ठूला जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजना अगाडि बढाउँदै प्राधिकरण

 भदौ १८, २०७८ शुक्रबार १८:३२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

दूधकाेसी आयाेजना

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले देशकाे विद्युत् माग र आपूर्ति व्यवस्थापनलाई सन्तुलन कायम गर्न ठूला जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता साथ अगाडि बढाउने भएको छ । 

प्राधिकरणले आठ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त र एक हजार ६१ मेगावाटको माथिल्लो अरुण तथा दुई सय १० मेगावाटको चैनपुर सेती अर्धजलाशययुक्त जलविद्युत् आयोजना एकसाथ अगाडि बढाउन लागेको छ । तीन वटै आयोजना अहिले विस्तृत अध्ययनको अन्तिम चरणमा छन् । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तीन वटा जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङलाई अन्तिम रूप दिने, निर्माणका लागि ठेकेदार छनोटका टेन्डर कागजात तयार गर्ने, पहुँच सडक, जग्गा अधिग्रहण, वित्तीय व्यवस्थापनका लागि स्वदेशी वित्तीय संस्था तथा अन्तर्राष्ट्रिय दातृ निकायसँगका छलफललगायतलाई समानान्तर रूपमा अगाडि बढाइएको बताउनुहुन्छ । 

‘दैनिक एवम् मौसमी विद्युत् माग र आपूर्तिको सन्तुलन कायम गर्न र देशभित्र खपत हुन नसकेको विद्युत् छिमेकी देशमा निर्यातका लागिसमेत जलाशययुक्त र अर्धजलाशययुक्त आयोजनालाई उच्च प्राथमिकतामा अगाडि बढाउन लागिएको हो,’ घिसिङले भन्नुभयो, ‘एक वर्षभित्रमा निर्माणअघिका सबै काम सकेर निर्माणमा लैजाने गरी तीव्रताका साथ काम गरिरहेका छौँ ।’

माथिल्लाे अरुण आयाेजना

अर्थ मन्त्रालयमार्फत एसियाली विकास बैक (एडीबी) को नेतृत्वमा दूधकोसीमा लगानीका लागि युरोपेली लगानी बैक (ईआईबी), एसियाली पूर्वाधार लगानी बैक (एआईआईबी) र कोरियाली एक्जिम बैकसँग छलफल भइरहेको घिसिङले उल्लेख गर्नुभयो । 

‘सरकारले कार्यान्वयनमा ल्याएको नेपालको पानी जनताकाे लगानी कार्यक्रमअन्तर्गत सर्वसाधारण नागरिकलाई समेत शेयर निष्कासन गरी रकम जोहो गर्नेछौँ, यसरी आयोजनाबाट प्राप्त हुने प्रतिफल नागरिक तहसम्म नै पुग्छ,’ उहाँले भन्नुभयो । नेपालको पानी जनताको लगानी कार्यक्रममार्फत सर्वसाधारण नागरिकलाई पनि शेयर निष्कासन गरी माथिल्लो अरुण र चैनपुर सेतीमा लगानी जुटाइने छ । 

दूधकोसीको अनुमानित आधार लागत एक अर्ब ५३ करोड डलर (झन्डै एक खर्ब ७८ अर्ब रुपैयाँ) र निर्माण अवधिको ब्याज, करसहित सम्पूर्ण लागत झन्डै दुई अर्ब डलर पुग्ने अनुमान गरिएको छ । अध्ययन भएका जलाशययुक्त आयोजनामध्ये लागत र ऊर्जा उत्पादनका आधारमा दूधकोसी तुलनात्मक रूपमा सस्तो र आकर्षक मानिएको छ । 

खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा पर्ने आयोजनाबाट वार्षिक तीन अर्ब ४४ करोड युनिट ऊर्जामध्ये हिउँद र बर्खामा क्रमशः एक अर्ब ३६ करोड र दुई अर्ब आठ करोड युनिट ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ । 

आयोजनाले पहुँच सडक निर्माण र बाँध निर्माणस्थल भन्दा माथि डुबान क्षेत्रमा पर्ने खोटाङतर्फको झन्डै १३ हजार रोपनी जग्गा अधिग्रहणका लागि सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ ।

ओखलढुङ्गा र सोलुखुम्बुतर्फको जग्गा अधिग्रहणको प्रक्रिया छिट्टै सुरु हुने छ । आयोजना निर्माणका लागि सात वर्ष लाग्ने अनुमान गरिएको छ । उत्पादित बिजुली प्रस्तावित सुनकोसी–ढल्केबर चार सय केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्धजलाशययुक्त माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी ‘गेम चेन्जर’ आयोजनाका रूपमा अगाडि बढाइने बताउनुभयो । ‘जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत चार अङ्ककाे जडित क्षमता (१०६१ मेगावाट) र प्राधिकरणले निर्माण गर्न लागेको अहिलेसम्मकै ठूलो यस आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको शेयर र विश्व बैंक, युरोपेली लगानी बैंकको सुहलियतपूर्ण ऋण तथा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषजस्ता स्वदेशी वित्तीय संस्थाको लगानी रहने मोडलमा वित्तीय व्यवस्थापन गरी निर्माण अगाडि बढाइने छ’, उहाँले भन्नुभयो । आयोजनामा सङ्घीय, प्रदेश र पालिका सरकारको पनि लगानी रहने छ । 

विद्युत् बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक झन्डै एक अर्ब २० करोड अमेरिकी डलर छ । कुल लागतमध्ये ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणबाट जोहो गर्ने प्राधिकरणको योजना छ । आयोजनाबाट वार्षिक चार अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनेछ । प्राधिकरणले माथिल्लो अरुणकै अङ्ग रहने गरी ३० मेगावाटको इखुवा जलविद्युत् आयोजना अगाडि बढाएको छ । इखुवा पनि जनता जलविद्युत् कार्यक्रममा समावेश भएको आयोजना हो । 

बझाङमा पर्ने चैनपुर सेतीलाई सुदूरपश्चिम प्रदेशको गेम चेन्जर आयोजनाका रूपमा अगाडि बढाइने छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण गरिने आयोजनामा सङ्घीय, प्रदेश र पालिका सरकार, आयोजना प्रभावित, देशभरका सर्वसाधारण नागरिकको लगानी रहने छ । आयोजनालाई इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा निर्माणका लागि टेन्डर कागजपत्र तयार, पहुँच सडक निर्माण, जग्गा अधिग्रहणलगायतका काम भइरहेको छ । हिउँदमा ६ घण्टा पूर्ण क्षमतामा चल्न सक्ने आयोजनाबाट वार्षिक एक अर्ब १६ करोड युनिट ऊर्जा उत्पादन हुनेछ । 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया