आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले श...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ ।मन्त्रालयमा आज शुक्रवार भएको भेटमा उहाँहरूबीच विश्व बैंकको लगानी रहेका विविध आयोजनाका विषयमा छलफल भएको छ ।
भेटमा मन्त्री भुसालले नेपालका विकासमा बैंकले पुर्याउँदै आएको योगदानको कदर गर्दै आउँदा दिनमा लगानी थप विस्तार हुने र समयमै परियोजना सम्पन्न भइ नागरिकले उपभोग गर्ने अवस्थामा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी छिटो विकास गर्न चाहन्छौँ, हामीलाई समयको अधिक महत्त्व छ ।’ मन्त्री भुसालले नागरिककाे अधिकारका लागि आफूले निरन्तर सङ्घर्ष गरेको उल्लेख गर्दै वातावरण र नागरिककाे अधिकार एवम् पहिचानाका विषयमा सधैँ सचेत रहने विश्वास दिलाउनुभयो ।
भेटमा विश्व बैंकका उपाध्यक्ष सेफरले नेपालको आर्थिक विकासमा विश्व बैंकले पुर्याउँदै आएको सहयोगका विषयमा जिज्ञासा राख्नुभएको थियो । नेपालको सडक पूर्वाधार, कृषि विकास, शैक्षिक उन्नति गरिबी निवारणलगायत क्षेत्रमा विश्व बैंकले लगानी गर्दै आएको उल्लेख गर्दै उहाँले आफूहरू ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको बताउनुभयो ।
छलफलका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन समयमै सम्पन्न नहुँदा ऊर्जा खेर जाने अवस्था आएको उल्लेख गर्दै ऊर्जा विकासका लागि आफूहरूलाई समयको चाप रहेको बताउनुभयो ।
छलफलमा मन्त्रालयका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्की, सहसचिवद्वय मधुकरप्रसाद राजभण्डारी र बाबुराम भण्डारीको सहभागिता थियो । त्यसैगरी विश्व बैंकको तर्फबाट उपाध्यक्ष सेफरसहित यातायात तथा दक्षिण एसियाको पूर्वाधार हेर्ने निर्देशक गुअङझे चेन तथा नेपाल, माल्दिभ्स र श्रीलङ्का लागि विश्व बैंकका देशीय निर्देशक फारिस हादाद–जेर्भोसको सहभागिता थियो ।
विश्व बैंकले नेपालको ऊर्जा क्षेत्रमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत नेपालभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापार सहजीकरण गर्दै आएको छ ।
त्यहीअन्तर्गत ४०० केभीको हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन र हेटौँडा–भरतपुर–बर्दाघाट २२० केभीको प्रसारण लाइन विश्व बैंकको सहुलियत पूर्ण ऋणमा निर्माण भइरहेको छ । विश्व बैंकको सहुलियत ऋणमा एक हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत अध्ययन भइरहेको छ । गएकाे बुधवार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री भुसालसहितको सरकारी टोली र विश्व बैंकका उपाध्यक्ष सेफरको टोलीले माथिल्लो अरुणको स्थलगत अवलोकन गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।