राष्ट्रियसभामा नयाँ अनुहार : नेकपाका १६ र राजपाका २ जना विजयी

 माघ ९, २०७६ बिहीबार २०:१७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय सभा चुनावमा नेकपाले उठाएका सबै उम्मेदवार विजयी भएका छन् । 

प्रदेश २ मा राजपासँग २/२ सिट भागबण्डा गर्दै चुनावमा होमिएको नेकपाले अन्य प्रदेशमा भने एकल उम्मेदवारी दिएको थियो । नेकपाले चुनावमा उठाएका १६ जना उम्मेदवार नै विजयी भएका हुन् । 

जसअनुसार प्रदेश १ मा महिलातर्फ इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल विजयी हुनुभयो । प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवान विजयी हुनुभयो । 

प्रदेश २ मा नेकपाले राजपासँग तालमेल गरेर चुनाव लडेको थियो । जसमध्ये महिला र दलित नेकपाले लिएको थियो भने अल्पसंख्यक र अन्यतर्फको उम्मेदवार राजपाले उठाएको थियो । प्रदेश २ मा गठबन्धन तर्फका राजपाका उम्मेदवार शेखर प्रसाद सिंह र मृगेन्द्रकुमार सिंह विजयी हुनुभयो । 

प्रदेश २ मा राजपालाई २ सिट र आफूलाई २ सिट राखेर नेकपाले राजपासँग तालमेल गरेको हो । यस्तै प्रदेश ३ बाट महिलामा गङ्गा बेलबासे र अन्यमा वेदुराम भुसाल विजयी हुनुभयो । 

गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ विजयी हुँदा महिला तर्फ भगवती न्यौपानेले जित हात पार्नुभयो । प्रदशे ५ मा महिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसङ्ख्यकतर्फ जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराई विजयी हुनुभएको छ । 

प्रदेश ६ मा महिलाबाट सुनिता बिसी र अन्यबाट मायाप्रसाद शर्मा विजयी हुँदा सुदूरपश्चिम प्रदेशबाट महिलामा शारदा भट्ट र अन्यबाट तारामान स्वाँरले जित हात पार्नुभयो ।  

मतपरिणाम सार्वजनिक भएसँगै राष्ट्रिय सभामा प्रदेश १ बाट तीन जना, प्रदेश २ बाट चार जना, वागमती प्रदेशबाट दुई जना, गण्डकी प्रदेशबाट दुई जना, प्रदेश ५ बाट तीन जना, कर्णाली प्रदेशबाट दुई जना र सुदूरपश्चिम प्रदेशबाट दुई जना गरी कुल १८ जना छानिएका हुन् ।  

नेकपालाई फाइदै फाइदा, कांग्रेस घाटामा

प्रदेश २ बाहेक अरु प्रदेशमा नेकपा एक्लैको स्पष्ट बहुमत भएकाले अन्य प्रदेशमा एक्लै चुनावमा होमिएको थियो । प्रदेश २ मा भने आफ्नो स्पष्ट बहुमत नहुँदा राजपासँग तालमेल गरेर चुनावमा गएको हो । नेकपाले छनौट गरेका उम्मेदवारहरुको जित निश्चित भए पनि चुनावमार्फत औपचारिकता दिने काम मात्रै भएको हो ।  

राष्ट्रिय सभामा रहेका कांग्रेसका १३ जनामध्ये सात जना दुई वर्षे कार्यकाल सकेर बाहिरिने भएका छन् । सात जनालाई बिदा गर्दा कांग्रेसले एक सिटमा पनि जित हात पार्न सकेन । यस्तै समाजवादी पार्टीका दुई जनामध्ये एक जना बिदा भएका छन् । उसले पनि बिदा भएर जाने सिटमा पूर्ति गर्न सकेन ।  

यो चुनावबाट  कांग्रेस र समाजवादीका सदस्य बिदा हुँदा नेकपालाई भने फाइदा भएको छ । नेकपाका आठ जना दुई वर्षे कार्यकाल सकेर बिदा हुँदै गर्दा त्यसमा आठ जना थपिएर १६ जना नयाँ अनुहार प्रवेश गर्ने भएका हुन् । राजपाले भने आफ्नो गुम्न लागेको दुई वटा सिट नेकपासँगको तालमेलबाट जोगाएको हो । उसको पनि नयाँ अनुहार राष्ट्रिय सभामा प्रवेश गरेका छन् । 

राष्ट्रिय सभाका १८ सिटमा भएको चुनावमा कांग्रेस र समाजवादीले एक सिट पनि जित्न सकेनन् । ५९ सदस्यीय राष्ट्रिय सभामा १३ सिट पाएको कांग्रेसलाई चिठ्ठा तान्दासमेत घाटा लागेको थियो ।

१९ जनाले आ–आफ्नो क्लस्टरमा चिठ्ठा तान्दा सात जना कांग्रेसका सांसद दुई वर्षे कार्यकालमा परेका थिए । चुनावको परिणाम सार्वजनिक भएसँगै कांग्रेस अब राष्ट्रिय सभामा ६ सिटमा खुम्चिन पुगेको छ ।  

कुन दलबाट को बाहिरिए

पहिलो दुई वर्षको कार्यकाल पूरा गरेर बाहिरिनेमा सत्तारुढ नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली हुनुहुन्छ । 

यस्तै कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईँसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडा बाहिरिनुभएको छ ।  

राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवान पनि बाहिरिनु भएको छ । 

राष्ट्रिय सभा सदस्यको पहिलो पटक एक तिहाई सदस्यको पदावधि दुई वर्ष, अर्काे एक तिहाईको चार वर्ष र बाँकी एक तिहाईको छ वर्ष हुने व्यवस्था छ ।

राष्ट्रपतिबाट मनोनित हुनुभएका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल पनि यही अवधिमा सकिँदै छ । तर खतिवडालाई फेरि पनि सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने सम्भावना रहेको नेकपा स्रोतले जनाएको छ ।  

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया