काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
रुकुम पूर्व - मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्डमा गाडी सञ्चालनमा रोक लगाइएको छ । हिमपातको कारण दुर्घटनाको जोखिम बढेको भन्दै लोकमार्ग सञ्चालनमा रोक लगाइएको हो ।
रुकुम पूर्व र बाग्लुङको सिमाना पातीहाल्ना क्षेत्रमा हिमपातको कारण दुर्घटनाको जोखिम बढेकाले मध्यपहाडी लोकमार्गमा गाडी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिनुभयो । राजमार्गको अवरोध हटाउने सञ्चालन समितिको बैठक बसेर यस्ताे निर्णय गरिएको समितिका संयोजक समेत रहनुभएका प्रजिअ बास्कोटाले बताउनुभयो ।
रुकुम पूर्वमा रहेकाे सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायीहरुको उपस्थितिमा गरिएको छलफल र यातायात व्यवसायीहरुको सुझावबाटै मध्यपहाडी लोकमार्गको पातीहाल्ना खण्डमा गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।
मध्यपहाडी लोकमार्गमा जमेको साढे दुई फिट हिउँ पाँच दिन लगाएर डोजरले पन्छाइएको छ । तर गाडी सञ्चालन गर्न धेरै नै जोखिम रहेकाले लोकमार्ग बन्द गर्ने निर्णय गरिएको प्रजिअ बास्कोटाले जनाउनुभयो । उहाँका अनुसार यस खण्डमा सार्वजनिक गाडीलाई पूर्णरुपमा रोक लगाइएको छ । निजी फोर ह्वीलवाला गाडी भने जान सक्नेछन् ।
अत्यावश्यक परेको खण्डमा मात्र सार्वजनिक गाडी प्रहरीको अनुमतिमा यस खण्डमा चलाउन सकिने छ । गाडीको अवस्था कस्तो छ र लोड कत्तिको छ भनेर प्रहरीले उपयुक्त ठानेर पठाएको खण्डमा मात्र सार्वजनिक गाडी पातीहाल्नाको बाटो भएर जाने छन् ।
एक/दुई दिनलाई भने पूर्णरुपले लोकमार्ग ठप्प नै रहेको प्रजिअ बास्कोटाले बताउनुभयो । रुकुम पूर्वबाट बाग्लुङ जाने बाटो हिउँले चिप्लो बनाएको र उकालो पर्ने भएकाले दुर्घटना हुन सक्ने जोखिम धेरै रहेको उहाँको भनाइ छ ।
बाग्लुङतर्फबाट भने एकतर्फी रुपमा गाडी रुकुम पूर्व आइरहेका छन् । बाग्लुङ जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर सकभर बाग्लुङतर्फबाट पनि यस खण्डमा गाडी सञ्चालनमा रोक लगाउने प्रयास भइरहेकाे प्रशासनले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।