पाकिस्तानले जिम्बावेलाई १० विकेटले हरायाे
मंसिर ११, २०८१ मंगलबार
पुत्र वियोगमा परेकी आफ्नी रानीलाई शोकबाट बाहिर ल्याउन राजा प्रताप मल्लले गाईजात्रा मनाउने चलन सुरु गरेका हुन्। तर, गाईजात्राका दिनमा हास्यव्यङ्ग्य प्रहसन गर्ने परम्परा कहिलेदेखि सुरु भयो भन्ने ठ्याक्कै इतिहास स्पष्ट छैन ।
जानकारहरुका अनुसार पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै २०१७ साल पुस १ गतेको शाही 'कू' पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्य व्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो ।
पहिले पहिले गाईजात्रा डबलीमा हुन्थ्यो । यसरी डबलीमा कार्यक्रम गर्नेमा मास्टर गुप्तसेन तथा भीमबहादुर थापा र हेमजङ्ग पाण्डेको जोडी चर्चित थियो । पछि राजपाल थापा तथा ध्रुवरत्न हाडाले पनि गाईजात्रामा जोडी बनाएर कार्यक्रम गर्न थाल्नु भयो ।
तर, गाईजात्रालाई प्रज्ञाको डबलीमा ल्याउने श्रेय भने शताब्दी पुरुष सत्यमोहन जोशीलाई जान्छ । उहाँ प्रज्ञा प्रतिष्ठानको उपकुलपति भएपछि प्रज्ञाको डबलीमा गाईजात्रा कार्यक्रम हुन थालेको हो। पछि क्रमशः रङ्गमञ्चमा गाईजात्रा देखाउन थालियो ।
त्यसबेला वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रता अहिलेको जस्तो थिएन । सरकार तथा समाजमा भए गरेका विसङ्गति तथा विकृतिप्रति प्रहार गर्ने समय र अवसर भनेकै गाईजात्रा थियो । गाईजात्राको दिन प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा त्यसबेला राजा, रानीलगायत, राजपरिवारका सबै सदस्यको उपस्थिति हुन्थ्यो । सरकारका सबै प्रशासकहरुको पनि गाईजात्रा हेर्न पुुग्थे ।
कार्यक्रममा उपस्थितिका लागि दरबारमा प्रज्ञा प्रतिष्ठानबाट निमन्त्रणा पठाउने गरिन्थ्यो । दर्शकलाई एक डेढ घण्टा कुर्नु परे जस्तो लागे पनि राजाको उपस्थिति ठिक समयमा हुन्थ्यो ।
त्यसबेला प्रहसनभन्दा पनि व्यङ्ग्य गीत र कविता धेरै हुन्थ्यो । पहिले कार्यक्रम तीन दिनको हुने गर्थ्याे । पहिलो दिन राजा तथा राजपरिवार जान्थे भने पछिल्ला दिनमा अरु विशिष्ट व्यक्तिहरु जान्थे । राजा सहभागी हुने दिन कार्यक्रम एक घण्टाको हुन्थ्यो । पछिल्ला दुई दिन भने दुई/तीन घण्टाको कार्यक्रम हुन्थ्यो ।
त्यसबेला लक्ष्मण लोहनी रङ्गमञ्चको उत्कृष्ट कलाकार हुनुहुन्थ्यो । उहाँको प्रहसन उत्कृष्ट रहन्थ्यो । राजपाल थापा तथा ध्रुवरत्न हाडाले पनि मञ्चमा प्रहसन गर्ने गर्नुहुन्थ्यो । त्यसबेला रङ्गमञ्चमा प्रहसन कम, कविता तथा गीतहरू धेरै हुन्थे ।
गीतहरु प्यारोडीको रुपमा प्रस्तुत गरिन्थ्यो । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतका कलाकारहरु अहिले जस्तो अघि आइसकेको अवस्था थिएन । पछि मह जोडीले गाईजात्रासँगै अरु बेला पनि हास्यव्यङ्ग्य कार्यक्रम गर्न थाले ।
पहिले पहिले कार्यक्रम पैसा लिएर अथवा टिकट काटेर गर्ने चलन थिएन । त्यसकारण सहभागी कलाकारले पनि पैसा पाउँदैनथे । पछि भने कार्यक्रम टिकट काटेर गर्न थालियो । यसरी टिकट काटेर गर्न थालेपछि भने सातदिनसम्म कार्यक्रम गर्न थालियो ।
२०३४ सालमा प्रज्ञा प्रतिष्ठानमा भएको गाईजात्रामा ‘यो देश कस्तो छ रामराज्य जस्तो छ’ भन्ने शीर्षकको यादव खरेलको कविताले स्वर्ण पदक प्राप्त गरेको थियो । तर, नगद पुरस्कारको भने व्यवस्था थिएन ।
कवितामा त्यसबेला राजाका नजिक बस्ने दरबारका कर्मचारी, जो भ्रष्ट चरित्रका हुन्थे तिनीहरु माथि व्यङ्ग्य थियो । साथै सरकारका अरु निकायमा भएका विकृति विसङ्गतिमाथि पनि व्यङ्ग्य गरिएको थियो । व्यङ्ग्य राजा तथा व्यवस्थामाथि पनि थियो । कवितामा राजाको शासनलाई व्यङ्ग्य गर्दै ‘यो आफ्नै टेपरेकर्डर हो जनमत जसरी देखाए पनि भयो, आफनै टेपरेकर्डर भएपछि जसरी बजाए पनि भयो, जहिले बजाए पनि भयो । अनि ‘फरवार्ड’ तथा ‘रिवाइण्ड’ पनि आफ्नै तरिकाले गर्दा भयो’ भन्ने उल्लेख थियो ।
खरेलले त्यो कविता गाईजात्रामा तीन दिन वाचन गर्नुभयो । लगातार तीन वर्ष उहाँले कार्यक्रममा भाग पनि लिनुभयो । त्यसपछि भने उहाँ सहभागी हुन छोड्नु भयो ।
दरबारका तत्कालीन सचिव नारायणप्रसाद श्रेष्ठले अघिल्लो दिन आएर उहाँको यस कवितालाई भोलिपल्ट राजा सवारी हुने कार्यक्रममा वाचन गर्न नलगाउनु भनेर भनेका थिए । तर, पछि फेरि दरबारको अर्को सूत्रबाट सत्यमोहन जोशीलाई खरेललाई कविता वाचन गर्न दिनु भन्ने खबर आयो । अनि खरेलले कविता वाचन गर्नुभएको थियो । उहाँको कवितालाई दर्शकले निकै मन पराए ।
‘अहिलेजस्तो थिएन गाईजात्रा’
यादव खरेललाई धेरैले चलचित्र निर्देशक एवं साहित्यकारको रुपमा चिन्छन् । तर गाईजात्रालाई मञ्चमा उतार्न सुरु गर्नेहरुमध्ये खरेल पनि एक हुनुहुन्छ भन्ने कुरा चाहिँ कमैलाई थाहा छ । गाईजात्रा मात्र नभएर नेपालमा कमेडी जनराको पहिलो फिल्म लोभीपापी पनि उहाँले नै बनाउनु भएको हो । धेरैले यो जनारामा फिल्म चल्दैन भने पनि उहाँले जोखिम मोलेरै आफ्नै लगानीमा लोभीपापी बनाउनु भएको थियो ।
नत्र त्यसभन्दा अघि हास्य कलाकारलाई केवल जोकरका रुपमा लिएर दुई चार सिनमा मात्र राखेर चलचित्र बनाउने गरिन्थ्यो । खरेलले चलचित्रमा जस्तै गाईजात्रा प्रहसनमा पनि हास्यव्यङ्ग्य प्रस्तुतिलाई प्राथमिकता दिनुभयो ।
‘अहिले जस्तो पहिले यसरी लामो समय गाईजात्रा प्रदर्शन गर्ने चलन थिएन,’ यादव सम्झनुहुन्छ, ‘यसरी स्टेजमा गाईजात्रा प्रदर्शन थालिएको पछि मात्र हो । पहिले भनेको प्रज्ञा प्रतिष्ठानमा मात्र गाईजात्रा हुन्थ्यो । त्यो पनि छोटो समयका लागि । केवल तीन दिन । झन टिकट काटेर पनि गाईजात्रा देखाउने रे भन्दा अचम्म लाग्थ्यो ।’
‘राजपरिवारको सवारी हुने, एउटा अदबमा बस्नुपर्ने अनि एक वर्षमा आउने एक दिनमा सेन्सर भएर आफूले कविता पढ्न पाइएन भने कति खल्लो लाग्दो हो । तर सामान्यतया गाईजात्राको कार्यक्रममा भने खासै सेन्सर हुँदैन थियो । यति हुँदाहुँदै पनि आफ्नो कविता सेन्सरमा पर्यो । तर, भोलिपल्ट भने वाचन गर्न पाइयो र स्वर्ण पदक पनि मिल्यो’ उहाँ भन्नुहुन्छ ।
हास्यव्यङ्ग्यलाई स्टेज शोमार्फत स्थापित गर्नेमा गोपालराज मैनाली र वसुन्धरा भुसाललाई बिर्सन नहुने उहाँ बताउनुहुन्छ ।
‘हास्यव्यङ्ग्यमा अर्को संस्थागत योगदान रहेको भनेको साहित्यकार बासुदेव लुइँटेल अर्थात भूतको भिनाजुको थियो’ उहाँ भन्नुहुन्छ, ‘लुइँटेलको आफ्नै कौवा प्रकाशन थियो । कौवा प्रकाशनमा छायाङ्कन भन्ने कविता पनि संलग्न थियो उहाँको । जुन एमएको पाठ्यसामग्रीमा संलग्न थियो।’
लुइँटेलकहाँ बैठक हुँदा उहाँले नै त्यसबेला हास्यव्यङ्ग्य क्षेत्रमा योगदान गर्ने नौ जनालाई नवरत्नका रुपमा सम्मान पनि गरिएको थियो । जसमा केशवराज पिँडाली उहाँ लगायत रामकुमार पाँडे, दाताराम शर्मा र अन्य साहित्यकार समेत थिए ।
‘वासुदेव लुइँटेल कुनै कार्यक्रममा जानु हुन्नथ्यो । कुनै कार्यक्रममा पुरस्कार वितरण वा सम्मान गर्नुपरेमा उहाँ ज्यूँदै मान्छेको फोटो राखेर गर्नुपर्थ्याे,’ उहाँ भन्नुहुन्छ, हार्न नसकेर म वासुदेव–विद्यादेव लुइँटेल पुरस्कार गुठीको नौ वर्ष अध्यक्ष भएर काम गरेँ।’
‘वासुदेव–विद्यादेव लुइँटेल पुरस्कार गुठीको आयोजनामा नेपालमा पहिलो हास्यव्यङ्ग्य कवि सम्मेलन २०३५/३६ सालमा भएको हो,’ उहाँ भन्नुहुन्छ, ‘कार्यक्रम राष्ट्रिय सभा गृहमा भएको थियो । पाँच/छ सय मान्छे अटाउने सभा गृहमा मान्छे के भरिएलान र भन्ने लागेको थियो । तर, अनपेक्षित रुपमा मान्छे त हिँड्ने बाटोमा समेत बसेर हेरे/सुने । मान्छे हेर्दै र सुन्दै गएपछि सिट खाली हुँदै जाला भनेको एकजना पनि उठेन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।