काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
दैलेख – बालविवाहको मुद्दामा धरौटी तिर्न नसक्दा चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ की १८ वर्षीया किशोरी एक महिनादेखि कारागारमा थुनिएकी छिन् ।
दैलेख जिल्ला अदालतले गएको साउन ८ गते मागेको ३५ हजार धरौटी बुझाउन नसक्दा उनी थुनामा परेको दैलेख कारागारका जेलर जीतबहादुर खत्रीले बताउनुभयो ।
उनलाई बिहे गरेर लग्ने आठबीस नगरपालिका–२ सिगौडीका ३९ रामप्रसाद जैसी भने आफ्नो हिस्साको ३५ हजार धरौटी बुझाएर त्यही दिन तारेखमा छुटेका थिए । बिहे गरेर लैजाने जैसी छुटे पनि किशोरी भने धरौटी तिर्न नसक्दा जेलमा थुनिनु परेको छ ।
गएको असार १४ गते बाल विवाह गरेको भन्दै किशोरीकी आमाले उजुरी दिएकी थिइन् । आमाको उजुरीको आधारमा प्रहरीले दुवैलाई असार १६ गते गिरफ्तार गरेर मुद्धा चलाएको थियो ।
चार छोराछोरीको बाबुले छोरीसँग विवाह गरेपछि उनीबाट छुटाउन परिवारले मुद्धा हालेको भए पनि अदातले धरौटी मागेपछि धरौटी तिर्न नसक्दा किशोरी जेल चलाउन भएकी हुन् । किशोरीको परिवारजन छाक टार्नै मुस्किल पर्ने अति विपन्न छन् ।
किशोरी विवाह गर्ने रामप्रसादका आफन्त भने किशोरीकी आमाको कारण थुनिनु परेकाले धरौटी तिर्ने जिम्मेवारी पनि आमाकै भएको भन्दै बसेका छन् । तर चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ की वडा सदस्य तुली कामीले भने धरौटी पनि विवाह गरेर लैजाने पुरुषले नै तिर्नु पर्ने बताउनुभयो ।
मुलुकी अपराध संहिताको दफा १७३ मा विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भनिएको छ । यसरी भएको विवाह स्वत रद्ध हुनुका साथै यस्तो विवाह गर्ने र गराउनेलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँ जरिबाना हुने व्यवस्था छ ।
१८ वर्षभन्दा मुनि उमेर भएकालाई सुधार केन्द्र वा परिवारको जिम्मा लगाइने भए पनि १८ वर्ष उमेर पुगेकाले किसोरीसँग धरौटी माग गरिएको जिल्ला अदालत दैलेखले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।