नागरिकता विधेयक टुङ्ग्याउन गृहले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने

 फागुन २५, २०७८ बुधबार २०:७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृह मन्त्रालयले लामो समयदेखि विवादित बनेको नागरिकता विधेयकलाई टुङ्ग्याउन प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएको छ ।  

आज बुधवार गृह मन्त्रालयमा भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री खाणले नागरिकता विधेयकलाई अघि बढाउने र टुङ्ग्याउन सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरूलाई सहयोग लिने बताउनुभयो । नागरिकताको विषय धेरै संवेदनशील र दुरगामी असर गर्ने भएकोले राजनीतिक रूपमा आमसहमति बन्नुपर्ने आवश्यकता रहेको उहाँकाे भनाइ छ । उहाँले यसबारेमा पार्टीका शीर्षस्थ नेताहरू र पार्टी अध्यक्षहरूलाई जानकारी गराइने पनि उल्लेख गर्नुभयाे ।

मन्त्री खाणले नेपाली नागरिकले नागरिकता पाउनुपर्ने कुरा सबैको साझा दायित्व भएको भन्दै यसलाई पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले जन्मसिद्ध नागरिक र अङ्गीकृत नागरिकलाई सबैभन्दा बढी समस्या भइरहेको बताउनुभयो । उहाँले नागरिकता नपाउँदा राज्यका सेवा, सुविधाबाट वञ्चित भइरहेको भन्दै यो विषयलाई प्राथमिकतामा राखेर तत्काल समस्या समाधान गर्नुपर्ने बताउनुभयो । मन्त्री बडूले नागरिकताको विषय धेरै पेचिलो बन्दै गएको र यो विषय दलीय सहमतिमा लगेर तत्काल टुङ्ग्याउन आवश्यक रहेको उल्लेख गर्नुभयाे । 

मन्त्री बडूले धेरै समय नागरिकहरूलाई नागरिकताविहीन बनाउनु नहुने भन्दै यसको समस्या तत्काल समाधान गर्नुपर्नेमा पनि जाेड दिनुभयाे । 

नागरिकता विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा २०७५ सालको साउनमा दर्ता भएर छलफलमा नै रहेको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया