‘वीपी, गणेशमानले युवावस्थामै नेतृत्व गरेकाे पार्टीमा अहिले युवा हाबी हुन सकेनन्’

 भदौ १६, २०७८ बुधबार १८:२७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पार्टीको १४ औँ महाधिवेशनमा पार्टीमा केन्द्रीय सभापतिको उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

आज बुधवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्य गुरुङले पार्टीमा युवा पुस्ता नेतृत्व लिन सक्षम भएको भन्दै आफूले केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिने बताउनुभएको हो । उहाँले शासन व्यवस्थामा परिवर्तन आए पनि सोचमा परिवर्तन आउन नसकेकोले युवा पुस्ताले नेतृत्व लिएर सोचमा परिवर्तन ल्याउनुपर्ने बेला भएको बताउनुभयो । 

केन्द्रीय सदस्य गुरुङले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नुपर्ने बताउनुभयो । उहाँले वीपी कोइराला, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह लगायतका नेताहरूले युवावस्थामै नेतृत्व गरेको पार्टीमा अहिले किन युवा पुस्ता हाबी हुन नसकेको भन्ने दबाब देशभरबाट आएपछि आफूले १४ औँ महाधिवेशमा केन्द्रीय सभापतिको उम्मेदवारी दिन लागेको बताउनुभयो ।

केन्द्रीय सदस्य गुरुङले भन्नुभयो, ‘युवाहरू आएर नेतृत्व गर्न किन डराइरहेका छन् ? किन युवाहरूबाट नेतृत्व आउँदैन ? के हामी सक्षम छैनौँ त ? हामी योग्य छैनौँ त ? भन्ने दबाब देशभरबाट आउन थालेपछि मैले सल्लाह प्रारम्भ गरेको थिएँ, म देश घुम्न थालेँ, म जिल्ला–जिल्ला घुम्न थालेँ, जिल्ला घुम्दा गाउँ–गाउँमा साथीहरूसँग भेट भयो, शहीदका परिवारसँग भेट भयो, जेल जीवन बिताउनुभएकासँग भेट भयो, दुःख गर्नुभएकासँग भेट भयो, कुनै लोभ लालचमा नपरि नेपाली कांग्रेसमा निरन्तर लागि पर्नुभएकासँग भेट भयो, त्यहाँबाट नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ भन्ने आवाज आयो । आज म पत्रकार साथीहरूको बीचमा औपचारिक घोषणा गर्दछु कि नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा अब नयाँ पुस्ता सक्षम भइसकेको छ, नयाँ पुस्ता योग्य भइसकेको छ, नयाँ पुस्ता पार्टीको नेतृत्व गर्न पनि सक्षम छ, योग्य छ, देशको नेतृत्व गर्न पनि सक्षम छ, नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा म कल्याणकुमार गुरुङ केन्द्रीय सभापतिको उम्मेदवारीकाे घोषणा गर्न चाहन्छु ।’

केन्द्रीय सदस्य गुरुङले सभापतिमा निर्वाचित भएपछि किसान, दलित, जनजाति, आदिवासी, मुस्लिम सङ्घ, थारु सङ्घ सबै समुदायलाई समेटेर नेपाली कांग्रेसलाई समावेशी पार्टी बनाउने बताउनुभयो । उहाँले नेपाली कांग्रेसभित्र सबैले न्यायको अनुभूति, न्याय, राजनीतिक सुरक्षा प्राप्त गर्ने पार्टीको रूपमा वातावरण सिर्जना गर्ने बताउनुभयो । पार्टीको सभापति बनेमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद एक पटकका लागि मात्र हुने वैधानिक व्यवस्था गर्ने र देशको संविधानमा पनि दुई पटक मात्रै मन्त्री र प्रधानमन्त्री हुने पहल गर्ने पनि उहाँले बताउनुभयो ।

केन्द्रीय सदस्य गुरुङले अहिले ६० वर्ष र त्योभन्दा कम उमेरको केन्द्रीय सभापतिको दाबी गर्ने आफू मात्रै भएको भन्दै अन्य साथीहरूले पनि केन्द्रीय सभापतिको दाबी गरे आफू खुसी हुने बताउनुभयो । उहाँले नेपाली कांग्रेसको केन्द्रीय सभापति भनेको भोलि देशको वैकल्पिक प्रधानमन्त्री भएकाले सभापतिको दाबी गर्दा यसलाई मनन गरेर मात्रै दाबी गर्नुपर्ने बताउनुभयो ।  

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया