किसान आयोगले आठौं स्थापना दिवस मनायाे
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले समसामयिक प्रस्ताव पारित गरेको छ ।
मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले समसामयिक प्रस्ताव पारित गर्दै वर्तमान सरकार असफल भएको निष्कर्ष निकालेको छ । कांग्रेसले केपी ओली सरकारले आफ्नो कार्यकालको डेढ वर्ष पूरा गरी सक्दा नेपाली नागरिकलाई पुरै निराश बनाएको आरोप लगाएको छ ।
संस्थागत भ्रष्टाचार, राज्य संरचनाहरुको दुरुपयोग र राजनीतिकरण, महंगी, हत्या, हिंसा, बलात्कार, असुरक्षा र अशान्ति सामान्य कुरा भएको कांग्रेसले आरोप लगाएको छ ।
नेपाली नागरिकले लामो संघर्षपश्चात प्राप्त अधिकारहरुलाई खोस्ने, अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने, नागरिकको माझबाट स्वतःस्फूर्त रुपमा विकसित सामाजिक, सांस्कृतिक र धार्मिक संरचनाहरुलाई ध्वस्त गर्ने कोसिस भएको कांग्रेसले आरोप लगाएको छ ।
त्यस्तै परराष्ट्र सम्बन्धमा नेपालको राष्ट्रिय आवश्यकता र स्वार्थहरुको सशक्त प्रतिनिधित्व गर्न नसक्दा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको विश्वसनीयता खस्केको पनि कांग्रेसको आरोप छ ।
देशमा रोजगारीको अवसरहरु बढ्न नसकेको भन्दै समृद्ध र सुखी बनाउने विषय नारामा सीमित कांग्रेसको आरोप छ । वर्तमान कम्युनिष्ट सरकार माफिया र कमभन्दा कम समयमा बिनापरिश्रम सम्पत्ति आर्जन गर्ने झुण्डको वरिपरि सीमित भएको कांग्रेसको आरोप छ ।
हेर्नुहोस् नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले पारित गरेको समसामयिक प्रस्ताव
(१) वर्तमान कम्युनिष्ट सरकारमा आसिनहरुको संवैधानिक व्यवस्था र लोकतान्त्रिक मूल्य र मान्यतालाई अवमूल्यन गर्ने प्रवृत्ति बढ्दो छ । आफ्ना असफलता र कमजोरी छोप्न प्रधानमन्त्री लगायत सत्तासीन नेताहरु संवैधानिक व्यवस्था विरुद्ध षडयन्त्र हुन थालेकोले सबै पार्टी एक हुन आह्वान गर्दैछन् । तर जनताको वितृष्णा सरकारसँग भएको र जनताको असन्तुष्टिलाई सम्बोधन गर्ने कार्य पनि सरकारकै भएकोले यो जिम्मेवारीबाट सरकार पन्छिन नमिल्नेतर्फ पनि हामी सरकारलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।
अर्कोतिर लोकतान्त्रिक व्यवस्थालाई कमजोर गर्न चाहने शक्तिहरु सरकारको कमजोरी र जनताको सरकारप्रतिको वितृष्णालाई लोकतान्त्रिक पद्धतिको असफलता र कमजोरीको रुपमा चित्रित गर्न उद्दत छन् । नेपाली कांग्रेस पार्टी, यो सरकारका असफलता र कमजोरीहरुलाई लोकतान्त्रिक व्यवस्थाको कमजोरीका रुपमा चित्रित गर्ने सुनियोजित क्रियाकलापप्रति समयमै सचेत हुन पनि पार्टीपंक्ति र सम्पूर्ण लोकतन्त्रवादी समस्त नेपाली दाजुभाइ–दिदीबहिनीहरुलाई अनुरोध गर्दछ ।
(२) प्रधानमन्त्री के.पी. ओलीले देशको मन्त्रिपरिषद्को अध्यक्षता सिंगापुरबाट गरेको विषयलाई नेपाली कांग्रेस पार्टीले गम्भीरताका साथ लिएको छ । प्रधानमन्त्री या राज्यको संवैधानिक र अन्य निकायका प्रमुखहरुले विदेश जांदा दोस्रो व्यक्तिलाई कार्यभार दिएर जाने र आवश्यक निर्णयहरु कार्यभार प्राप्त गर्ने व्यक्तिको नेतृत्वमा हुने व्यवस्था छँदाछँदै मन्त्रिपरिषद्को कार्यविधि समेत फेरवदल गरी मन्त्रिपरिषद्को बैठक जस्तो गम्भीर विषयलाई अत्यन्त हल्कासँग लिइएको छ । यो देशको लोकतान्त्रिक पद्धति, राष्ट्रिय सुरक्षा र गोपनीयतासँग जोडिएको विषय समेत भएकोले सरकारको यो निर्णयप्रति हाम्रो गम्भीर आपत्ति छ । नेपाली कांग्रेस पार्टी सरकारको यो निर्णय तत्काल सच्याउन र आगामी दिनमा यस्तो अवांछित कार्य नगर्न माग गर्दछ ।
(३) वर्तमान सरकारको कार्यकालमा भएका वाइड वडी तथा न्यारो वडी हवाई जहाज काण्ड, सुनकाण्ड, चिनी काण्ड, बालुवाटार जग्गा काण्ड, विराटनगर जुटमिल काण्ड, मेलम्ची काण्ड, एनसेल कर प्रकरणमा भएको धाँधली र अनियमितता तथा राष्ट्रहित विपरीत विना प्रतिस्पर्धा निर्णय गरिएको बुढीगण्डकी आयोजना लगायत नियम, कानूनकोे ठाडो उल्लंघन गरी गरिएका तमाम निर्णयहरुको उच्च प्राथमिकताका साथ छानविन गरी दोषीमाथि कार्वाहीको प्रक्रिया अगाडि बढाउन सम्बन्धित संवैधानिक छानविन निकायहरुको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौँ ।
(४) यो सरकार संविधानका मर्म र भावना विपरीत निर्णय गर्न नियोजित रुपमा लागेको छ । संघीय संसद र प्रदेश सभामा सभामुख र उपसभामुख अलग–अलग पार्टीको हुनु पर्ने व्यवस्थाको यो सरकारले ठाडो उल्लंघन गरेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले जारी गरेको चिकित्सा शिक्षा विधेयक अनुरुप निर्णय गर्ने यो सरकारको प्रतिबद्धता बाबजुद षडयन्त्रमूलक ढंगबाट अर्को विधेयक संसदबाट जवर्जस्ती पारित गरिएको प्रकरणलाई हामीले विर्सेका छैनौं । वर्तमान सरकारले नेपाली कांग्रेस र उपत्यकामा जनताको व्यापक विरोध पछि गुठी सम्बन्धी विधेयक फिर्ता लिएको छ ।
अझै संसदमा प्रस्तुत संचार माध्यमहरुलाई संकुचित गर्ने र अभिव्यक्ति स्वतन्त्रतालाई सिमित गर्ने उद्देश्यका साथ प्रस्तुत मिडिया काउन्सिल सम्बन्धी विधेयक, सूचना प्रविधि सम्बन्धी विधेयक, स्वतन्त्र मानव अधिकार आयोगको अधिकारलाई कम गर्ने राष्ट्रिय मानव अधिकार सम्बन्धी विधेयकप्रति हाम्रो गम्भीर आपत्ति छ । यस्तै जनताको सम्पत्तिमाथिको अधिकारलाई खोस्ने भूमि सम्बन्धी विधेयकप्रति पनि हाम्रो गम्भीर आपत्ति छ ।
राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरुलाई द्रुततर निर्माण तथा विकासका नाममा सार्वजनिक खरीद ऐनको विपरीत प्रधानमन्त्रीमा अधिकार केन्द्रित गर्ने प्रस्तावित विधेयक तथा सेना परिचालन जस्तो संवेदनशील विषयलाई प्रधानमन्त्रीमा निहित गर्ने लगायतका संवैधानिक व्यवस्था र जन–अधिकारलाई कुण्ठित गर्ने विधेयकहरुप्रति पनि हाम्रो आपत्ति छ । यी सबै संविधानको भावना र मर्म विपरीतका विधेयकहरुलाई तत्काल सच्याउन यो बैठक माग गर्दछ ।
(५) पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले तराई–मधेश, महिला, आदिवासी जनजाति लगायतका जनताको सरोकारसँग जोडिएको विषयवस्तुहरुलाई समेटी प्रस्ताव गरिएको संविधान संशोधनको बाँकी प्रस्तावहरुलाई सरकारले पन्छाएको मात्र होइन आदिवासी जनजाति, मधेशी र महिलाको हकलाई संकुचन गर्ने काम गर्दैछ । उक्त संविधान संशोधनको प्रस्तावप्रति हामी प्रतिवद्ध छौँ । तर निर्वाचित हुन ठूला कुरा गर्ने र निर्वाचित भएपछि ती विषयहरुलाई बिर्सेर सत्तामा जान जे पनि गर्ने मधेश केन्द्रित दलहरुको द्वेध चरित्रप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । संवैधानिक व्यवस्थाको मर्म विपरीत अघि सारिएका नागरिकता सम्बन्धी विधेयकप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यी संविधान प्रदत्त अधिकारहरुलाई संकुचित गर्ने कुनै पनि क्रियाकलाप हामीलाई स्वीकार नहुने यो बैठक स्पष्ट गर्न चाहन्छ ।
(६) समावेशी र समानुपातिक सिद्धान्तका आधारमा संविधानमा उल्लेखित विभिन्न समूहहरू (क्लस्टर) को राज्य संरचनामा आरक्षणको व्यवस्था अनुसार कर्मचारीहरुलाई भर्ना गर्ने व्यवस्था गर्नु पर्नेमा सरकारले सो अनुसारको व्यवस्था सुनिश्चित नगरेकोले स्थानीय निकायहरुमा संविधानको मर्मलाई उल्लंघन हुने गरी भर्ना प्रक्रिया अगाडि बढाइएको छ । यसप्रति नेपाली कांग्रेस पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हामी सरकारसँग संवैधानिक व्यवस्था अनुसारको आरक्षण सुनिश्चित गराउने व्यवस्था तत्काल मिलाउन माग गर्दछौँ ।
(७) यो सरकार संविधानले व्यवस्था गरेको संघीय संरचना अनुरुप गरिएका अधिकार बाँडफाँडको प्रावधान विपरीत निजामति कर्मचारी नियुक्ति गर्ने व्यवस्था, प्रहरी प्रशासन संचालन गर्ने व्यवस्थालाई केन्द्रीकरण गर्दैछ । संघीय संरचना अनुसार प्रदेश र स्थानीय निकायहरुलाई दिइएको अधिकार संकुचन गर्ने कुनै पनि काम नगर्न सरकारसँग यो बैठक जोडदार माग
गर्दछ ।
(८) विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्थालाई कार्यान्वयनमा आवश्यक तयारीतर्फ सरकार गम्भीर नभएको सन्दर्भमा, आउँदो निर्वाचनमा विदेशमा बस्ने नेपाली नागरिकहरुले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न आवश्यक तयारी गर्न हामी सरकारसँग माग गर्दछौ ।
(९) वर्तमान नेपाल कम्युनिष्ट नेतृत्वको केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुमा मौलाउँदै गएको संस्थागत भ्रष्टाचार, सार्वजनिक सम्पतिहरुको चरम दुरुपयोग, जनतालाई दिनु पर्ने सेवा, सुविधा र विकास निर्माणमा देखिएको भेदभाव र ढिलासुस्ती तत्काल बन्द गर्न यो बैठक माग गर्दछ ।
(१०) गत सरकारहरुले बहुवर्षीय ठेक्काअन्तर्गत अगाडि बढेका र बढ्ने क्रममा रहेका विकास आयोजनाहरुलाई सरकारले रोकेको छ । यसले गर्दा देशभरि प्राथमिकताका आधारमा अगाडि बढेका विकास निर्माण आयोजनाहरु अलपत्र परेका छन् । सरकारको यो निर्णयप्रति हाम्रो घोर आपत्ति छ । हामी सरकारसँग बहुवर्षीय आयोजनाहरुलाई यथावत अगाडि बढाउन माग गर्दछौँ ।
(११) सार्वजनिक खरिद नियमको व्यवस्था विपरीत यो सरकारले विना प्रतिस्पर्धा ठूला–ठूला आयोजनाहरु आफूखुशी मनोमानी ढंगले अगाडि बढाउन थालेको छ । त्यस्तैगरी आफ्ना कार्यकर्ताहरु सम्मिलित गैर सरकारी संस्था, उपभोक्ता समिति मार्फत स्थानीय निकायदेखि केन्द्रसम्मका कार्यक्रमहरुमा ठूलो बजेट रकम प्रवाह गर्ने काम गरेको छ । त्यस्तै सार्वजनिक सम्पत्तिहरुको व्यापक दुरुपयोग बढेको छ । सरकारका यी क्रियाकलापप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी यो सरकारसँग यस्ता कानून विपरीतका कार्य तत्काल रोक्न माग गर्दछौँ ।
