गाेरखामा चिम्नी विना नै इँटा उत्पादन सुरु

 फागुन ३०, २०७८ सोमबार १६:५३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

गाेरखा – गोरखाकाे पालुङटारमा नेपालमा नै पहिलो पटक स्वचालित मेशिनबाट वातावरणमैत्री इँटा उत्पादन सुरु भएको छ । गोर्खाको पालुङटारमा कोरियाली कम्पनी इन्नोसीएसआरको सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले पहिलो पटक स्वचालित मेशिनबाट वातावरणमैत्री इँटा उत्पादन सुरु गरेको हो । नेपालमा अहिलेसम्म चिम्नीको प्रयोगबाट पोलेको इँटा उत्पादन गर्ने उद्योग मात्रै रहेका छन् । तर चिम्नी विना नयाँ प्रविधिबाट इन्नोसीएसआरले उच्च प्रविधिको प्रयोगबाट नपोलिएको इँटा उत्पादन सुरु गरेको छ । 

याे कम्पनीले नेपालमा पूर्वाधार निर्माणका लागि असल इँटा पद्धतिबाट प्रविधि तथा वातावरणमैत्री इँटा उत्पादन गर्न सुरु गरेको बताएको छ । कोरियामा सन् २००८ मा स्थापना भएको इन्नोसीएसआर कम्पनी नेपालमा सन् २०१८ आएको थियो । अहिले याे कम्पनीले नयाँ प्रविधिबाट अहिलेसम्म कोरिया, मलेसिया, म्यानमार, फिलिपिन्स र चीनमा गरी पाँच देशबाट इँटा उत्पादन सुरु गरिसकेको छ । 

कम्पनीका सञ्चालक विकास श्रेष्ठले नेपालमा पनि कोरियाली प्रविधिको प्रयोगबाट आगाेमा नपाेली इँटा उत्पादन सुरु गरिएको बताउनुभयो । उहाँले नेपालमा चिम्नीबाट इँटा उत्पादन हुँदा वातावरण प्रदूषण गर्ने गरेकाले थोरै भए पनि वातावरण प्रदूषण कम गर्न वातावरणमैत्री इँटा प्रयोग बढाउने उद्देश्यले उत्पादन सुरु गरिएकाे बताउनुभयाे । उहाँले सरकारसँग वातावरणमैत्री इँटा उत्पादन गर्न ठूला पूर्वाधार निर्माण प्रयोग बढाउने विषयमा समन्वय गर्ने काम भइरहेको बताउनुभयो ।

त्यस्तै कम्पनीका अर्का सञ्चालक हरिराम श्रेष्ठले कम्पनीले उत्पादन गरेको इँटा गाच्छेपानी र लमजुङमा ढुवानी हुने गरेको बताउनुभयो । 

कम्पनीका इन्जिनियर रमेश न्यौपानेले परीक्षण गरेको माटोमा सिमेन्ट र सोयल स्टेवलाइजर मिसाएर नयाँ प्रविधिबाट इँटा उत्पादन गरिएको बताउनुभयो । उहाँले इँटा उत्पादन गर्दा ९० प्रतिशत माटो र बाँकी सिमेन्ट प्रयोग गर्ने गरिएको जानकारी दिनुभयो । ‘यो इँटा उत्पादन गर्दा आगोमा पोल्नुपर्दैन । त्यसले गर्दा वातावरण प्रदूषण कम हुने र उद्योगका लागि सानो जग्गामा पनि इँटा उत्पादन गर्न सकिन्छ’, उहाँले भन्नुभयाे ।

नेपालमा सन् २०१८ मा इन्नोसीएसआरले इँटा उद्योग स्थापना गरे पनि कोरोना महामारीका कारण उत्पादन गर्न नसकेकाे तर पछिल्लो चार महिनामा १० लाख इँटा बजारमा पठाएको कम्पनीले बताएको छ । कोरियन प्रविधिको प्रयोगबाट स्वचालित मेशिनबाट प्रतिघण्टा ३५ सय इँटा उत्पादन गर्ने सकिने कम्पनीले बताएको छ । आगोमा नपाेलेकाे इँटाकाे चिम्नीबाट उत्पादन गरिएको इँटाजस्तै ५० देखि ६० वर्षको आयु हुने कम्पनीले बताएको छ । 

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया