चिडियाखानाका जनावरहरुलाई खाद्यान्नको व्यवस्थापन गर्न समस्या

 भदौ १६, २०७८ बुधबार १३:२५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – कोरोना भाइरसको संक्रमणको जोखिमको कारण बन्द रहेको चिडियाखाना गएकाे साउन १ गतेदेखि सञ्चालनमा आएको छ । तर महामारीका कारण मानिसहरु घुम्न ननिस्किनाले आर्थिक आम्दानी कम हुँदा चिडियाखानाका जनावरहरुलाई खाद्यान्नको व्यवस्थापन गर्न धौ–धौ परेको छ । 

सञ्चालनको मुख्य आय टिकट बिक्रीबाट हुने गरेकोमा यो श्रोत नै बन्द भएपछि चिडियाखाना समस्यामा परेको हो । वार्षिक १४ करोड आम्दानी हुने गरेको चिडियाखानामा अहिले आधा जस्तो आम्दानी घटेको चिडियाखानाकी सूचना अधिकृत लिना चालिसेले बताउनुभयो । उहाँले २०१५ को शक्तिशाली भूकम्पपछि चिडियाखानामा भौतिक संरचनालाई ध्यान दिइए पनि कोरोनाका कारण आम्दानी बन्द भएपछि अहिले भौतिक संरचनाको काम शून्य बराबर रहेको बताउनुभयो । उहाँले पहिलो लकडाउनमा कर्मचारीको आधा पारिश्रमिक काटेर पनि जनावरहरुलाई खानेकुराको जोहो गर्न सहयोग गरेको बताउनुभयो ।

"हाम्रो आम्दानी आदि जस्तै घटेको छ, पहिलो लहरमा १० महिना बन्द गर्यौं । दोस्रो लहरमा साढे २ महिना बन्द गर्यौं । आर्थिक स्थिती खासै राम्रो छैन, तर यसलाई मितव्ययी तरिकाले चलाउन प्रयास गरिरहेका छौँ । हामीले २०१५ को भूकम्पपछि हामीले भौतिक पूर्वाधारमा धेरै जोड दिएका छौँ ।  पर्खाल, संरचना, यसमा भूकम्प अर्को गयो भने पनि केही नोक्शान नहुने, ज्यानलाई खतरा नहोस्, किनभने यो एकदम संवेदनशील ठाउँ छ । हिंस्रक जनावरहरु छन् । त्यसमाथि पनि दर्शकहरुको भीड हुने गर्छ" सूचना अधिकृत चालिसेले भन्नुभयो, "तर पछिल्लो पटक भौतिक संरचना शून्य बराबर छ, यो संवेदनशील स्थान भएकोले रिपेयरमेन्टेनेन्सहरुमा खर्च गर्छौं, हामीले गएकाे सालको लकडाउनमा त कर्मचारीहरुको आधा स्यालरी काटेर विथआउट फ्यासालिटीमा काम गरेका हौँ, त्यसले कतिपय डेलिभरीका साथीहरुलाई गुमायौँ, पहिला ७५ जना कर्मचारी रहेकोमा अहिले ५६ जना मात्रै कर्मचारीले काम गरिरहेका छौँ ।’

उहाँले साउन १ गतेदेखि सर्वसाधारणका लागि सञ्चालन गरेपनि चिडियाखाना भित्र पूर्ण रुपमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्यका मापदण्डहरु पालना गराइएको बताउनुभयो । उहाँले मानिसदेखि जनावर र जनावरबाट मानिसमा सर्ने रोगहरुलाई रोक्नको लागि अन्तर्राष्ट्रिय स्तरका चिडियाघरहरुमा पालना गरिएका र लागू गरिएका नियमहरु पालना गरेर मात्रै चिडियाघरमा सर्वसाधारणहरुलाई प्रवेश गराइएको जानकारी दिनुभयो ।

सूचना अधिकृत चालिसेका अनुसार चिडियाघरको टिकट काउन्टरमा हुने भीड कम गर्न ईसेवाबाटै टिकट काट्ने व्यवस्था मिलाएको र भित्र प्रवेश गराउँदा पनि चिडियाघरबाट बाहिरिनेको अनुपातमै प्रवेश गराउने गरेकोले भीड नियन्त्रण भएको छ । त्यस्तै अवलोकन गर्न पुगेकाहरुबाट जनावरहरुलाई कुनै रोग नसरोस् भन्ने हेतुले चिडियाघरलाई ४ भागमा बाँडेर हरेक भागमा ५/५ जना कर्मचारी खटाइएको र अवलोकन कर्ताले सामाजिक दूरी कायम गरेको छ/छैन, जनावरलाई खानेकुरा दिएको/नदिएको लगायतका कुराहरुमा ध्यान दिने गरेको सूचना अधिकृत चालिसेले बताउनुभयो ।

कोरोना महामारीको यो बेलामा पनि जीवजन्तुहरुको खाद्यान्नमा भने चिडियाखानाले कुनै सम्झौता नगरेको बताउँदै उहाँले जनावहरुलाई अहिले पनि अन्तर्राष्ट्रिय स्तरकै खाद्यान्न दिइरहेको बताउनुभयो । उहाँले विगतमा वार्षिक रुपमा चिडियाखानाको राम्रो दिनहरुमा १४ करोडसम्मको आम्दानी हुने गरेको र त्यसमा जनावरलाई ख्वाउनका लागि लगभग ४ करोड रुपैयाँ खर्च हुने गरेको बताउनुभयो । तर अहिले वार्षिक रुपमा ८ करोड रुपैयाँको हाराहारीमा पनि आम्दानी नभएको उहाँको भनाइ छ ।

अहिले चिडियाखानामा ३६ जना सदस्यहरुले कुनै एक जनावरको अभिभावकत्व लिएर सहयोग गरिरहेको र यसरी सहयोग गरे चिडियाखानाका जनावहरुलाई खाद्यान्नको अभाव नहुने सूचना अधिकारी चालिसेले बताउनुभयो । चिडियाखाना स्तनधारी ३६ प्रजातिका दुई सय ९९, सरिसृप १० प्रजातिका ४८, मत्स्य १५ प्रजातिका ४१, पंक्षी ५२ प्रजातिका ६०९ वटा गरी ११३ प्रजातिका ९९७ वटा वन्यजन्तु रहेका छन् । 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया