१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का नेता डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानभन्दा माथिबाट समग्र व्यवस्थालाई नै 'कू' गरेको बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले काठमाण्डौमा आयोजना गरेको अन्तरपार्टी अन्तरक्रियामा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीले संवैधानिक कू नभइ संविधान र व्यवस्थामाथि कू गरेको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले गरेको कू २०१७ सालमा राजा महेन्द्र र २०६००/६१ मा राजा ज्ञानेन्द्रले गरेको कू जस्तै भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘केपी ओलीको नेतृत्वमा नेपालमा पुस ५ गते जुन प्रतिगमनकारी घटना घट्यो, यो समान्य होइन । मेरो विचारमा १७ सालमा राजमा महेन्द्रले जुन कू गरे र ६०/६१ सालमा राजा ज्ञानेन्द्रले जुन कू गरे त्यसैको हाराहारीको यो कू हो । संवैधानिक कू होइन, त्यो त संविधानअन्तर्गत हुन्छ । संविधानमाथिको कू हो, व्यवस्थामाथिको कू हो । त्यसो हुनाले यसलाई समान्य अर्थमा लिने गल्ती कसैले पनि नगरौँ ।’
प्रधानमन्त्रीले संसद् विघटन गर्ने कदम संवैधानिक हो वा होइन भन्ने विषयमा बहस गर्न र भ्रममा पर्न नहुने पनि भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नियोजित ढङ्गले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रहार गरेर यसलाई उल्ट्याएर फेरि विभिन्न शक्तिहरू भित्री र बाहिरी शक्तिहरू छन्, जसले नेपालको परिवर्तन रुचाएका छैनन्, जसले यहाँको अस्थिरतामा खेल्न चाहिराखेका छन्, त्यसको मतियार बनेर केपी शर्मा ओलीले यो कदम चाल्नुभएको हो ।’
कुनै पनि व्यक्तिले लहडमा प्रतिनिधि सभा विघटन गर्नै नसक्नेसमेत नेता भट्टराईले बताउनुभयो । अन्तर्राष्ट्रिय परम्परामा संसद् विघटन गर्ने अभ्यास छ भन्दै नेपालको संसद् विघटन गर्न नपाइनेसमेत उहाँले बताउनुभयो ।
प्रधानमन्त्रीले कुनै पनि बेला संसद् विघटन गर्न सक्ने कुरालाई विचार गरेर संविधानमा नै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्थालाई हटाइएको बताउनुभयो । अहिलेको अवस्थामा कुनै पनि तरिकाबाट संसद् विघटन हुनै नसक्ने उहाँकाे भनाइ छ ।
पूर्वप्रधानमन्त्री भट्टराईले दुई तिहाइ बहुमतको सरकार चलाउन नसक्ने मान्छेले चुनाव गराउँछ भन्ने भ्रममा नपर्न पनि आग्रह गर्नुभयो । अहिलेको अस्थिरतालाई कायम राख्दै निर्वाचन पनि नहुने, संविधान पनि भङ्ग हुने भयो भने देशमा राष्ट्रिय स्वाधिनतामाथि खतरा आउन सक्ने उहाँले बताउनुभयो ।
प्रतिनिधि सभा पुनर्स्थापना हुने विषयमा अदालतको आशा गर्नुपर्ने तर भर पर्न नहुने पनि भट्टराईले बताउनुभयो ।
पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री ओली इमानदार तानाशाह भएको टिप्पणीसमेत गर्नुभएको छ । उहाँले ओलीले झापा आन्दोलनमा राम्रो काम गरे पनि पछि जेलबाट निस्किएर आएपछि अग्रगमनको विरोधी बनेर आएको बताउनुभयो । आफ्नो प्रवृत्ति नलुकाइकन व्यवस्थामाथि आक्रमण गरिरहेकाले प्रधानमन्त्री ओली इमानदार तानाशाह भएको आरोपसमेत भट्टराईले लगाउनुभयो । नेकपाका नेताहरूले अहिलेसम्म ओलीलाई कसरी बोकेर ल्याउनुभयो अफूलाई अचम्म लागेको पनि बताउनुभयो ।
चुनावमा जाँदा लाभ हुन्छ भनेर कांग्रेस र जसपाले मुख मिठ्याएर बस्न नहुने पनि पूर्वप्रधानमन्त्री भट्टराईले बताउनुभयो । पार्टीहरूबीचको संयुक्त आन्दोलन नहुँदासम्म अहिलेको कदमलाई सच्याउन नसकिने उहाँले बताउनुभयो । तर संयुक्त आन्दोलनका लागि ओलीबाट छुट्टिएर आएका नेकपाका नेताहरूमाथि आशङ्का भएकाले संयुक्त आन्दोलन हुन नसकेको पनि उहाँकाे भनाइ छ । कुनै पनि बेला नेकपाका नेताहरू फेरि ओलीसँग मिल्न सक्ने सम्भावना भएकाले संयुक्त आन्दोलनमा जान समस्या रहेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।