सम्झौताभन्दा चार महिनाअघि नै काम सकेर बोनस लिने ठेकेदार पनि छन्

 असोज १०, २०७६ शुक्रबार १२:५८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा – देशैभरिका निर्माण व्यवसायी कम्पनीहरुले सम्झौताअनुसार काम नगरेको भन्दै चर्काे आलोचना खेपिरहेका छन् । यस्तै संखुवासभामा पनि समयमै काम सम्पन्न नगर्ने आधा दर्जन बढी निर्माण कम्पनीहरुको धरौटी रकम जफत र जरिबाना तिरेका छन् ।  

तर संखुवासभाकै कुन्सालिङ/अरुण वरुण जेभी निर्माण कम्पनीले भने तोकिएको सम्झौता समयभन्दा चार महिनाअघि नै काम सम्पन्न गरेर हस्तान्तरण गरेको छ । संखुवासभामा लामो समयदेखि निर्माण व्यवसायको क्षेत्रमा काम गर्दै आएको कुन्सालिङ/अरुण वरुण जेभीले एक करोड ७९ लाख ५३ हजार चार सय ३५ रुपैयाँको बजेटमा खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा नयाँ स्वास्थ्य चौकी भवन निर्माण गरेर हस्तान्तरण गरेको हो । 

स्वास्थ्य चौकी भवनको ठेक्का संघीय आयोजना कार्यालय विराटनगरले गएको २०७५ साल असार २५ गते ठेक्का लगाएको थियो । ठेक्काअनुरुप विक्रम संवत २०७६ पुस २४ गते सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । ठेकेदार कम्पनी अरुण वरुण जेभीका निर्देशक मिगुर शेर्पाले सम्झौता अवधिभन्दा चार महिना अगाडि नै भवन निर्माण सम्पन्न गरेर बुझाउनुभएको हो । 

नयाँ भवनमा १३ वटा कोठा रहेका छन् । भवनको प्राविधिक सहयोग शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनकुटाले गरेको जेभीका निर्देशक शेर्पाले जानकारी दिनुभयो । उहाँले मानिसले साँच्चिकै काम गर्ने सोच बनाएर काम गर्‍यो भने समयभित्र नै सम्पन्न गर्न सकिने बताउनुभयो । 

यता जिल्लामा सडक, भवन निर्माणलगायत साना/ठूला सबै पूर्वाधारका क्षेत्रमा करोडौँ रुपैयाँको बजेट विनियोजन भए पनि ठेकेदार कम्पनीले समयमा काम नगरेका कारण त्यत्तिकै अलपत्र भइरहेको प्रशस्त भेटिन्छन् । धेरै आयोजना अलपत्र परेको अवस्थामा अरुणबरुण जेभी कम्पनीले उदाहरणीय काम गरेको हो । 

‘मैले केही महिनाअघि तेह्रथुम जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयको भवन २ करोड ६२ लाख रुपैयाँमा ठेक्का पारेको थिए । त्यो भवन पनि सम्झौता समयभन्दा सात महिना अगाडि नै सम्पन्न गरेर बुझाइसकेको छु’, निर्देशक शेर्पाले भन्नुभयो, ‘त्यसका साथै संखुवासभाको कोष तथा लेखा नियन्त्रक कार्यालय संखुवासभाको भवन पनि समयअघि नै बनाएकाले १० प्रतिशत बोनस प्राप्त गरे । सरकारको नीति राम्रो छ । सम्झौता गरेको समयभन्दा जति छिटो काम सक्यो, त्यहीअनुसार बोनस समेत दिन्छ ।’ 

सम्झौता समयअघि काम सम्पन्न गरेमा प्रतिदिन ० दशमलव ५ प्रतिशतले बढीमा १० प्रतिशतसम्म बोनस दिने प्रावधान छ । त्यस्तै सम्झौताभन्दा ढिलो काम गरेमा त्यहीअनुसार जरिबानासमेत लिने नियम रहेको शेर्पाले जानकारी दिनुभयो ।

निर्माण व्यवसायी संघ संखुवासभामा जम्मा ९३ वटा निर्माण व्यवसायी कम्पनीहरु दर्ता रहेका छन् । तीमध्ये जिल्लामा सबैभन्दा उत्कृष्ट काम गर्ने र १० प्रतिशत बोनस पाउने अरुण वरुण जेभीका मिगुर शेर्पा रहेकाले उहाँलाई प्रदेशमा सिफारिस गरेर पठाएको निर्माण व्यवसायी संघ संखुवासभाका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले सबै ठेकेदार कम्पनीहरुलाई एकै ठाउँमा दाँज्न नहुने बताउँदै केही ठेकेदार कम्पनीहरुले राम्रो काम गरिरहेको धारणा राख्नुभयो । 

काम नगर्ने निर्माण कम्पनीको धरौटी जफत र जरिबाना

संखुवासभामा रहेको तुम्लिङटार डिभिजन सडक कार्यालयले सम्झौता समयभित्र काम सम्पन्न नगर्ने सात वटा ठेकेदार कम्पनीलाई कारबाहीबापत जरिबाना र तीन वटा निर्माण कम्पनीको धरौटीबापतको तीन करोड ४१ लाख रुपैयाँ धरौटी जफत गरेको थियो । 

डिभिजन सडक कार्यालयका प्रमुख कुवेर नेपालीका अनुसार, ओएसिस इञ्जिनियर्स एण्ड बिल्डर्सबाट १७ लाख, कोसी एन्ड न्यौपाने निर्माण सेवाबाट १६ लाख ८० हजार, हरिहरि निर्माण सेवाबाट १४ लाख ५७ हजार, सगरमाथा लोहनी ब्रदर्स जेभीबाट दुई लाख ५० हजार, सर्वउद्धार सगरमाथा दोभान जेभीबाट ६ लाख ५० हजार, याक्थुहाङ निर्माण सेवालाई १४ लाख ५० हजार, विनायक निर्माणलाई १८ हजार र बज्र एण्ड सन्सबाट ११ हजार जरिबानाबापतको रकम असुल गरिएको छ । 

त्यसैगरी समयमा काम नगर्ने स्वच्छन्द निर्माण सेवाले न्यून काम गरेपछि २ करोड २१ लाख धरौटी रकम जफत गरिएको थियो । कान्छाराम एनबी जेभीसँग एक करोड नौ लाख र मना कन्स्ट्रक्सनसँग ११ लाख धरौटी जफत गरिएकाे थियो ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया