ठूलो रकम आयातमा खर्च हुँदा तरलता अभाव : गभर्नर अधिकारी

 कात्तिक १५, २०७८ सोमबार २०:२५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले आयातित वस्तुमा ५० प्रतिशतभन्दा बढी ऋण प्रवाह हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या आएको जनाएको छ । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाम्रो आन्तरिक उत्पादन र आर्थिक वृद्धिमा भन्दा पनि बढी मात्रामा आयातित वस्तुमा ऋण प्रवाह हुँदा याे समस्या देखिएको प्रष्टयाउनुभएको हो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज सोमवार काठमाण्डाैमा आयोजना गरेको ‘गहिरिँदो तरलता अभाव : कारण र समाधान’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले कोभिडका कारण रेमिट्यान्स घट्नु, कर्जा प्रवाहको समय थप गर्नु, सरकार परिवर्तनसँगै बजेट पुनर्विचार हुँदा पनि त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रको तरलतामा देखिएको बताउनुभयो ।

गभर्नर अधिकारीले भन्नुभयो, ‘देशकाे राजनीतिकाे पनि असर भयो । सरकार फेरियाे, सरकार फेरिएपछि बजेटमा पुनर्विचार भयो, पुनर्विचार गर्ने भएपछि सुरुमै खर्च गर्ने अवस्था भएन, यसको असर पनि तरलतामा पर्‍याे । तर पछिल्लो दिनमा खर्च भएको अवस्था छ । हामीकहाँ समस्या भनेकाे हाम्रो आन्तरिक उत्पादन र आर्थिक वृद्धिमा भन्दा पनि बढी आयातको वृद्धिमा गाँसिएको देखिन्छ । गएको ऋणमध्ये ५० प्रतिशतभन्दा बढी आयातमा खर्च भइरहेको पाउँछौँ । यसले पनि बैंकिङ क्षेत्रमा तरलताको अवस्था देखिएको छ ।’

गभर्नर अधिकारीले उत्पादनमूलक क्षेत्रमा ऋण प्रवाह गर्न पनि बैंक तथा वित्तिय संस्थाहरूलाई सचेत गराउनुभयो । उहाँले सस्तो ब्याज दरमा ऋण दिने कामले पनि बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिने अवस्था आएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले तरलता अभावका कारण ४५ लाख लगानीकर्ता प्रभावित भएको बताउनुभयो । उहाँले ब्याज दर बढ्नुले साना उद्यमी, व्यवसायीहरूको पुनर्उत्थान तत्काल गर्न सकिने अवस्था नरहेको गुनासो पनि गर्नुभयो ।

२०७६ चैतदेखि कात्तिकसम्म ऋणकाे माग खासै नभए पनि त्यसपछि माग ह्वात्तै बढ्दा बैकिङ क्षेत्रमा तरलताको अवस्था आएको हो । २०७६ चैतदेखि अहिलेसम्म १२ खर्ब तीन अर्ब रुपैयाँ ऋण जारी भएको छ । तर त्यही अनुपातमा निक्षेप सङ्कलन नभएको गर्भनर अधिकारले स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया