काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
चितवन – भारतबाट विवाह गर्न सौराहा आउनेको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा दुलाहा दुलहीसहित सबै बन्दोबस्तीका सामान बोकेर भारतीयहरू विवाहका लागि आउने क्रम बढेको हो ।
सौराहाका कुनै एक होटल दुईदेखि तीन रातका लागि पूरै भाडामा लिएर उनीहरु विवाह गर्ने गर्दछन् । साना होटल भए एउटा होटमा दुलाहा र अर्को होटलमा दुलही बसेर बाजागाजाका साथ जन्ती गएर विवाह गर्ने क्रम बढेको छ । ठूला होटल ‘बुक’ गर्दा एउटै होटलमा दुलाहा दुलही राखेर दुलाहालाई बजार परिक्रमा गरी रमाइलो गर्ने गर्दछन् ।
होटल सेभेन स्टार र बेष्ट उडका सञ्चालक माधव दुवाडीका अनुसार नोभेम्बर महिनामा मात्र दुई होटलमा दुई÷दुईवटा विवाहको ‘बुकिङ’ रहेको छ । सोमबार सेभेन स्टारमा भारतीय विवाह भएको भन्दै उहाँले दुई वा तीन दिन होटल बुक गरी विवाह गर्ने गरेको बताउनुभयो । एउटा विवाह गर्दा होटलको बगैँचा, सभाहल, कोठा र पानी प्रयोग गरेवापत रु पाँच लाख लिने गरेको दुवाडीको भनाइ छ ।
नअट्नेहरू बाहिर होटलमा बस्ने गर्दछन् । एउटा विवाहमा चार सय हाराहारी आउने गर्दछन् । खानादेखि बाजागाजासम्म सबैको तयारी समूह भारतबाटै आउने गर्दछन् । होटल वाइल्डलाइफ क्याम्पका सञ्चालक शङ्कर सैँजुको होटलमा गएको वर्ष एउटा विवाह भएकामा यस वर्ष पनि अर्को विवाह भएको छ । यस वर्ष पट्नाबाट आएका एक जोडीले विवाह गरेको उहाँले जानकारी दिनुभयो ।
अन्य होटलहरूमा पनि विवाहका लागि बुकिङ भइरहेको छ । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका सँैजुले यसबाट अन्य पर्यटकहरूलाई असर नपरोस् भन्नका लागि सावधानी अपनाइएको बताउनुभयो । वन र वन्यजन्तुमा रमाउन पर्यटक आउने भएकाले विवाहका कारण असर नपरोस् भन्नका लागि आफूहरू सचेत रहेको सँैजुको भनाइ छ ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार गएको वर्षभन्दा यो वर्ष विवाह गर्न आउनेको सङ्ख्या बढेको छ । गएको वर्ष सात÷आठवटा जति विवाह भएको भए पनि यो वर्ष त्यति विवाह भइसकेका छन् । भारतीय सीमा क्षेत्रबाट बढी विवाह गर्न आउने गरेको पाइएको छ । सो क्षेत्रमा मदिरा सेवन गर्न नपाउने भएपछि यहाँ आउने क्रम बढेको हो । मासु र मदिरा सेवन गरेर रमाइलोका साथ विदेशमा गएर कम खर्चमा विवाह गर्न चाहनेहरूका लागि सौराहा उपयुक्त थलो बनेको उहाँले बताउनुभयो ।
यस वर्ष धमाधम होटलहरूमा विवाह र बुकिङ हुने क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो । यसरी विवाह गर्न आउनेहरू सौराहामा हुने पर्यटकीय गतिविधिहरूमा सहभागी हुने गरेका छन् । यस क्षेत्रका पर्यटन व्यवसायीले गएका दुई वर्ष भारतीय सीमा क्षेत्रका शहरहरूमा पुगेर यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गरेका थिए ।
पर्यटकको सङ्ख्या घट्यो
विवाह गर्न भारतीय आउने क्रम बढे पनि नियमित रूपमा आउने पर्यटकको सङ्ख्या घटेपछि व्यवसायी निरास बनेका छन् । क्षेत्रीय होटल सङ्घका अध्यक्ष भट्टराईका अनुसार गएको वर्ष यो समयमा सौराहाका होटलका कोठा ७० प्रतिशत हाराहारी बुकिङ हुने गरेको भए पनि यस वर्ष ४० प्रतिशत हाराहारी मात्र भरिएका छन् । दशैँ र तिहार पछि नोभेम्बर महिना पर्यटकहरू धेरै आउने गर्दथे ।
भट्टराईका अनुसार यसरी आएका पर्यटकहरूमध्ये आधाभन्दा बढी चिनियाँ रहेका छन् । के कारणले पर्यटक घटेको हो बुझ्न नसकेको उहाँको भनाइ छ । वन र वन्यजन्तुसँग सम्बन्धित सँगै अन्य पर्यटकीय गतिविधि बढाउनुपर्ने देखिएको भट्टराईले जानकारी दिनुभयो । डिसेम्बर महिनासँगै विदेशीहरू आफ्नै देशमा क्रिसमस र नयाँ वर्षका लागि रमाउने भएकाले यहाँ कम आउने गर्दछन् ।
सौराहामा ११० होटल रहेका छन् । यी होटलको क्षमता पाँच हजार ५०० भन्दा बढीे छ । चितवन राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ वन्यजन्तुको अवलोकन, डुङ्गा शयर, थारू संस्कृतिमा रमाउनका लागि यहाँ पर्यटक आउने गर्दछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Tapeshwar shukal
Nov. 19, 2019, 12:44 p.m.Namaskar