काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
भक्तपुर – चारदिने नेपाल भ्रमणमा आउनु भएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले भक्तपुरको ऐतिहासिक एवं पुरातात्विक सम्पदाहरुको अवलोकन भ्रमण गर्नुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै हेलिकप्टरबाट भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा अवतरण गर्नुभएको उहाँलाई भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलगायतले स्वागत गर्नुभएको थियो ।
सल्लाघारीबाट दूधपाटी हुँदै भक्तपुर दरबार स्क्वायरसम्म कारगेडमा आउनुभएको थियो । भक्तपुर दरबारस्क्वायरमा उहाँलाई भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले स्वागत गर्नुभएको थियो ।
भ्रमणका क्रममा उहाँले भक्तपुर दरबार क्षेत्र, राष्ट्रिय कला संग्रहालय, पचपन्ने झ्याले दरबार, गोल्डेन गेट, शिव मन्दिरको अवलोकन गर्दै तौमडीस्थित पाँचतले मन्दिर परिषरमा पुग्नु भएको थियो । दरबार स्क्वायरमा नगरपालिकाले प्रस्तुत गरेको माक प्याख नाच, तौमढीमा प्रर्दशन गरेको देवी नाच, ख्याक नाचलगायत विभिन्न नाचहरु निकै अभिरुचिका साथ उहाँले अवलोकन गर्नुभयो ।
उहाँले सखिमना पूर्णिमा (कात्तिक पूर्णिमा) को अवसरमा तौमढीमा विभिन्न गेडागुडीको समिश्रणबाट बनाइएको कला आकृतिको अवलोकनसमेत गर्नुभएको थियो । हमिदसँगै बङ्गलादेशका प्रथम महिलासहित विभिन्न ५० जनाको प्रतिनिधि मण्डलले भक्तपुरको भ्रमण गर्नुभएको थियो ।
भक्तपुरका बासिन्दालाई हात हल्लाएर र नमस्कार गरेर अभिभादन गर्नुभएका राष्ट्रपति हमिदले भक्तपुरका कला सम्पदाहरुको अवलोकन गर्नुभएको थियो ।
अवलोकनका क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र पर्यटन सूचना केन्द्रका अधिकृत दामोदर सुवालले बङ्गलादेशका राष्ट्रपति हमिदलाई भक्तपुरका कला र संस्कृतिका बारेमा जानकारी गराउनुभयो । त्यसक्रममा हमिदलाई भक्तपुरको जुजु धौले स्वागत र भक्तपुरको प्रसिद्ध ‘मयूर झ्याल’ उपहार प्रदान गरी बिदाइ गरिएको थियो ।
भ्रमणका क्रममा भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठ र बङ्लादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रको सहभागिता रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।