भदाै १ देखि त्रिभुवन विमानस्थलले दैनिक १५ अन्तर्राष्ट्रिय उडान गर्ने

 साउन ७, २०७७ बुधबार १७:४८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ देखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ । 

विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटासम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताउनुभयो । उहाँले विमानस्थलमा डिपार्चर र एराइभलका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सीमित उडान गरिने बताउनुभयो ।

सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ भदौ १ गते देखि आन्तरिक र बाह्य उडान सुरु गर्ने निर्णय गरेको छ । तर विमानस्थलले भदौ १ पछि दैनिक कति उडान गर्ने भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन । तर पनि सङ्क्रमणको जोखिमलाई ध्यान दिएर दैनिक १५ वटाभन्दा बढी उडान गर्न सम्भव नदेखिएको केसीले बताउनुभयो । त्यस्तै आन्तरिक उडानतर्फ दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सम्भव हुने उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रिय यात्रुका लागि विमान उडान हुने समयभन्दा कम्तीमा चार घण्टाअघि विमानस्थल प्रस्थान हुनुपर्ने व्यवस्था गरिने उहाँले बताउनुभयो । समान्य अवस्थामा आफ्नो उडान समयभन्दा तीन घण्टाअघि विमानस्थल पुग्नुपर्ने व्यवस्था रहेको थियो ।

विमानस्थल प्रमुख केसीले स्वास्थ्य सुरक्षाकाे मापदण्ड अपनाउनकाे लागि साधन स्रोत बढाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार विमानस्थलसँग जनशक्ति पर्याप्त भएको तर सङ्क्रमणको जोखिम कम गर्नका लागि साधन स्रोत थप्नुपर्ने र त्यसका लागि विमानस्थलले काम गरिरहेकाे छ । देशभित्र रहेका अन्य आन्तरिक विमानस्थलहरु पनि उडानका लागि तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । उहाँले देशभित्रका सबै विमानस्थलमा न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काम गरिने स्पस्ट पार्नुभयो ।

कोरोना सङ्क्रमणका हिसाबले विमानस्थल अत्यन्त संवेदनशील ठाउँ भएकाले स्वास्थ्य सुरक्षाका प्राेटाेकललाई पूर्णरुपमा पालना गर्न र गराउन विमानस्थल सक्षम रहेको उहाँले बताउनुभयो । यस्तै यात्रुहरुलाई विमानस्थलमा आउँदा सतर्क रहनसमेत केसीले आग्रह गर्नुभयो ।

विमानस्थलमा कुनै पनि व्यक्तिलाई समस्या भए त्यसको व्यवस्थापन गर्न विमानस्थल सक्षम रहेको पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया