काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
रुकुम पूर्व – झट्ट सुन्दा अनौठो लाग्ला ! काटेको राँगाको पेटमा बच्चा हाल्ने एउटा अनौठो तर रैथाने उपचार विधि चल्तीमा रहेको छ । रुकुम पूर्वका स्थानीय बासिन्दाले वर्षौँदेखि विश्वासका साथ प्रयोग गर्दै आइरहेको यो उपचार विधि धेरैलाई अनौठो लागे पनि यहाँ भने सामान्य र नियमित रहेको छ ।
रोग निको हुने जनविश्वास
नेपालका प्रायः धेरै क्षेत्रमा उपचारका घरेलु विधिहरु आ–आफ्नै तरिकाका हुन्छन् । स्थानीय रहनसहन, मूल्य, मान्यता र चलनले पनि ती विधिहरु विद्यमान देखिन्छन् । रुकुम पूर्वमा चलिआएको काटेको राँगाको पेटमा बच्चा पसाउने विधि भने रोग निको हुने जनविश्वासका साथ प्रचलनमा छ ।
पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १० का प्रथम घर्तीमगर सुकेनास, रुन्चे जस्ता रोग लागेर अस्वस्थ भइरहने बच्चालाई काटेको राँगाको पेटभित्र छिराइ हल्लाएर निकालेपछि निको हुन्छ भन्ने जनविश्वास रहेको बताउनुहुन्छ । उहाँका अनुसार दशैँमा राँगा काटेपछि पेटबाट अलिकति लादी निकालेर केही समयका लागि बच्चालाई भित्र छिराएर हल्लाउने गरिन्छ । यसरी बच्चालाई राँगाको पेटभित्र छिराएर निकालेपछि रोग निको हुने विश्वास गाउँलेहरुको छ ।
दशैँको बेला मात्रै यस्तो गरिन्छ
बच्चालाई राँगाको पेटभित्र छिराएर निकाल्ने चलन अरु बेला नभएर दशैँमा मात्र छ । दशैँमा बलि दिइने राँगा काटेपछि मात्र बच्चालाई पेटमा हालेर निकाल्ने गरिन्छ । यो बेला विशेष शक्ति प्राप्त हुने विश्वास रहेको छ ।
६ देखि १८ महिनासम्मको बच्चालाई यसरी राँगाको पेटभित्र हालेर निकालिने गरिन्छ । पहिला अस्वस्थ बच्चालाई मात्र उपचार गर्न काटेको राँगाको पेटभित्र हाल्ने गरिन्थ्यो तर अहिले स्वस्थ बच्चा अझ निरोगी र बलियो हुन्छ भन्ने विश्वासले एक पटक राँगाको पेटभित्र हाल्नैपर्छ भन्ने स्थानीयको विश्वास छ ।
वर्षौदेखि चलिआएको यो चलनको वैज्ञानिक कारण भने कसैलाई थाहा छैन । यो रुढीवादी परम्परा भए पनि निरन्तरता दिइएको स्थानीय शिक्षक राजधन घर्तीमगर बताउनुहुन्छ । शिक्षक घर्तीले पुरानो पुस्तामात्र होइन आजको नयाँ पुस्ताले पनि यो पुरानो चलनलाई निरन्तरता दिइरहेको उल्लेख गर्नुहुन्छ ।
बच्चालाई राँगाको पेटबाट निकालेर नजिकैको पानीको मूलमा लगेर नुहाइन्छ । यसलाई उनीहरु बच्चा चोख्याएको भन्छन् । यसो गर्दा रोग, काल, कष्ट सबै बगेर जाने उनीहरुको विश्वास छ ।
तस्बिर सौजन्य : मैत्या घर्ती मगर
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।