खो–खो विश्वकपमा महिला र पुरुषतर्फ नेपालको समूह चरणको अन्तिम ...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले संसद् र सरकारमा रहेका कम्युनिस्टहरूलाई मिलेर जान आग्रह गर्नुभएको छ । ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष वैद्यले यस्तो बताउनुभएको हो ।
अध्यक्ष वैद्यले नेपालमा क्रान्तिकारी धारका पार्टीहरू एक हुनुपर्ने बेला आएको बताउँदै नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ त्यागेर नागरिककाे सेवामा लाग्न पनि सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारमा र संसदमा भएका कम्युनिस्टहरू एक ठाउँमा बस्नुपर्छ र सडकमा भएका कम्युनिस्टहरू पनि एक ठाउँमा उभिनुपर्छ, संसद् र सरकारमा भएका कम्युनिस्टहरूले सडकमा भएका कम्युनिस्टहरूलाई दमन गरेर जानुभएन । प्रचण्डजी र माधव नेपालजी यही संसदीय व्यवस्थाबाट कति पटक प्रधानमन्त्री बन्नुहुन्छ के, प्रधानमन्त्रीको लोभ र मोह त्याग्नुस् अनि नागरिकका लागि काम गरौँ ।’
त्यस्तै अध्यक्ष वैद्यले ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको बताउनुभएको छ । वैद्यले ओलीको कार्यशैली इगो र पद–प्रतिष्ठामै अड्किएको बताउनुभयो । उहाँले यस्तो बुद्धिले कहिले रेल आउँछ भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले संसदवादी कम्युनिस्टहरूलाई फेरि मिलेर अघि बढ्न सुझाउनुभएको छ ।
‘ओलीको कार्यशैली संसारमा म भन्दा अर्को कोही छैन भन्ने देखियो, पानीजहाज र रेलका कुरा गर्नुभयो तर उहाँको कार्यशैली पद र प्रतिष्ठामै अड्किएको छ, यस्तै बुद्धिले रेल आउँछ र ?’ अध्यक्ष वैद्यले भन्नुभयो, ‘संसदमा जाने साथीहरू सबै एक हुँदै सकिन्छ, सबैलाई क्रान्तिकारी बनाऔँ, त्यो सकिन्न भने सरकार, सदन र सडकमा भएका कम्युनिस्टहरूबीच तालमेल गरौँ ।’
अध्यक्ष वैद्यले नेपालमा सांसदवादी धारलाई अँगाल्ने र क्रान्तिकारी धारलाई अँगाल्ने दुई थरीका कम्युनिस्ट रहेको उल्लेख गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।