आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले श...
मंसिर १५, २०८१ शनिबार
नवलपरासी - नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दुमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् ।
आज दिउँसो मध्यबिन्दु नगरपालिका–१५ ढोकाडी निवासी ६० वर्षीय टेकबहादुर कुमाललाई बाघले आक्रमण गर्दा घाइते हुनुभएको हो । भुलपानी चौरमा गाई चराउन गएको क्रममा उहाँलाई बाघले आक्रमण गरेको थियो।
बाघको आक्रमणबाट कुमालको टाउकोमा गम्भीर चोट लागेको छ । उहाँको अवस्था चिन्ताजनक रहेको छ । बाघको आक्रमणबाट घाइते हुनुभएका कुमाललाई स्थानीयले उद्धार गरी मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारका लागि ल्याएका थिए । मध्यबिन्दुमा सामान्य उपचार पछि भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सागर पन्तले बताउनुभयो।
नवलपुरको दुम्कीबास, अरुणखोला, मध्यबिन्दु क्षेत्रमा बाघका कारण स्थानीय त्रसित भएका छन् । यस क्षेत्रमा बाघको आक्रमणबाट एक महिनाको अन्तरालमा दुई जनाको ज्यान गएकाे थियाे।
बाघले लगातार मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीय थप चिन्तित बनेका छन् । उनीहरूले बाघ मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा ठोस पहल नभएको भन्दै गुनासो गरेका छन् ।
यस क्षेत्रमा बाघले मानिसलाई लगातार आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय नवलपुरले समेत एक सूचना सार्वजनिक गर्दै वन क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको छ । गाईबस्तु चराउन, घाँस काट्न, निउरो ,च्याउ टिप्न वन क्षेत्रमा नजाने कार्यालयले अनुरोध गरेको छ । बाघ नियन्त्रणको लागि प्रक्रिया अगाडि बढिरहेको र अझै जोखिम रहेकाले वन क्षेत्रमा जादा सावधानी अपनाउ डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।
मान्छेलाई आक्रमण गर्ने बाघको पहिचानका लागि यस क्षेत्रमा क्यामेरा राखिएका डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले बताउनुभयो । बाघ पहिचान भए पश्चात नियन्त्रणका लागि थप काम हुने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।