पार्टी व्यवस्थापन गर्न नसक्नेले देश बनाउँछु भनेर पत्याइँदैन : गगन थापा

 भदौ २१, २०७८ सोमबार १९:४१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीलाई व्यवस्थित र विधानसम्मत तरिकाले चलाउनका लागि आफूले महामन्त्रीको उम्मेदवारी दिएको बताउनुभएको छ । 

सोमवार काठमाण्डाैमा आयोजित नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नेतृत्व विकास र भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेता थापाले पार्टीको महामन्त्री बनेपछि चार वर्षमा अधिवेशन गराउने र पार्टीका साथीहरूलाई अनशन बस्नुपर्ने स्थिती आउन नदिनका लागि महामन्त्रीमा उम्मेदवारी दिएको बताउनुभएको हो ।

नेता थापाले पार्टीका आन्तरिक समस्याहरूलाई हल गर्न सकेमात्र पनि आधा समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीको व्यवस्थापन गर्न नसक्नेले देश, नगर, सहर बनाउँछु भनेर नपत्याउने बताउनुभयो । नेता थापाले नयाँ कांग्रेस पुरानो दिनहरूलाई सम्झिएर बनाउनका लागि नौजवानको आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस पार्टी विधानको अक्षर–अक्षर पालना गरेर चलेन भने यो पार्टीले आफ्नो स्थिति बसाल्न सक्दैन, अहिले हामीले पाएको धेरै दुःखको कारण यही हो ।  पार्टीलाई अक्षरशः विधानको आधारमा चलाउन सक्यो भने हाम्रो धेरै समस्याको हल हुन्छ, मलाई केही नेताहरूले महामन्त्री बनेपछि के गर्छस् भनेर सोधेका छन्, म महामन्त्री बनेपछि पहिलो कुरा पार्टीको अधिवेशन चार वर्षमा गराउँछु र अहिले जस्तो पार्टीका साथीहरूलाई पार्टी कार्यालयमा आएर अनशन बस्ने स्थिति सिर्जना गर्न दिन्नँ, यतिमात्रै गर्न सके पनि आधा समस्या हल भएर जान्छ । खास गरी नौजवान साथीहरूलाई मेरो अपिल छ, आह्वान छ, तपाईँ हामी मिलेर यस्तो कांग्रेस बनाउनुपर्नेछ, कांग्रेस नयाँ बनाउने हो तर पुरानो दिनलाई सम्झिएर बनाउने हो ।’

नेता थापाले ठूला–ठूला कुरा नगरि, स–सानो काम पूरा गरेर देखाउने काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । देशमा संविधानको शासनको पक्षमा उभिने कांग्रेस आफ्नो पार्टीभित्र पनि विधिको शासन स्थापित गरेर छाड्ने बताउँदै उहाँले ठूला नेताहरूले साथ दिएर पार्टीलाई अघि बढाउनुपर्ने बताउनुभयो । अहिले नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा अपरिचित समितिले क्रियाशील सदस्यताको बारेमा गर्नै नहुने काम गरिरहेको नेता थापाले बताउनुभयो ।

उहाँले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई जनालाई उत्तेजनामा ल्याउन र दुई, चार वटा मत बिगार्नका लागि पशुपतिको ढोका दिनमा पाँच पटकसमेत पुग्न तयार रहेको बताउनुभयो ।  

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया