कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितिमा नै लिने व्यवस्था गर्न संसदीय समितिकाे निर्देशन

 भदौ ८, २०७८ मंगलबार १३:४६:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – संसदीय समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक उपस्थितिमा नै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिको आज मङ्गलवारकाे बैठकले विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गरी कक्षा १२ को परीक्षा लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो । 

समितिकी सभापति घर्तीले भन्नुभयो, ‘कोभिडको कारणले मात्रै कक्षा १२ को परीक्षा स्थगित भएको हो । छिटोभन्दा छिटो कोभिडविरुद्धको खोपको व्यवस्था गर्नुपर्‍याे । विद्यार्थीहरू खोप नलगाउने, छुट्ने र परीक्षामा सहभागी हुन नपाउने अवस्था आउन दिन हुन्न । यस्ता विषयलाई पनि ख्याल गरेर, यो सबै व्यवस्था मिलाएर छिटोभन्दा छिटो परीक्षा लिने दिशातिर सरकार जाओस् भनेर म समितिको तर्फबाट निर्देशन दिन चाहन्छु ।’

समितिले कोरोना खोपको अभावमा परीक्षामा सामेल हुन नसक्ने अवस्था विद्यार्थीहरूमा आउन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सचेत समेत गराएको छ । 

समितिले ट्युशन शुल्क मात्रै लिएर इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई परीक्षा दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । 

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालले समितिले दिएको निर्देशनअनुसार कक्षा १२ को परीक्षाको व्यवस्था मिलाउन ढिलाइ नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भौतिक उपस्थितिमा कक्षा नभएकाले इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले अनलाइन 'फी' मात्रै तिरेर परीक्षा लिने व्यवस्था मिलाउन पनि तत्काल सरोकारवाला निकायसँग छलफल गर्ने समितिलाई जानकारी गराउनुभयो । इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले अनलाइन फी मात्रै तिरेर आफूहरूले परीक्षा दिन पाउने व्यवस्था गर्न सरकारसँग माग गरिरहेका छन् । 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया