २२ फिट लामो, १४ फिट चौडा र १८ फिट अग्लो रथ बनाइएको छ । रथको अग्रभागको दायाँ र बायाँ गरी दुवैपट्टि ७५ फिट लामो रथ तान्ने लठ्ठा निर्माण गरिएको छ । रथको दायाँ लठ्ठा पुरुष र बायाँ महिला भक्तजनले तान्ने परम्परा छ ।
रथयात्राको इतिहास
१९८८ सालमा राधारकृष्ण मन्दिरको स्थापना भएदेखि खट यात्राबाट सुरु भएर २०२५ सालदेखि रथयात्राको निर्माण गरी कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्णको प्रतिमा राखेर रथयात्रा निकाल्ने परम्परा छ ।
मन्दिर निर्माणका लागि सज्जन पौडेल, सोमराज मुखिया पौडेल र कृष्णप्रसाद पौडेलले प्रदान गरेको जग्गामा १९८८ सालमा पण्डित इन्द्रलाल भट्टले मन्दिर स्थापना गरी खट यात्रा सुरु गरेका जानकारहरुकाे भनाइ छ ।
धर्म-संस्कृति पुरस्कार
रथयात्रा महोत्सवको अवसरमा १ लाख १ हजार राशिको पोखरमल धर्मसंस्कृति पुरस्कार विराटनगरको पाञ्चालीमा रहेकाे लक्ष्मीनारायण मन्दिरका स्वामी अच्युत प्रपन्नाचार्यलाई प्रदान गरिएको छ ।याे पुरस्कार रथयात्राको अवसरमा १३ वर्षदेखि निरन्तर प्रदान हुँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।