श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द,  नेपाल आउनेले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

 फागुन ३०, २०७६ शुक्रबार १०:५०:५० | उज्यालो सहकर्मी

काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । नेपाली श्रमिक कार्यरत देशमासमेत कोरोना भाइरसको जोखिम बढेपछि वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिश्चितकालका लागि श्रम स्वीकृति बन्द गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताउनुभयो । 

अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अर्थात वैशाख १२ गतेभन्दा अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने सरकारले निर्णय गरेको छ । विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको कोभिड – १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि सरकारले दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने निर्णय गरेको थियो । नेपालको मुख्य श्रम गन्तव्य कतार, साउदी, मलेसिया, यूएई लगायतका देशमा पनि अहिले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । 

कोरोनाको सङ्क्रमण बढ्न नदिन भन्दै कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने कुवेतले पनि भिसा दिन बन्द गरेको छ । 

यस्तै कुवेतले सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बिदा दिएको छ । रेस्टुरेन्टदेखि शैक्षिक संस्था बन्द गरेको छ भने आज शुक्रबार रातिदेखि कुवेतले सबै व्यवसायिक उडान पनि बन्द गर्दैछ । कुवेत सरकारले घरभित्रै पनि धेरै मानिस जम्मा भएर नबस्न आफ्ना नागरिकलाई अनुरोध गरेको छ ।

साउदीले पनि नेपालबाट हुने सिधा उडानबाहेक ट्रान्जिट हुँदै प्रवेशमा रोक लगाएको छ भने तीन वटा विमानस्थल मात्र खुल्ला गरेको छ । 

यूएईमा यसअघि नै दुई नेपाली श्रमिकको कोरोना भाइरसको संक्रमणको पुष्टि भइसकेको छ । सरकारले विदेशमा रहेका नेपालीहरुलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैबीच नेपालले तेस्रो देशका नागरिकहरुलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा दिइँदै आएको सुविधा शनिबारदेखि वैशाख १८ सम्मका लागि स्थगित गरेको छ ।

विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा पनि वैशाख १८ गतेसम्मका लागि यसअघि नै स्थगित गरेको छ भने  भिसा लिइसकेका विदेशी नागरिकले नेपालको अध्यागमन आइपुग्नुभन्दा सात दिनअघिको स्वास्थ्य जाँच रिपोर्ट अध्यागमन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

यस्तै शनिबारदेखि स्वदेश फर्कने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Karma tamang

    March 14, 2020, 3:55 p.m.

    मलेशिया चाहिं किन बन्द गरेको हो ??

  •  0 Reply
  • Arun Thapa

    March 13, 2020, 11:30 a.m.

    म हाल साउदीमा छु / बिदामा नेपाल आउन लाग्याछु / के म नेपालवाट फेरि रिटर्न हुन सक्छु ??

  •  0 Reply

तपाईको प्रतिक्रिया