तालिबान युद्धबन्दी लडाकूलाई अहिल्यै छाड्न सकिन्न : अफगान राष्ट्रपति

 फागुन १९, २०७६ सोमबार ५:५७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले सात दिने आंशिक युद्धबिराम जारी रहने बताउनु भएको छ । तर उहाँले अमेरिका–तालिबानबीच सम्पन्न नयाँ सम्झौताको प्रमुख अंशका रुपमा रहेको हजारौं तालिबानी विद्रोही बन्दीहरुलाई रिहा गर्ने निर्णय अफगान सरकारलाई अस्वीकार्य रहेको बताउनुभयो । 

शनिबार दोहामा अमेरिका र तालिबानबीच सम्पन्न ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुनुअघिको हप्तासम्म “हिंसामा कमी” आएको थियो । 

सम्झौतामा मुख्य रुपमा अमेरिकी समेत सबै विदेशी सैनिक १४ महिनाभित्र स्वदेश फर्किने उल्लेख छ । यसको बदलामा तालिवानले धेरै प्रतिज्ञाहरूलाई सम्मान गर्नु पर्नेछ भने अझ विस्तृत शान्ति सम्झौताका लागि काबुलसँग वार्ता गर्नु पर्नेछ । 

“पूर्ण युद्धविरामको अवस्था सिर्जना गर्न हिंसामा कमी आउनु पर्नेछ,” काबुलमा आयोजित पत्रकार सम्मेलनमा घानीले भन्नुभयो । 

“जनरल स्कट मिलरले तालिवानलाई यही गर्न सल्लाह दिनु भएको छ । यो अवस्थाले निरन्तरता पाउने अपेक्षा गरिएको छ,” अफगानिस्तानमा तैनाथ विदेशी सेनाका संयोजक अमेरिकी कमाण्डरतर्फ देखाउँदै राष्ट्रपति घानीले भन्नुभयो । 

तर, शान्तिको मार्गमा गतिरोध ल्याउन सक्ने एउटा बुँदातर्फ ध्यानाकर्षण गर्दै घानीले सम्झौताका शर्तहरु निकै विवादस्पद रहेको बताउनुभयो । सम्झौताको एउटा धारामा तालिबानले बन्धक बनाएका १ हजार सरकारी सैनिक र सरकारी कारागारमा थुनिएका करिब ५ हजार तालिबानी लडाकूलाई रिहा गर्नुपर्ने उल्लेख छ । 

“पाँच हजार तालिबानी बन्दीलाई रिहा गर्ने प्रतिबद्धतामा अहिल्यै सहमत हुन सकिन्न,” घानीले भन्नुभयो । “यो अफगानिस्तानका जनताको अधिकार र आत्मनिर्णय हो । यस विषयलाई अन्तर–अफगान वार्ताको समयमा एक एजेन्डा बनाउनु पथ्र्यो, र वार्तामा यसलाई पूर्व शर्तका रुपमा लिन सकिन्न ।”

उहाँले कुनै पनि बन्दी रिहाई गर्ने कुरा “अमेरिकी अधिकारको विषय होइन, यो अफगान सरकारको अधिकार क्षेत्रभित्रको कुरा हो” भन्नुभयो ।

राष्ट्रपति घानी तालिवान र अफगान सरकारबीच हुने वार्तातर्फ सङ्केत गर्दै हुनुहुन्थ्यो । यो वार्ता पनि अमेरिका–तालिबानबीचको सम्झौताको एक हिस्साको रूपमा स्वीकार गरिएको छ । 

तालिबानीले अहिलेसम्म घानीको प्रशासनसँग वार्ता गर्न अस्वीकार गरिरहेको थियो । उनीहरूले अफगान सरकारलाई अमेरिकी कठपुतली शासनको रूपमा लिएका थिए । 

राष्ट्रपति घानीको बन्दी रिहाइसम्बन्धी प्रश्नले आगामी दिनहरु निकै कठिन हुने सङ्केत गरेका छन् । महिनौं ढिलाई गरेर गत साता घोषणा गरिएको घानीको राष्ट्रपति पदमा पुनः विजयलाई अमेरिकाले अझै मान्यता दिएको छैन भने मुख्य प्रतिस्पर्धी अब्दुल्लाअब्दुल्लाले पनि चुनावमा धाँधली भएको आरोप लगाउँदै घानीलाई अस्वीकार गर्ने यसअघि नै घोषणा गरिसक्नु भएको छ । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया