प्रभुराम शर्मा ४४ औँ प्रधानसेनापतिमा नियुक्त

 भदौ ११, २०७८ शुक्रबार २०:१०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई यही भदौ २४ गतेदेखि लागू हुने गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले रथी शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा जनाइएको छ । उहाँ ४४ औँ प्रधानसेनापति हुनुहुन्छ ।

राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल यही भदौ २४ गतेदेखि सकिँदैछ । 

शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद तथा सुरक्षा, थाइल्यान्ड र पाकिस्तानबाट प्रतिरक्षा एवम् बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम लिनुभएको छ ।

सेनाको अपरेशनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारीमा रहनुभएका शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार हुनुहुन्छ । 

आफ्नो ३७ वर्षे लामो सैनिक सेवाका क्रममा गुल्म, गण, बाहिनी, पृतनालगायत जङ्गी अड्डामा रहेका सैनिक सचिव, भर्ना छनाेट निर्देशक, नीति तथा योजना निर्देशक, सह–बलाध्यक्ष एवम् सम्भाररथीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभएका शर्मालाई नेपाली सेनाको हरेक जिम्मेवारीका बारेमा नजिकबाट अनुभव र ज्ञान छ ।

संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनअन्तर्गत पूर्वीटिमोरमा गुल्म र कङ्गोमा गणको अन्तर्राष्ट्रिय कमान्ड गर्ने अवसर प्राप्त गर्नुभएका शर्मा भारतमा सम्पन्न भएको नेपाल–भारत द्विपक्षीय सल्लाहकार समूहको भेलामा समेत सहभागी हुनुभएको छ ।

बङ्गलादेशमा सैनिक सहचारीको कार्यभार उदाहरणीयरूपमा सम्हालिसक्नुभएका कारण उहाँको कार्यकालमा सेनाको सैनिक कुटनीतिमा उल्लेखनीय परिणाम आउने अपेक्षा गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनैतिक शास्त्रमा एमफिल गर्नुभएका शर्माले नेपाल तथा विश्वको इतिहासलगायत राष्ट्रिय प्रतिरक्षा सम्बन्धमा गहन अध्ययनसमेत गर्नुभएको छ । 

सरल स्वभाव, स्पष्ट वक्ता र प्रभावकारी निर्णय गर्ने क्षमताका लागि परिचित प्रधानसेनापति शर्माको मुख्य प्राथमिकता कोभिड–१९ का कारण प्रभावित तालिमलाई पुनः सञ्चालन गरी सेनाको अपरेशनल क्षमतालाई अभिवृद्धि गर्नुरहेको छ ।

भर्खरै लागू भएको सेनाको तीन जोड एक अवधारणाअनुसारको पुनःसंरचनालाई व्यवस्थित ढङ्गले कार्यान्वयनमा ल्याउनु पनि उहाँको प्रमुख कार्यभर रहनेछ । सङ्गठनभित्र सकल दर्जामा हौसला अभिवृद्धि र सैनिक परिवारको कल्याण कार्य पनि उहाँका प्राथमिकताका क्षेत्र हुन् । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया