‘प्रधानन्यायाधीशले आफूमाथि लागेका आराेपकाे स्वतन्त्र छानबिन हाेस् भनेर इजलासबाट पन्छिनुपर्छ’

 कात्तिक १०, २०७८ बुधबार १४:४९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीश जबराले आफूमाथि अवाञ्छित लाञ्छना लागेमा इजलासबाट पन्छिएर त्यसको जवाफ दिनुपर्ने बताउनुभयो ।

आज बुधवार हामीसँगकाे कुराकानी पूर्वप्रधानन्यायाधीश पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीशले निकास दिन आवश्यक रहेको बताउनुभएको हो । उहाँले अहिले प्रधानन्यायाधीशले गरिरहेको क्रियाकलाप जायज हो वा होइन भन्ने कुरा राजनीतिक पार्टीले बुझ्न आवश्यक रहेको बताउनुभयो । उहाँले प्रधानन्यायाधीशको कुराहरू निष्पक्ष छ वा छैन भन्ने कुरा जाँच गरेर हेर्नुपर्ने बताउनुभयो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई हटाएका कुराहरू कानुनसम्मत नभएको र ती न्यायाधीशहरूले कानुनसम्मत काम नगरेको बताउँदै उहाँले प्रधानन्यायाधीशले संविधान र कानुनमाथि ज्यादती गर्न नपाइने बताउनुभयो ।

प्रधानन्यायाधीशले पनि आफ्नो आचारसंहिताभित्र बस्नुपर्ने भन्दै पूर्वप्रधानन्यायाधीश पराजुलीले भन्नुभयो, ‘हुल र गुटले हुँदैन, विधिसम्मत चल्नुपर्छ, न्यायसम्मत चल्नुपर्छ । अहिले राजनीतिक पार्टीले बुझ्नुपर्ने के हो भने यो पात्रले गरिरहेको कुरा जायज हो कि होइन भन्ने कुरा हेर्नुपर्छ, कसैले म पीडित हुन्छु भनेर केपी अथवा गठबन्धन सरकारले भन्ने कुरा हो ? उहाँको कार्यहरू ठिक हो कि होइन भन्ने कुराको कि निष्पक्ष जाँच गरेर हेर्नुपर्‍याे, कि त्यो कुराको गहिराइमा पुग्नुपर्‍याे । उहाँले गरेका सबै ठिक छन् भन्दा पनि त्यसका उपभोक्ताले त मानेनन् नि, मलाई लाग्छ यसमा केही न केही निकासहरू आउला, आजभोलि नै आउला, यो रियलाइजेशन पार्टीहरूले पनि गर्नुपर्छ ।  लोकमानलाई हटाएका फैसलाहरू कानुनसम्मत थिए ? ती न्यायाधीशले गरेका कामहरू विधिसम्मत भन्न मिल्छ ? त्यस्ता फैसलाहरू सर्वोच्चमा राखेर लोकमानलाई संसदले हटाउनुपर्थ्याे कि अदालतको फैसलाले हटाउनुपर्थ्याे ? जबरजस्ती कसैले पनि हटाएर प्रधानन्यायाधीश हट्न सक्दैन, तर प्रधानन्यायाधीशले संविधान, कानुनमाथि ज्यादती गर्न पाइँदैन, प्रधानन्यायाधीश आफ्नो आचारसंहिताभित्र बस्नुपर्छ, प्रधानन्यायाधीशले स्वतन्त्र न्यायालयका मूल्य–मान्यता, नैतिकताका बारेमा सोच्नुपर्छ, त्यसको प्रतिविम्ब देखिनुपर्छ ।’

पूर्वप्रधानन्यायाधीश पराजुलीले प्रधानन्यायाधीशले स्वतन्त्र न्यायालयका मूल्य–मान्यता र नैतिकताका बारेमा सोच्नुपर्ने तर्क गर्नुभयो । रावणको अहङ्कारका कारण रामायणको युद्ध भएको प्रसङ्ग निकाल्दै उहाँले पदमा भएको व्यक्ति क्षमाशील हुनुपर्ने र सुझबुझपूर्ण ढङ्गले अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले प्रधानन्यायाधीशले गल्ती गर्नै नपाउने भन्दै यदि उसले गरेका गल्तीहरु वस्तुनिष्ठ भए सबै राजनीतिक पार्टीले छलफल गरेर निकास दिनुपर्ने बताउनुभयो । 

पूर्व प्रधानन्यायाधीश पराजुलीले भन्नुभयो, ‘अहिले प्रधानन्यायाधीशमाथि नै सबैभन्दा ठूलो जिम्मेवारी छ । उहाँले नै आफ्नो अधिकारको प्रयोग गर्दा जुन संयमता अपनाउनु पर्ने हो, जोसित सबैभन्दा बढी अधिकार छ, त्यो क्षमाशील भएन भने सबैभन्दा ठूलो दुर्भाग्य त्यहाँ हुन्छ । रावणको अहङ्कारका कारण रामायणको युद्ध भएको हो तर अहिले त्यो अहङ्कारको बेला होइन, अहिले सुझबुझको बेला हो, न्यायालय र न्यायाधीशको उच्चतम सुझबुझमा चल्ने प्राणी हो । राजनीतिक पार्टीहरूले प्रधानन्यायाधीशलाई हटाउने भनेको कुरा चानचुने कुरा होइन, प्रधानन्यायाधीशले गल्ती गर्नै पाउँदैन, प्रधानन्यायाधीशले गरेका गल्तीहरू वस्तुनिष्ठ छन् भने सबै राजनीतिक पार्टीले छलफल गरेर एउटा निकास लिन सक्नुपर्छ, महाअभियोगले केही गर्न सक्दैन भन्ने हो भने त्यसले निकास दिन सक्दैन । निकासका दुई वटा उपाय छन्, आरोपको छिनोफानो नहोउन्जेल बिदामा बस्ने, पन्छिएर अदालत सञ्चालन हुन दिनुपर्छ, मलाई लाञ्छना लागेको छ छोड्छु भन्नुपर्छ । केपी शर्मा ओलीले हाम्रो गठबन्धनका सबै काम गर्नुपर्छ भनेपछि त्यसको गठबन्धनमा दीपकलाई फालेर आएको होइन ? दीपकको योग्यताको प्रश्न थियो भने, किर्ते प्रमाणपत्र थियो भने पेन्सन खानै पाउँदैन । त्यो पार्टीले प्रजातन्त्र सिध्याउन हो वा अपवित्र गठबन्धन गर्न हो, आफ्नो निरङ्कुश शासनका लागि हो, संसद् विघटन पनि म मिलाइदिन्छु भनेर दुई वटाको सल्लाहबाट गरिएको हो रे, पछि नमिल्या भन्छन् नि । त्यस कारण इतिहास तितो हुन्छ, यस्ता गोप्य षड्यन्त्र, तिकडम  कुत्सित मनसायबाट गरिएका क्रियाकलाप इतिहासले पछि भन्छ, अहिले भन्न पनि कतिलाई डर हुन्छ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शक्ति र गुट भनेको २०३३/०३४ सालको मण्डले गुट जस्तो हो ।’

अब पनि न्यायाधीशहरुले आफ्नो गल्ती महसुस गर्न नसके त्योभन्दा ठूलो विडम्बना अर्को नहुने बताउँदै पूर्वप्रधानन्यायाधीश पराजुलीले भन्नुभयो, ‘हाम्रो आफू पुलित हुने, आफ्ना मान्छेलाई बचाउने, आफ्नो गुटलाई संरक्षण गर्ने, जुन हिजोको खराब कल्चर थियो, त्यसको केही खराब मान्छेहरूले नेतृत्व गरेका थिए, तिनै सक्षम नेतृत्वहरूले जसरी विभक्त गराए, त्यो विभक्तको प्रभाव यहाँ भयो । न्यायाधीशले पनि मेरो केही गल्ती छैन भनेर महसुस गर्न सकेन भने मूर्खता र विडम्बनापूर्ण हो । कहिलेकाहीँ न्यायाधीशले आफूमाथि अवाञ्छित लाञ्छना लाग्छ भने पन्छिएर त्यसको जवाफ दिनुपर्छ, न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीशले निकास दिन आवश्यक हुन्छ ।’

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अनुसन्धान अवधिभर इजलासमा आउँदिन र आफूमाथि लागेका आरोपहरूको स्वतन्त्र छानबिन होस् भनेर बिदामा बस्नुपर्ने उहाँले बताउनुभयो । उहाँले न्यायालय, पद्धति र अदालतको सेवा सञ्चालन गर्नका लागि प्रधानन्यायाधीशले आफूमाथि लागेका आरोपहरू चिरफार नहुँदासम्म इजलासमा बस्न नहुने बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया