सीमावर्ती क्षेत्रमा रहेका सलहका झुण्ड जुनसुकै बेला नेपाल आउन सक्ने

 साउन ६, २०७७ मंगलबार १०:३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतको सीमावर्ती क्षेत्रमा रहेका सलहका झुण्ड जुनसुकै बेला नेपाल आउन सक्ने भएकाले सावधानी अपनाउन विज्ञले आग्रह गरेका छन् ।

राजस्थानबाट केही झुण्ड उत्तर प्रदेशतर्फ प्रवेश गरेका र हावाको बहाबसँगै नेपाल आउन सक्ने भएकाले सावधानी अपनाउन प्लान्ट क्वरेण्टीन तथा विषादी ब्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

रातको समयमा र पानी परेको समयमा उड्न नसक्ने भए पनि हावाको तीब्र बहाबका कारण जुनसुकै बेला नेपाल आउन सक्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन उहाँको आग्रह छ । साथै सलह भगाउनका लागि आवश्यक पूर्व तयारी गर्न पनि केन्द्रले किसानलाई आग्रह गरेको छ ।

केन्द्रको पछिल्लो अनुमानअनुसार भारतको राजस्थानमा रहेका सलहको झुण्ड जयपुर तथा दिल्ली हुँदै उत्तर प्रदेशको आग्रा, कानपुर, ग्वालीयरतर्फ अगाडि बढ्न सक्ने देखिएको छ । यही सलहको झुण्ड पश्चिम, दक्षिण पश्चिम तथा दक्षिणबाट हावासँगै नेपालको मध्य तथा पश्चिम तराई र सुदूरपश्चिम क्षेत्रबाट जुनसुकै बेला नेपाल प्रवेश गर्ने सम्भावना भएको हो ।

भारतको मौसम विज्ञान विभागका अनुसार ७ गतेसम्म राजस्थानमा हल्का वर्षाको मात्रै सम्भावना छ । उत्तराखण्ड र उत्तरप्रदेशमा आज र भोलि सामान्यदेखि पूर्ण बदली रही त्यस क्षेत्रका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

पानी परेको बेला सलह नउड्ने भए पनि हावाको तीब्र बहाबका कारण जतिबेला पनि आउन सक्ने भएकाले सावधानी भने अपनाउन उहाँले आग्रह गर्नुभएको छ । यसैबीच साउन १ गते दिउँसो बाँकेबाट नेपाल छिरेको सलहको झुण्ड सुर्खेत तथा आसपासका क्षेत्रमा र अर्को झुण्ड दशरथपुरबाट उत्तरतर्फ दैलेखको भगवतीमाइ तथा बीरेन्द्रनगरको वडा नं १ तथा जाजरकोटसम्म पुगेको जानकारी प्राप्त भएको सुवेदीले बताउनुभयो ।

सलहले विशेषगरी तरकारी बालीमा केही क्षति गरे पनि पूर्वतयारी र सतर्कताका कारण धेरै नोक्सानी नभएको उहाँको भनाई छ । सलह भगाउनका लागि धुवाँ, ध्वनी, अन्य विविध उपायहरुका साथै विषादीकोसमेत प्रयोग गरिएको छ ।

अहिले मौसम प्रतिकूल भएकाले अग्ला रुखहरु तथा जङ्गलमा आश्रय लिइरहेकोले विषादी प्रयोग गरेर मार्न कठिनाइ भइरहेको सुवेदीले बताउनुभयो । कञ्चनपुरको पुनर्वास क्षेत्रमा रहेको सलहको झुण्ड भने सीमावर्ती भारतमा तथा यसको केही अंश डडेलधुरा तथा बैतडीसम्म पुगेका छन् ।

यस्तै गएको २८ गते नेपाल प्रवेश गरेको झुण्ड भने प्युठान हुँदै गुल्मी, बाग्लुङ लगायतका क्षेत्रमा प्रवेश गरेको जानकारी प्राप्त भएको पनि उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया