नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया आजदेखि

 भदौ १८, २०७८ शुक्रबार ६:५६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदै छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु हुने भएको हो।

वडाबाटै आफ्नो प्रतिनिधित्व निर्वाचित गर्न केन्द्रीय नेताहरु जिल्ला-जिल्ला पुगेका छन् । वडा तहबाट छानिने प्रतिनिधिले महाधिवेशनको नतिजामा प्रभाव पार्ने भएकाले नेताहरु तल्लो तहसम्मै सक्रिय भएका हुन् । 

सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्लाअनुसार नै फरक-फरक हुने भएको छ । एकैदिन वडा अधिवेशन गर्ने कार्यतालिका भए पनि काठमाण्डौसहित दुई दर्जनभन्दा धेरै जिल्लामा आज अधिवेशन नहुने भएको छ । २१ जिल्लामा सदस्यता विवाद अझै टुङ्गिसकेको छैन । भदौ २७ मा गाउँ/नगर सभा हुने भएकाले त्यसअघि नै वडा अधिवेशन सम्पन्न भइसक्नुपर्ने हुन्छ ।

वडा अधिवेशनको अघिल्लो दिन हिजो वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो समूहबाट सभापतिका लागि एक मात्रै उम्मेदवार हुने घोषणा गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पनि आफ्नो समर्थनलाई बलियो बनाउन सबै जिल्लामा आफू निकट केन्द्रीय नेताहरुलाई खटाउनुभएको छ । क्रियाशील सदस्य मतदाता रहने वडा अधिवेशनले १५ देखि ७५ जना क्षेत्रीय प्रतिनिधि चयन गर्छ । 

यसैबीच नेपाली कांग्रेसले समावेशी समूहको वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा यो समूहबाट एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरेको छ । कांग्रेसले महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिसहित समावेशी समूहमा राखेको छ ।

अहिलेको व्यवस्थाअनुसार कुनै पनि समूहको उल्लेखित पदमा प्रतिनिधित्व नहुने अवस्था भएमा वडामा यो समूहबाट क्रियाशील सदस्य रहेको खण्डमा एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरिएको हो ।

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया