भारतकाे उत्तराखण्डमा ठूलाे हिमपहिराे, १६ जनाकाे सुरुङबाट उद्धार

सात जनाकाे ज्यान गयाे, दर्जनाैँ बेपत्ता

 माघ २५, २०७७ आइतबार १९:१४:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतकाे उत्तराखण्डकाे चमाेली जिल्लामा हिमताल फुटेर आएकाे बाढीले बाँध भत्काएपछि अहिलेसम्म सात जनाकाे ज्यान गएकाे र दर्जनौँ बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  

हिमताल फुटेपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको अधिकारीहरूले बताएका छन् । कैयाैँ गाउँबाट मानिसहरूलाई सुरक्षित स्थलमा पठाइएको छ । अधिकारीहरूले झण्डै डेढ सय मानिसहरू हराइरहेको हुन सक्ने बताएका छन् । हराइरहेकामध्ये अधिकांश त्यहाँकाे जलविद्युत् आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन गरिरहेको बताउनुभएको छ । उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘सबैको कुशलताका लागि यति बेला सम्पूर्ण देशले प्रार्थना गरिरहेको छ ।’ भारतीय वायु सेनालाई उद्धारकार्यका लागि तयार राखिएको सरकारले जनाएको छ । 

इन्डो–तिब्बती सीमा प्रहरीले चमोलीबाट दिएको जानकारीअनुसार हिमताल फुटेपछि आएको बाढीका कारण तपोवन क्षेत्रमा फसेका कम्तीमा १६ जनालाई प्रहरीले उद्धार गरेको छ ।   

हिमताल फुटेपछि आएकाे बाढीका कारण दुई वटा जलविद्युत् परियोजना र बाँधमा क्षति पुगेको बताइएकाे छ । अहिले बन्दै गरेकाे ऋषिगङ्गा जलविद्युत् परियाेजनामा सबैभन्दा बढी क्षति पुगेकाे र सञ्चालनमा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनामा पनि क्षति पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

उत्तराखण्का मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले पत्रकारहरूसँग कुरा गर्दै यस घटनामा अहिलेसम्म सात जनाकाे ज्यान गएकाे एक सय २५ जना बेपत्ता भएकाे जानकारी प्राप्त भएकाे बताउनुभयाे । उहाँले यस घटनामा ज्यान गुमाउनेका परिवारलाई चार–चार लाख भारू क्षतिपूर्ति दिने घोषणा गर्नुभएकाे छ । उहाँले अहिले अवस्था सामान्य भएकाे जानकारी दिनुभएकाे छ । 

यसका साथै मुख्यमन्त्री रावतले हिमपहिराेमा एक सय ८० भेडा–ब्राखा पनि बगेकाे र जहाँ हिमताल फुट्याे त्यहाँकाे रैणी गाउँमा अहिलेसम्म पाँच जनाकाे ज्यान गएकाे अपुष्ट जानकारी दिनुभयाे । 

उहाँले बाँधमा काम गर्ने स्थानीयहरू आइतवार बिदामा रहने भएकाले यस घटनामा स्थानीयहरूकाे कम हताहत भएकाे सम्भावना रहेकाे बताउनुभयाे । 

मुख्यमन्त्री रावतले भन्नुभयाे, ‘अहिलेसम्म आवश्यक पर्ने स्राेत साधन उपलब्ध छ । हेलिकप्टर पर्याप्त मात्रामा छ । आवश्यक पर्दा प्रयाेग गरिनेछ । उद्धारकर्ता पनि तयारी अवस्थामा छन् ।’  

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया