धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्क घट्याे

 पुष १०, २०७७ शुक्रबार १७:९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धितोपत्र दलाल व्यवसायीहरूले लिने सेवा शुल्क घट्ने भएको छ । नेपाल धितोपत्र बोर्डले विज्ञप्ति निकालेर लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने आवश्यकताको आधारमा सेवा शुल्कमा पुनरावलोकन गरिएको जनाएको छ । 

धितोपत्र कारोबार प्रणाली तथा सेवामा सुधार हुँदै गएको, बजारमा प्रणालीगत सुधार भएको, अनलाइनमार्फत कारोबार गर्नेहरूलाई प्रोत्साहन गर्नुपर्ने, कारोबार लागतलाई प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय अभ्यास गर्नुपर्नेलगायत कारण सेवा शुल्कमा पुनरावलोकन गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिनुभयो । 

पछिल्लो समयमा नेपालको धितोपत्र बजारमा ८५ प्रतिशतभन्दा बढी कारोबार अनलाइनमार्फत हुने गरेकोे छ । दैनिक कारोबार बढ्दै गइरहेकाले धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्कमा पुनरावलोकन गरी समसामयिक बनाउन खोजिएको बोर्डले जनाएको छ ।

पुनरावलोकन भएको नयाँ सेवा शुल्कअनुसार धितोपत्र दलाल व्यवसायीले अब ५० हजारसम्मको कारोबारमा शून्य दशमलव ४०, ५० हजारदेखि ५ लाख रुपैयाँसम्म शून्य दशमलव ३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्म शून्य दशमलव ३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्म शून्य दशमलव ३० प्रतिशत र एक करोड भन्दामाथिको कारोबारमा शून्य दशमलव २७ प्रतिशत सेवा शुल्क लिन पाइने भएको छ ।

धितोपत्र दलाल व्यवसायीले सानो रकमको कारोबार गर्ने साना लगानीकर्ताहरूलाई कारोबार सेवाबापत लिँदै आएको न्यूनतम शुल्कमा ६० प्रतिशत, सरकारी तथा संस्थागत ऋणपत्र, सामूहिक लगानी कोषको इकाइ तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोबारमा लिँदै आएको शुल्कमा ५० प्रतिशत र सङ्गठित संस्थाको शेयरको खरिद तथा बिक्री कारोबारमा लिँदै आएको शुल्कमा ३३ प्रतिशतसम्म कम हुने गरी सेवा शुल्कमा पुनरावलोकन गरिएको छ । 

पुनरावलोकनबाट शेयर, ऋणपत्र, सामूहिक लगानी योजनालगायत अरू धितोपत्रको कारोबार बढ्नुका साथै नयाँ लगानीकर्तासमेत बजार प्रवेशका लागि प्रोत्साहित हुने र यसबाट समग्र धितोपत्र बजार गतिशील एवं प्रतिस्पर्धी हुने बोर्डले अपेक्षा गरेको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया