तीन वर्षपछि ‘बी’ डिभिजन लिग माघमा हुँदै
मंसिर ७, २०८१ शुक्रबार
खोटाङ – विदेश जाने तयारी गर्दै गरेकाहरुलाई लाग्छ, ‘एक पटक विदेश जान पाए त मज्जाले कमाएर ल्याइन्थ्यो ।’ तर भनेजस्तो कहाँ हुन्छ र विदेश ! सोचेजस्तो सबैले कमाउन सक्दैनन् ।
एक पटक होइन, पटक पटक विदेश जाँदा पनि कमाउन नसक्नेहरु पनि थुप्रै भेटिन्छन् । यस्तैमध्येका एक हुनुहुन्छ खोटाङको हलेसी तुवाचुङ नगरपालिका – ८ धितुङका गंगा बुढाथोकी ।
उहाँ ६ पटक विदेश जानुभयो, धेरै पैसा कमाउन भनेर । पहिलोपटक २०६३ सालमा मलेसिया जानुभयो । क्यासेटको फर्म बनाउने कामका लागि गएका गंगा ३ वर्ष मलेसिया बस्नुभयो । महिनाको ६ सय रिंगिट तलब पाउने गंगाले ३ वर्षमा जाँदा लिएको ९० हजार ऋण पनि तिर्न सक्नुभएन । ‘३/३ महिनामा ब्याज तिर्नुपर्थ्यो, तर एक पटक पनि तिर्न सकिन’ गंगाले भन्नुभयो ।
मलेसियाबाट खाली हात फर्किएका गंगालाई एक वर्ष घरमा बसेपछि मलेसियाभन्दा अन्तै जाँदा कमाई होला कि भन्ने लाग्यो । त्यसपछि उहाँ कतार पुग्नुभयो राम्रो काम र कमाई खोज्दै ।
कतारमा भवन निर्माणमा काम पाउनुभयो । उहाँलाई पहिलेदेखि नै ग्याष्ट्रिकको समस्या थियो । त्यही भएर होला उहाँलाई काम गर्दा धेरै नै गाह्रो भयो । ‘सास फेर्न पनि धेरै गाह्रो भयो’ गंगा सम्झनुहुन्छ ।
त्यसैले कतार पुगेको ४ महिना नहुँदै उहाँ घर फर्किनुभयो । ‘बस्न पाएको भए कमाइन्थ्यो होला भन्ने लागिरह्यो’ गंगा भन्नुहुन्छ । यही हुटहुटीले उहाँ घर बस्न सक्नुभएन । घर आएर उपचार गरेपछि ठीक भयो । सञ्चो भएपछि उहाँ साउदी अरब जानुभयो । साउदीमा सप्लाई कम्पनीमा परेका गंगाले ३२ महिना काम गर्नुभयो ।
ग्यास प्लान्टमा काम गर्दा उहाँले तीन लाख रुपैयाँ बचाउनुभएको थियो । तर घर फर्किएर बिहे गर्दा त्यो पैसा सकियो । तर त्यसपछि भने उहाँले आम्दानीको बाटो पहिल्याउ सक्नुभएन । २०७२ सालमा कतार पुग्नुभयो ।
कतै काम र कमाई भएन, अनि कतै उहाँलाई ज्यानले साथ दिएन । कतार पुगेको ५ महिनामा गरिएको स्वास्थ्य जाँचमा फेल भएपछि उहाँ घर फर्किनुभयो । विदेश जाँदैपिच्छे ऋण थपिइरहेको थियो ।
तर तिर्न सक्नुभएको थिएन । त्यहाँ जाँदा त हुन्छ कि भन्ने आशै आशमा चारपटक विदेश गइसक्नुभएको थियो । विदेश गएर कमाउन सक्नुभएको थिएन । हिजोसम्मको रहरको विदेश अब भने गंगाका लागि बाध्यता भयो ।
पहिले विदेश जाँदा लागेको ऋण तिर्न दोस्रोपटक साउदी जानुभयो, ग्यास प्लान्टमा काम गर्न । साउदी पुगेको २ महिनामै पुरानै रोग बल्झियो । त्यसैले कमाउन नपाउँदै फर्किनुपर्यो ।
छैटौं पटकको वैदेशिक रोजगारीको यात्राले पनि पैसाको साटो ऋण नै थपिएपछि भने गंगाले विदेश जाने सोच त्याग्नुभयो । ‘हुन त के हुन्छ होला र भन्ने लाग्थ्यो, तर विदेश गएर पनि हुने रहेनछ भन्ने लाग्यो’ गंगाले भन्नुभयो ।
कुनै उपाय नलागेपछि उहाँले ६ हजार रुपैयाँको चकलेट, चाउचाउ, बिस्कुटसँगै चटपट पनि बनाएर डोकोमा राखेर बेच्न थाल्नुभयो । हेर्दा र सोच्दा सानो लाग्ने कामबाट दिनहुँ हुने कमाईले उहाँलाई आँट दियो । डोकोमा सामान थपिँदै गयो, अनि बिक्रि पनि ।
डोकोको व्यापार बढ्दै गएपछि गंगालाई किराना पसल खोल्ने आँट आयो । उहाँले १० हजार रुपैयाँको लगानी गरेर किराना पसल सुरु गर्नुभयो । ६ पटक विदेश जाँदा कमाउन नसकेका गंगाले अहिले त वर्षमा एकलाख रुपैयाँ यही पसलबाट कमाइरहनुभएको छ ।
‘सुरु गर्दा अनि अहिले पनि हेर्दा सानो देखिन्छ, तर गर्दा हुने रहेछ’ गंगाले फेरिएको सोचसुनाउनुभयो । गंगालाई २ जना छोरालाई पढाउने खर्च पनि यही पसलको आम्दानीले पुगेको छ । अहिले त उहाँको स्वास्थ्यमा देखिरहने समस्या पनि छैन ।
नेपालीमा उखान छ, घुमिफिरी रुम्जाटार । तर उहाँले आफ्नो वैदेशिक रोजगारीको अनुभवबाट त्यो उखानलाई थोरै फेर्नुभएको छ । भन्नुहुन्छ ‘घुमिफिरी हात्ती आहाल ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।