खुला ठाउँको हरियाली जीवन्तता राख्ने विषयमा काठमाण्डाै महानगर...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – कोरोना सङ्क्रमण बढ्दै गएपछि यूएईको दुबई सहर लकडाउनमा छ । तर त्यहाँ कार्यरत नेपालका खगेन्द्र खरेललाई भने लकडाउनले छोएको छैन । कोरोनाको डरलाई कोठामै छाडेर उहाँ दिनभरी काममा खट्नुहुन्छ ।
यूएईमा हुन गइरहेको व्यापारिक मेला दुबई एक्स्पोमा काम गर्नुहुन्छ खगेन्द्र । लकडाउन भए पनि दुबई एक्स्पोमा काम भने नियमित चलिरहेको छ । त्यति ठूलो परियोजनामा हजारौं मानिस काममा खटिएका छन् । त्यही भिडमा मिसिनुपर्छ खगेन्द्रले पनि । यसले गर्दा कतै कोरोनाको सङ्क्रमणले छोइहाल्छ कि भन्ने डर छ उहाँलाई ।
‘हजारौं मान्छे सँगै काम गर्नुपर्ने अवस्था छ, यस्तोमा त नलागेको रोग पनि लाग्ने जोखिम हुन्छ’ उहाँ भन्नुहुन्छ, ‘यो भन्दा त सरकारले हामीलाई सुरक्षित तरिकाले नेपाल फर्कने वातावरण मिलाइदिए हुन्थ्यो ।’
कोरोना सङ्क्रमण फैलिएसँगै विश्वका धेरै देशहरु लकडाउनमा छन् । लकडाउनका कारण कम्पनी तथा होटेल रेस्टुरेन्टहरु बन्द भएका छन् । तर कतिपय ठाउँमा भने कम्पनीहरु नियमित चलिरहेकै छन् । कोरोना सङ्क्रमण फैलिरहेको बेला पनि कम्पनीमा नियमित काम हुँदा मलेसिया लगायत खाडीका देशमा रहेका लाखौं नेपाली कामदार कोरोना सङ्क्रमणको जोखिममा छन् । एकातर्फ कम्पनीले काम जारी राख्नु र अर्कोतर्फ सुरक्षाका कुनै उपाय नअपनाउनुले आफूलाई पनि सङ्क्रमण हुन्छ कि भन्ने डर त्यहाँ कार्यरत नेपालीमा देखिन्छ ।
साउदी अरबमा काम गर्ने प्रकाश पौडेललाई पनि यस्तै डर छ । त्यहाँका धेरै कम्पनी बन्द भए पनि उहाँको कम्पनी बन्द भएको छैन । सबै कम्पनीहरु बन्द भएको अवस्थामा आफू कार्यरत कम्पनी बन्दा नहुँदा कोरोना सङ्क्रमणको जोखिम बढेको उहाँ बताउनुहुन्छ ।
‘न त कम्पनीको काम बन्द छ, न त स्वास्थ्य सतर्कता नै अपनाएको छ, एकदमै खतरा स्थिति छ’ प्रकाश त्यहाँ डरैडरमा काम गरिरहनुभएको दुखेसो पोख्नुहुन्छ ।
कुवेतबाट ईश्वर फौजामगरको गुनासो पनि त्यस्तै छ । अरु कम्पनीहरु बन्द भए पनि उहाँ काम गर्ने कम्पनी बन्द भएको छैन । कोठाबाट काम गर्ने ठाउँसम्म ओहोरदोहोर गर्दा नै कतै कोरोना भाइरसले छोइहाल्छ कि भन्ने चिन्ताले पिरोल्छ । एकतर्फ विदेश आउँदा लागेको साहुको ऋणको भारी छ भने अर्कोतर्फ कोरोनाबाट आफ्नै ज्यान जोगाउने चिन्ता ।
‘यतिबेला मलाई साहुको ऋण तिर्न कोरोना लाग्न दिउँ कि कोरोनासँग बच्न साहुको ऋण नतिरौं भन्ने दोधारमा छु’ उहाँ भन्नुहुन्छ ।
लकडाउनको बेला धेरै कम्पनी र होटेल रेस्टुरेन्टहरु बन्द भए पनि सुरक्षा गार्डको काम भने रोकिएको छैन । मलेसिया लगायत खाडीका देशहरुमा पनि अवस्था यही छ । बन्द भएका कम्पनी र संस्थालाई सुरक्षा दिन अहोरात्र खटिरहेका हुन्छन्, सुरक्षा गार्डहरु । कतिपय नेपाली सुरक्षागार्डको रुपमा ती देशमा कार्यरत छन् ।
भागिश्वर सुनुवार पनि मलेशियाको सेलाङ्गरमा सुरक्षागार्डको काम गर्नुहुन्छ । जसलाई कोरोनाको अत्यन्त सम्वेदनशिल ठाउँ मानिन्छ । एउटा सर्जिकल मास्कको भरमा दिनहुँ थरीथरीका मान्छेहरुसँग साक्षात्कार हुनुपर्दा कोरोना सङ्क्रमणको जोखिम बढेको उहाँ बताउनुहुन्छ ।
‘बिना कुनै सुरक्षा फ्रन्टलाइनमा जाने भनेको हामीहरु नै हो, हामीहरुको स्वास्थ्य सुरक्षाको बारेमा कसले हेर्ने ?’ उहाँ प्रश्न गर्नुहुन्छ ।
यस्तै गुल्मीका बिनोद अधिकारी पनि यूएईमा सुरक्षा गार्डको काम गर्नुहुन्छ । ‘अहिलेको अवस्थामा कम्पनीको बिदामा कोठामै बस्न पाउनेहरु त निकै सुरक्षित हुनुहुन्छ, हामी सुरक्षागार्डलाई चाहिँ जोखिम छ’ उहाँ आफ्नो दुखेसो पोख्नुहुन्छ ।
खाडी तथा मलेसियाका सुपरमार्केट तथा ग्रोसरी स्टोरमा धेरै नेपाली श्रमिकहरु कार्यरत छन् । लकडाउन भए पनि प्रायः दैनिक उपभोग्य सामान तथा खाद्यान्नका पसलहरु खुला नै हुने गर्छन् । सुरक्षा सावधानीका उपाय अपनाइएन भने यस्ता ठाउँहरुमा कोरोना सङ्क्रमण फैलिने जोखिम हुन्छ ।
मलेसियाको एउटा सुपरमार्केटमा कार्यरत सागर समर्पणलाई पनि यही चिन्ताले पिरोलेको छ । आफू कार्यरत सुपरमार्केटमा कुनै सरक्षाका उपाय नअपनाएकाले कोरोना सङ्क्रमण हुन्छ कि भन्ने उहाँलाई डर छ ।
‘हरेक दिन हजारौं ग्राहक आउँछन्, हरेकसँग नजिकिएर बोल्नुपर्छ, तर कुनै स्वास्थ्य सुरक्षाको उपाय अपनाएको छैन’ उहाँ भन्नुहुन्छ, ‘काममा नजाउँ भने जागिर जाने चिन्ता, जाउँ भने कोरोना लाग्छ कि भन्ने डर छ ।’
आफूजस्तै दुईसय भन्दा धेरै नेपाली त्यही सुपरमार्केटका विभिन्न शाखामा काम गरिरहेको भन्दै सबै कोरोना सङ्क्रमणको जोखिममा रहेको उहाँ बताउनुहुन्छ ।
चारैतिर कोरोना सङ्क्रमण फैलिरहेको बेला एकजना सुरक्षित भएर मात्र हुँदैन । सबै सतर्क र सुरक्षित हुनुपर्छ । सबै घरभित्रै बस्नुपर्छ । तर खाडी देशमा कमाउन गएका नेपालीहरुमा भने यो कुरा लागू नहुन सक्छ । एउटै कोठामा तथा आवासीय भवनहरुमा धेरै श्रमिकहरु सँगै बस्छन् । कतिको कम्पनी बन्द भएर कोठामै बसिरहेका छन् भने कतिपय सधैंझैं अहिले पनि काममा खटिरहेका छन् ।
दुबईको एउटा कम्पनीमा कार्यरत जितु पाख्रिन चारजना साथीहरुसँग एउटै कोठामा बस्नुहुन्छ । सबै जना अलगअलग ठाउँमा काम गरेर आउने हुँदा एउटालाई संक्रमण भयो भने सबैलाइ हुन्छ कि भन्ने उहाँलाई चिन्ता छ ।
‘सबैले कोठामै बस्न पाए त हुन्थ्यो तर कोही काममा जान्छन् कोही कोठामै हुन्छन्, यसले गर्दा एउटालाई रोग लाग्यो भने सबैलाई सर्ने डर छ’, जितुलाई जस्तै धेरै नेपाली श्रमिकलाई यस्तै चिन्ता छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Santosh Mandal
April 11, 2020, 11:48 p.m.सम्पूर्ण नेपालीलाई सकेसम्म छिटै विदेशवाट नेपाल फर्काउनका लागि हार्दिक अपील गर्न चाहान्छु /किनकि विदेशको अवस्था धेरै नै नाजुक भैसकेको छ / .
अर्जुन परियार, बबई गापा ४ हापुरे, दाङ
April 11, 2020, 6:49 p.m.नेपाल सरकारले गरेको लकडाउनका कारण नेपालमा रहेका नेपालि त सुरक्षीत नै छन । बिदेशी मुलुकमा रहेका नेपालीहरुको स्वास्थ्य सुरक्षाका लागि प्रधानमन्त्रीले विभिन्न देशका प्रमुख संग टेलोफोन बार्ता गरेको भन्ने सुनिन्छ ।आफ्नै देशका नगरिकको सुरक्षामा रहेका ती देशका प्रमुखहरुले प्रधानमन्त्रीको टेलिफोन बार्ताले मात्र तेहाका नेपालीको स्वास्थ्य सुरक्षामा कसरि ध्यान दिन्छन होला र ? कामदारको कुन मालिकलाइ वास्ता होला र ? बिचरा डराइ डराइ काम गरि रहेका छ्न ।