जिउँदै छाउगोठ, मर्दै महिला

 मंसिर १८, २०७६ बुधबार १०:५८:२९ | इन्द्रसरा खड्का
unn.prixa.net

काठमाण्डौ – अछामको साँफेबगर नगरपालिका– ४ की पार्वती बुढाको शनिबार राति छाउगोठमै ज्यान गयो । उहाँ छाउ भएको तीन दिन भएको थियो ।

परिवारका अनुसार शनिबार दिनभर पार्वती खेतबारीको काममा व्यस्त हुनुहुन्थ्यो । बेलुकी ६ बजे घर फर्कनुभयो । जेठानी डम्मरा बुढा रावतले खाना दिनुभयो । खाना खाइसकेपछि पार्वती ७ बजेतिर घरबाट १ सय मिटर टाढा रहेको छाउगोठमा बस्नुभयो ।

दिनभर काम गरेर छाउगोठमा सुत्न गएकी पार्वती बिहान अबेरसम्म नउँठ्दा आफैँ उठाउन गएको उहाँकी जेठानी डम्मराले बताउनुभयो । 

‘सधैँ छिटै उठ्थी, बोलाउँथी, आज अहिलेसम्म किन उठिन भन्दै बोलाएँ, बोलिनन्, अनि सबैलाई बोलाएँ, ढोका फोरेर हेर्दा त घोप्टो परेको अवस्थामा शव देख्यौं’ डम्मराले भन्नुभयो ।

राम्रोसँग बस्न, उठ्न पनि नमिल्ने सानो छाउगोठमा पार्वती निसासिएर मरेको हुनसक्ने स्थानीयले आशंका गरे पनि पोष्टमार्टमको रिपोर्ट आएको छैन ।

वडा अध्यक्ष कृष्ण बुढाका अनुसार पार्वती कुनै बिरामी नभएकाले चिसोको समयमा रातभर आगो बाल्दा निसास्सिएर ज्यान गएको हुन सक्ने ठम्याइ छ ।

पार्वतीको बिहे भएको डेढ वर्ष मात्रै भएको थियो । पार्वतीका श्रीमान करन भारतमा काम गर्नुहुन्छ । उहाँ भारत गएको ६ महिना भएको छ ।

१० वर्षमा १४ जनाको छाउगोठमै मृत्यु, नाम मात्रैको अभियान

अछाममा मात्रै १० वर्षको अवधिमा १४ जना महिलाको छाउगोठमै ज्यान गइसकेकोे छ । महिनावारी भएको बेला छाउगोठमा बसेका महिलाको सर्पले टोकेर, निसासिएर, पोलिएर लगायत विभिन्न कारणले ज्यान जाने गरेको छ । 

मुलुकी ऐनले छाउपडीलाई गैरकानुनी घोषणा गरेको छ । तर यो कुप्रथा अझै कायम रहेको छ ।

छाउगोठमा बसेकै कारण महिलाको ज्यान जान थालेपछि अछाम जिल्लामा छाउगोठ मुक्त अभियान चलाइएको पनि लामो समय भयो । छाउपडीकै नाममा विभिन्न संघसँस्थाले काम पनि गरिरहेका छन् ।

४ नगरपालिका र ६ वटा गाउँपालिका रहेको अछाममा ९१ वटा वडा छन् । जसमध्ये ३१ वटा वडालाई छाउगोठमुक्त घोषणा गरिएको छ । छाउगोठमुक्त वडामै महिलाको ज्यान जाँदा यो अभियानको पनि चारैतिरबाट आलोचना हुँदै गएको छ ।

साँफेबगर नगरपालिकाकी उपप्रमुख बिर्मलादेवी बड्थापाले महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला यस्तो घटना हुनु दुःखद भएको बताउनुभयो । नगरपालिकाले छाउपडी प्रथाबिरुद्ध वडा वडामा कार्यक्रम गरे पनि महिलाले छाउगोठमै ज्यान गुमाएको घटनाले अछामकै बदनाम भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘छाउपडीकै नाममा हामी घरदैलो अभियान चलाइरहेका छौं, तर महिला छाउगोठमै मर्दैछन् । हामीले जति चेतना जगाउँदा पनि केही नगरे जस्तो भयो ।’

उहाँले थप्नुभयो, ‘अहिलेका महिला घरभित्रै बस्न तयार छन् । तर घरमा रहेका बुढापाकाले यो कुरा मान्दैनन् । जसले गर्दा निकै समस्या छ ।’

नगरपालिकाले नगरभित्र रहेका १४ वटै वडामा छाउपडी सम्बन्धी बनेको ऐनबारे पनि जनचेतना जगाइरहेको उहाँले बताउनुभयो । अहिले वडा नम्बर २, १० र १३ मा छाउगोठ भत्काउने अभियान चलिरहेको छ । 

आफ्ना छोराबुहारीलाई छाउगोठमा बस्न बाध्य पार्ने जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता र बालबालिकाको पोषण भत्ता कटौती गर्ने नगरपालिकाले तयारी पनि गरेको छ । अहिलेसम्म छाउपडी सम्बन्धी न्यायिक समितिमा पनि कुनै उजुरी नपरेको उपप्रमुख बढ्थापाले बताउनुभयो ।

छाउपढी गोठमा ज्यान गुमाउने महिला :

पार्वती बुढा रावत– सिद्देश्वर
पार्वती बुढा – तुर्माखाद
गौरी बुढा – तुर्माखाद
रोशनी तिरुवा – गाज्रा
डम्मरा उपाध्याय – तिमिल्सैन
शर्मिला भूल – रिडिकोट
लक्ष्मी बुढा – ढकारी
झुमादेवी शाही – बारला
डिक्रादेवी ढकाल – वीरपथ
रतनदेवी बिक – पायल
झुप्री ढोली – पायल
पार्वती दमाई – पायल
हंसा जैशी – नाडा
हंसदेवी जोशी – रानीवन

के भन्छ कानून ?

सर्वोच्च अदालतले २०६२ वैशाख १९ गते छाउपडीलाई ‘कुप्रथा’का रूपमा व्याख्या गर्दै यसको अन्त्य गर्न सरकारलाई आदेश दिएको थियो । त्यसपछि सरकारले छाउपडी प्रथा उन्मुलनसम्बन्धी निर्देशिका, २०६४ जारी गर्‍यो ।

नयाँ मुलुकी अपराध संहिता २०७४ मा पनि रजस्वला वा सुत्केरी भएकी महिलालाई छाउगोठमा राख्न नपाइने व्यवस्था गरिएको छ ।

संहिताको दफा १६८ को उपदफा ३ मा भनिएको छ, ‘महिनावारी र सुत्केरी अवस्थामा महिलालाई कुनै किसिमको भेदभाव गर्नु हुँदैन ।’ उपदफा ४ मा यस्तो किसिमको भेदभाव गर्नेलाई तीन महिना कैद र तीन हजार जरीवाना वा दुवै सजायको व्यवस्था गरिएको छ ।

त्यस्तै, सरकारी कर्मचारीले यस्तो अपराध गरेमा थप तीन महिना कैदको व्यवस्था उपदफा ५ मा गरिएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया