त्रिभुवन आर्मी क्लब ‘ए’ भिडिजन लिगको शीर्ष स्थानमा

 माघ १४, २०७६ मंगलबार २०:५७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - त्रिभुवन आर्मी क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

कप्तान भरत खवासको निर्णायक गोलको मद्दतमा जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै विभागीय टोली आर्मी शीर्ष स्थानमा उक्लिएको हो । 

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा अन्तिम १५ मिनेट बाँकी रहँदा आर्मीले गोल गर्दै लिगको शीर्ष स्थानमा फर्किएको हो । दोस्रो स्थानको मच्छिन्द्र भन्दा एक अंकले अगाडि रहँदा आर्मी २० अंक जोड्न सफल भएको छ । 

पहिलो हाफ गोलरहित बराबरी खेलको आर्मी दोस्रो हाफमा मात्र गोल गर्दै अग्रता लिन सफल भएको हो । पहिलो हाफमा जावलाखेलले उत्कृष्ट खेल्दै आर्मीमाथि दबाब राखे पनि पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा झिनो अन्तरले अंक सुम्पिन बाध्य भयो । 

७५ औँ मिनेटमा भरतले गोल गर्दै टोलीको जितलाई सुनिश्चित गरेका थिए । नवौ‌ चरणको खेल चलिरहँदा साविक विजेता मनाङ मर्स्याङ्दी र मच्छिन्द्रबीचको समीकरणले  लिगको उपाधि होड रोमाञ्चक बन्दैछ । 

मच्छिन्द्र समान ९ खेलबाट १९ अंकका साथ तालिकाको दोस्रो स्थानमा अटाउँदा एक कम खेलेको मनाङ १६ अंकका सात तालिकाको तेस्रो स्थानमा छ । मनाङले बुधबार संकटाको सामना गर्न बाँकी छ ।

लिग अन्तर्गत मंगलबारै सम्पन्न दिनको पहिलोे खेलमा सरस्वतीले हिमालयन शेर्पामाथि नाटकीय ४–३ को जित निकालेको छ । आठौं चरणको चरणको खेल सकिँदा सम्म मात्र दुई गोल गरेको सरस्वतीले मंगलबार मात्र चार गोल गर्दै हिमालयन शेर्पामाथि ४–३ को  जित निकाल्न सफल भएको हो । 

यसअघि सरस्वतीले फ्रेन्ड्स र एपीएफविरुद्ध एक/एक गोल गरेको थियो । मंगलबारको जितसँगै सरस्वतीले जारी लिगमा पहिलो जित निकालेको छ । यस्तै एक खेलमा बराबरी खेलेको सरस्वतीको ४ अंक भएको छ । 

सरस्वतीले ब्रिगेड ब्वाइजसँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको थियो । सरस्वतीको जितमा काजिम बुसारीले दुई गोल गर्दा विनोद केसी र मनिष थापाले समान एक/एक गोल गरे । यस्तै हिमालयनका लागि आशिष गुरुङ, रबि थापा मगर र विजय श्रेष्ठले एक/एक गोल फर्काए ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया