पूर्वाधार परियोजना देशकाे हितमै केन्द्रित हुनुपर्छ : विज्ञ

 साउन ४, २०७८ सोमबार २०:३१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पूर्वाधार क्षेत्रका विज्ञ र राजनीतिज्ञले पूर्वाधार परियोजनामा अनावश्यक राजनीति गर्न नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले पोलिसी आन्ट्रपेन्योर्स इंक (पीईआई) सँगको सहकार्यमा आयोजना गरेको महाकाली, गण्डक र अरुण ठूला पूर्वाधारमा घरेलु राजनीति र सार्वजनिक संवाद विषयक कार्यक्रममा उनीहरूले आर्थिक समृद्धिका लागि ठूला पूर्वाधार विकास अपरिहार्य भएको बताउँदै यसमा अनावश्यक बहस गर्न नहुने बताए ।   

सेजनले आयोजना गरेको चौथो पूर्वाधार बहसका सहभागीहरूले पूर्वाधार विकास गर्दा पूर्वतयारीका क्रममा परियोजनाबारे नागरिकलाई बुझाउने र जानकारी दिने तथा अपनत्व बढाउनेतर्फ भने पर्याप्त काम हुनुपर्ने बताए । पूर्वाधार परियोजना निर्माण गर्दा अर्थतन्त्रसहित देशकाे हित महत्त्वपूर्ण हुने बताउँदै उनीहरूले पूर्वाधार परियोजनालाई अनावश्यक राजनीतिबाट टाढा राखेर देशकाे हितमा अधिकतम उपयोग गर्नुपर्ने र भोटका लागि बार्गेनिङ गर्ने औजार बनाउन नहुने बताए ।

पूर्व अर्थ मन्त्री डाक्टर रामशरण महतले पूर्वाधार विकासलाई राजनीतिक रूपमा नहेरी देशकाे हितलाई ध्यानमा राखेर आयोजना सञ्चालन गरिनुपर्नेमा जोड दिनुभएको छ । अरुण तेस्रो पञ्चायतकालमै अध्ययन भएको भइ २०४८ सालमा सरकारले एक अर्ब डलर विश्व बैंक र एसियाली विकास बैंकबाट एक अर्ब डलर अनुदान प्राप्त गरी सञ्चालन आउन लागेकाेमा तत्कालीन प्रमुख प्रतिपक्षी दलले रोकेको उहाँको भनाइ थियो । सार्वजनिक निकायबाट लगानी असम्भव भएमा निजी क्षेत्र र वैदेशिक लगानी ल्याउनुपर्ने बताउँदै पूर्व अर्थ मन्त्री प्रतिस्पर्धात्मक रूपमा परियोजना दिँदा नेपालले ठूलो फाइदा लिन सक्ने बताउनुभयाे । अरुण तेस्रो र माथिल्लो कर्णालीमा सरकारले धेरै निःशुल्क ऊर्जा र शेयर पाएको उल्लेख गर्दै उहाँले बूढीगण्डकीलाई विना प्रतिस्पर्धा दिन खोजिनु गलत भएको बताउनुभयाे । नेपाल दक्षिण एसियाकै स्वच्छ ऊर्जाका लागि प्रमुख ठाउँ भएकाेले नेपालको ऊर्जा विकासलाई विशेष महत्त्व दिनुपर्ने बताउनुभयाे । 

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवम् राष्ट्रिय सभाकी सदस्य डा. विमला राई पौडेलले पूर्वाधारका आयोजनामा प्रतिस्पर्धामा ठेक्का भनिए पनि स्वस्थ रूपमा काम हुन नसकेको बताउनुभयाे । विद्यार्थीकालमा म पनि अरुण तेस्रोका विरुद्ध नारा लगाएर हिँडेँ, अहिले एमसीसीका विरुद्ध त्यस्तै भइरहेको छ, मैले पनि एमसीसी पास गरिस् भने मार्छु भन्ने सन्देशसमेत प्राप्त गरेँ, यस्ता विषयमा सरकारले सार्वजनिक रूपमा सही जानकारी गराउनुपर्छ उहाँले भन्नुभयाे । सत्तामा हुँदा र सत्ताबाहिर हुँदा नेताहरूमा एउटै परियोजनाबारे पक्ष र विपक्ष हुने प्रवृत्ति विकासका लागि ठूलो घातक भएको राष्ट्रिय सभा सदस्य पाैडेलकाे टिप्पणी थियो ।

आईबीएनका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले पूर्वाधार आयोजनामा निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने बताउनुभयाे । निजी क्षेत्रमार्फत र प्रतिस्पर्धात्मक रूपमा परियोजना अघि बढाउँदा यसले लगानी आकर्षण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयाे । ठूला परियोजना अघि बढाउन सबै सरकारी निकायबीचको समन्वय महत्त्वपूर्ण हुने उहाँको तर्क थियो । ठूला परियोजनाबारे पूर्वतयारी देखि नै स्थानीयवासी, सर्वसाधारण, नीति निर्माता, राजनीतिक लगायत सबै सरोकारवालालाई पर्याप्त मात्रामा सही सूचना दिनुपर्ने बताउँदै आईबीएनका पूर्व सीईओ पन्तले परियोजना निर्माण गर्दा त्यसबाट अर्थतन्त्रमा हुने फाइदा, रोजगारी सिर्जना, प्रतिफल लगायतमा विशेष ध्यान दिनुपर्ने बताउनुभयाे ।   

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का पूर्वउपाध्यक्ष कुमार पाण्डेले विदेशी लगानी ल्याउने/नल्याउने लगायतका विषयमा सरकारमै अलमल रहेको बताउँदै विकासलाई बार्गेनिङ गर्ने थलोका रूपमा विकास गर्न नहुने बताउनुभयाे । ठूला पूर्वाधार आयोजनाप्रति नेपालमा नकारात्मक धारणा बढी रहेको बताउँदै उहाँले विकास निर्माण पूर्ण रूपमा प्राविधिक विषयक भएकाले यसलाई राजनीतिभन्दा पनि आर्थिक र सामाजिक फाइदाको दृष्टिकोणले हेर्नुपर्नेमा जाेड दिनुभयाे । 

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पूर्व सहसचिव एवम् पूर्वाधारविद् कमल पाण्डेले ठूला परियोजना अघि बढाउँदा उच्चस्तरको नेगोशेसन क्षमता, निजी क्षेत्रको भूमिका, राजनीतिक प्रतिबद्धता, स्रोतको उपयोगितामा समावेशीता, अनुगमन प्रणाली लगायत महत्त्वपूर्ण हुने बताउनुभयाे ।  

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया