पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डौ – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० बडरेझिल्केस्थित भित्री सडकमा सिपाटारबाट काठमाण्डौ आउँदै गरेको बा २ ख २७१५ नम्बरको यात्रुबाहक बस गएको असोज २४ गते दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाए । त्यसको एक महिना नपुग्दै सिन्धुपाल्चोककै चौतारा साँगाचोकगढी नगरपालिका–९ मा ६७ यात्रु बोकेर दोलखाबाट काठमाण्डौ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस अनियन्त्रित भएर सुकुटे नजिक सुनकोशी नदीमा खस्दा १८ जनाले ज्यान गुमाए ।
कात्तिक १५ गते म्याग्दीको मालिका गाउँपालिकामा भएको अर्काे दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन् । चाडबाडको समयमा तीन ठूला घटनामा ३३ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले पछिल्लो समयमा भएका यी प्रतिनिधि घटनाको प्रमुख कारण चालकको कमजोरी ठहर्याएको छ ।
ट्राफिक नियमसम्बन्धी चेतनामूलक कार्यक्रम जिल्ला जिल्लामा गरिए पनि सवारी दुर्घटना र मानिसको ज्यान जाने क्रम भने घटेको छैन । अझ चाडबाडको समयमा घटना बढी हुने गरेको छ । एक त यात्रुको चापका कारण छिटो घर जाने हतारो र अर्काे चालकले कमाउने अवसर छोप्न खोज्दा दुर्घटना हुने गरेको प्रहरीको विश्लेषण छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमसँगै मापसे जाँच, सवारी नियम उल्लङ्घनविरुद्ध ट्राफिक प्रहरीले कारवाही अभियान चलाउँदै दैनिक कक्षा लिने गरे पनि तथ्याङ्कमा भने दुर्घटना न्यूनीकरण हुन सकेको देखिँदैन । नेपाल प्रहरीको अभिलेखमा सवारी दुर्घटनाका कारण हरेक दिन सात जनाले ज्यान गुमाउने गरेको छ । झण्डै ७५ प्रतिशत दुर्घटनामा चालकको लापरवाही देखिएको छ ।
‘दुर्घटनामा दैनिक सातदेखि आठ जनाको ज्यान जाने गरेको छ, दुर्घटनाको सबैभन्दा ठूलो कारण चालकको लापरवाही हो, त्यसपछि तीव्र गति छ’, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले भन्नुभयो । उहाँका अनुसार देशभर दैनिक साना ठूला गरेर ५५ देखि ६० वटा सवारी दुर्घटना हुने गरेको र दुर्घटनाबाट औसत १२ जना गम्भीर घाइते र २७ जना सामान्य घाइते हुने गरेका छन् ।
प्रहरीको अभिलेख अनुसार आव २०७३÷७४ मा दुई हजार ३८४ (दैनिक औसत ६.५३) जनाले ज्यान गुमाएका थिए । आव २०७४÷७५ मा सवारी दुर्घटनाका कारण दुई हजार ५४१ (दैनिक औसत ६.९६) जना र आव २०७५÷७६ मा त्यो सङ्ख्या बढेर दुई हजार ७८९ (औसत ७.६४ जना) पुग्यो । यसमा चार हजार बढी गम्भीर घाइते भएका छन् ।
चालू आर्थिक वर्षको साउनदेखि असोजसम्म मात्रै दुर्घटनाबाट ४१४ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । दशैँ र तिहारका बेला मात्रै सवारी दुर्घटनामा १३९ जनाले ज्यान गुमाएका छन् ।
मुख्यतः पहिलोमा चालकको लापरवाही, त्यसपछि तीव्र गति, धेरै यात्रु राख्ने प्रवृत्ति, यान्त्रिक गडबडी, मापसे, चालकले बढी समय गाडी चलाउनु र सडकको दुरावस्था रहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल दुर्घटनामा न्यूनीकरणमा विभिन्न उपाय अपनाइए पनि चालक आफैँमा चेतना नआउँदासम्म चुनौती कायम रहने बताउनुहुन्छ । साउनयता मात्रै काठमाडौँमा २९ हजार चालकलाई कक्षा लिएको छ । यद्यपि तथ्याङ्कमा कमी देखिन सकेको छैन ।
दुर्घटनाका कारण विश्लेषण गर्दा १३ हजार सवारी दुर्घटनामा झण्डै १० हजार चालकको लापरवाही देखिएको प्रहरीले जनाएको छ । ढकालले काठमाण्डौ उपत्यकामा भने मानवीय क्षतिका हिसाबले दुर्घटना न्यूनीकरण भएको जिकिर गर्नुभयो । सवारी साधनका हिसाबले सबैभन्दा बढी दुर्घटना मोटरसाइकल हुने गरेको छ ।
गएको वर्ष कूल २२ हजार सवारी दुर्घटनामा आठ हजार ५५४ वटा मोटरसाइकल दुर्घटना भएको थियो । जीप कार छ हजार दुर्घटनामा परेको थियो । दुई हजार ६३३ बस दुर्घटना भएको प्रहरीको अभिलेखमा उल्लेख छ ।
प्रहरी नायब महानिरीक्षक पोखरेल चालक, यातायात व्यवसायी र यात्रुले सवारी नियम पालना गरेमात्रै पनि धेरै दुर्घटना आफैँ रोकिने जिकिर गर्नुहुन्छ । प्रहरीको अभिलेखमा पछिल्लो तीन आवमा भएको ३४ हजार ५०९ सवारी दुर्घटनाबाट सात हजार ७१४ जनाले ज्यान गुमाएका छन् । जसमा २५ हजार ८६७ दुर्घटना चालकको लापरवाही देखिएको प्रहरीले जनाएको छ । यात्रुको कमजोरी भने न्यून रहेको देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।