काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
धनुषा - संविधान दिवसको अवसरमा शुक्रबार देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तर तराई मधेसमा भने संविधानको विरोध र दिवसमा छुट्टा छुट्टै कार्यक्रम भएका छन् । शुक्रबार तराई मधेशमा कालो-उज्यालो दुवै दिन मनाइँदै छ ।
प्रदेश २ मा नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र विभिन्न संघसंस्थाले कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन् । प्रदेश सरकारका कर्मचारी, केही जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना लगायतले जनकपुरमा प्रभात फेरी कार्यक्रम गरी संविधान दिवस मनाएका छन् ।
जानकी मंन्दिरको प्राङ्गणबाट मुख्यमन्त्री कार्यालयका निमित्त प्रमुख सचिव शंकर सुवेदीको अग्रसरतामा बाजागाजासहितको प्रभातफेरि विभिन्न भागको परिक्रमा गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर झण्डोतोलन गरी सम्पन्न भएको छ । तर त्यसमा प्रदेश सरकारका कुनै पनि मन्त्रीहरुले भने सहभागिता जनाएनन् ।
यस्तै प्रदेश २ को महोत्तरीको बर्दिबास नगरपालिका, सर्लाहीको कविलासी नगरपालिका लगायत थुप्रै पालिकाहरुले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएका छन् ।
मधेस आन्दोलनको संघारमा भएको संविधान घोषणादेखि नै असन्तुष्ट मधेशवादी दल समाजवादी पार्टी भने तटस्थ बसेकाे छ । तर राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले भने प्रदेश २ को सबै जिल्लाको सदरमुकाम र शहरहरुमा विभिन्न विरोधको कार्यक्रम गरी कालो दिन मनाइरहेकाे छ ।
उसले प्रदेश २ को अस्थायी राजधानी जनकपुर, पर्साको सदरमुकाम वीरगञ्ज, बाराको कलैया, रौतहटको गौर, सर्लाहीको मलंगवा, महोत्तरीको जलेश्वर, सिरहा, सप्तरीको राजविराजलगायतको शहरहरुमा विराेध प्रदर्शन गरेकाे छ ।
विराेध प्रदर्शनमा प्रदेश २ सरकारमा सहभागि राजपा नेपालका मन्त्री र राज्यमन्त्रीका साथै सांसद, जनप्रतिनिधिसमेत सहभागी भए । उनीहरुले कालो झण्डा र ब्यानरसहित विरोध प्रदर्शन गर्दै कालो दिन मनाएका छन् ।
प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास मन्त्री नवलकिशोर साह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, राज्यमन्त्रीहरु सुरेश मण्डल, डिम्पल झा र अभिराम शर्मा लगायतका मन्त्रीहरु विरोध कार्यक्रममा विभिन्न स्थानमा सहभागी भए । उनीहरुले संविधानमा रहेको त्रुटिहरु संशोधन नभएसम्म प्रत्येक वर्ष संविधान दिवसको दिन कालो दिन मनाइरहने बताएका छन् ।
राष्ट्रिय जनता पार्टीले शुक्रबार साँझ १५ मिनेट संविधानको विरुद्धमा बल्याक आउट गर्न समेत आह्वान गरेको छ ।
समाजवादी पार्टीको नेतृत्वमा रहेको प्रदेश २ सरकारका मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीहरु भने न खुशीयाली, न विरोध दुवै कार्यक्रम नगरी मौन एवं तटस्थ बसेका छन्
तर संविधान दिवसको अघिल्लाे दिन बिहीबार साँझ भने प्रदेश २ सरकारको भवनमा दीपावली गरिएकाे थियो । मुख्यमन्त्री कार्यालयलगायत सबै मन्त्रालय र मन्त्रीका क्वार्टरहरुमा दीप प्रज्ज्वलन गरी दीपावली गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।