(१२) यो सरकार संविधानको मर्म र भावना विपरीत देशको सनातन धर्म, संस्कृतिलाई कमजोर गर्न उद्दत छ । होलि वाइन प्रकरण र प्रधानमन्त्रीले यसमा खेलेको भूमिका यसको ज्वलन्त उदाहरण हो । नेपाली कांग्रेस पार्टी हरेक नेपाली नागरिकको संविधानमा भएको व्यवस्था अनुसार आ–आफ्नो धार्मिक आस्था अनुसार धर्म मान्ने धार्मिक स्वतन्त्रताको सुनिश्चितासँगै सनातन धर्म संस्कृतिलाई संरक्षण गर्ने दायित्व राज्यको हुने व्यवस्थाको पालना गर्ने तर्फ सरकार गम्भीर हुन समेत यो बैठक माग गर्दछ ।
(१३) संवैधानिक निकायहरुलाई अवांछित दबाब सिर्जना गरी स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्न असहज परिस्थिति सृजना गर्ने, प्रशासन र सुरक्षा निकायहरुलाई व्यावसायिक र कानून अनुसार काम गर्न निरुत्साहित गर्ने र पार्टीकरण गर्ने प्रवृत्तिको तत्काल अन्त्य गर्न यो बैठक माग गर्दछ । निर्वाचन आयोगले मंसिरमा हुने उपनिर्वाचनको मिति घोषणा गरिसकेपछि पनि निर्वाचन हुने जिल्लाहरुमा निर्वाचन प्रक्रियालाई प्रभाव पार्ने उद्देश्य राखी कर्मचारी र सुरक्षाकर्मीहरुको व्यापक सरुवा गर्न थालेको छ । यो कामलाई तत्काल रोक्न पनि यो बैठक निर्वाचन आयोगसँग माग गर्दछ ।
(१४) जनताबाट निर्वाचित हुन चर्को राष्ट्रियताको कुरा गरेर सत्तामा आएको वर्तमान सरकार सत्तासीन भएपछि नेपालको राष्ट्रिय स्वार्थ र आवश्यकता अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विकसित गर्न नसकेकोले अन्तर्राष्ट्रिय सम्बन्धमा देशको साख घटेको छ । यस सन्दर्भमा देशको राष्ट्रिय स्वार्थ, प्राथमिकता र आवश्यकता अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध संचालन गर्न पनि यो बैठक सरकारको ध्यानाकर्षण गर्दछ ।
(१५) निर्मला बलात्कार र हत्याको दोषीलाई अहिलेसम्म सरकारले पत्ता लगाउन सकेको छैन । सरकार नै यो बलात्कार र हत्याका दोषीलाई संरक्षण गर्न लागिपरेको व्यापक आशंका छ । हामी दोषीलाई तत्काल न्यायको कठघरामा उभ्याउन सरकारसँग यो बैठक माग गर्दछ । देशमा बढ्दो असुरक्षा, हिंसा, हत्या, बलात्कारका घटनाहरु, हिंसात्मक द्वन्द्वको पुनरावृत्तिलाई अन्त्य गर्दै शान्ति सुरक्षाको प्रत्याभूति गर्न पनि यो बैठक जोडदार माग गर्दछ ।
(१६) उच्च र दोहोरो करको मारले देशमा लगानी बढ्न सकेको छैन । त्यस्तै आम जनता बढ्दो महंगी, काला बजारी र विषादीयुक्त, दुषित खाद्यवस्तुको कारण आक्रान्त छन् । अर्कोतिर देशका किसानहरुले उत्पादनको उचित मूल्य पाएका छैनन् र मलखादको अभाव झेलिरहेका छन् । पेट्रोलियम पदार्थमा खरिद मूल्य भन्दा उपभोक्तालाई बिक्री मूल्य अत्याधिक राखी उपभोक्ता माथि ठूलो बोझ थप्दैछ । यी विषयहरुप्रति यो बैकठको गम्भीर ध्यान आकृष्ट भएको छ । हामी सरकारसँग जनताका आम सरोकारको विषयप्रति गम्भीर हुन र त्यस अनुसार निर्णय लिन जोडदार माग गर्दछौँ ।
(१७) संविधानको मर्म र भावना, सुशासनको प्रत्याभूति र जनताका दैनिक सरोकारका विषयसँग सम्बन्धित माथि उल्लेखित विषयहरुलाई सरकारले गम्भीरताका साथ लिएन भने नेपाली कांग्रेस पार्टी यो सरकारका विरुद्ध आन्दोलनमा उत्रन बाध्य हुनेतर्फ पनि यो बैठक सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।